२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

भुइँखेललाई रोक्दै फ्रेन्डसिप तनहुँ च्याम्पियन

आश गुरुङ

लमजुङ — स्मार्ट भिलेज घलेगाउँमा आयोजित सातौं स्मार्ट भिलेज आमन्त्रित गोल्ड कप फुटबल प्रतियोगितामा तनहुँको खहरेस्थित फ्रेन्डसिप युवा क्लब च्याम्पियन बनेको छ । स्वर्गभूमि रंगशालामा बिहीबार भएको फाइनल खेलमा काठमाडौंको स्वयम्भूस्थित भुइँखेल फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै फ्रेन्डसिपले उपाधि चुमेको हो ।

भुइँखेललाई रोक्दै फ्रेन्डसिप तनहुँ च्याम्पियन

घलेगाउँमा आयोजित प्रतियोगितामा फ्रेन्डसिपले पहिलो पटकको सहभागितामै उपाधि चुमेको हो । पहिलो हाफ गोलरहित बराबरी खेलेकोमा दोस्रो हाफको ४ मिनेटमा राम शाहीको कर्नर किक सदुपयोग गर्दै विक्की चाम्लिङ राईले हेडमार्फत् बललाई जाली चुमाउँदै फ्रेन्डसिपका लागि साइत उघारे ।

२३ औं मिनेटमा भुइँखेलका रिचर्ड विल्सनले गोल गरी खेल बराबरीमा ल्याए । खुसीयालीमा माथिल्लो पोषाक फुकाल्दै हिँडेपछि यसअघि एल्लो कार्ड पाएका उनलाई रेफ्रीले पुनः एल्लो कार्ड देखाएपछि खेल मैदानबाट बाहिरिन बाध्य भए । ८ जना खेलाडीमा सीमित भुइँखेलले रक्षात्मक खेल्दै गोल हुन नदिइ निर्धारित समय बराबरी खेलेकोमा पुनः १५ मिनेट समय थप गरिएको थियो । उक्त समयमा पनि दुवै टिमबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

विजयी फ्रेन्डसिपले नगद ५ लाख ५० हजार ५ सय ५५ रुपैयाँ, गोल्ड कप र जनही मेडल पाएको छ । उपविजेता भुइँखेल काठमाडौंले नगद ३ लाख ५० हजार ३ सय ५५ रुपैयाँ, कप र जनही मेडलमा चित्त बुझाएको छ । खेल अवधिभर सर्वाधिक ७ गोल गरी फ्रेन्डसिपका अबायोमी फाकुण्डे सर्वाधिक गोलकर्ता बने । भुइँखेलका अमित तामाङ सर्वोत्कृष्ट खोलाडी घोषित भए । दुवैले नगद १०/१० हजार रुपैयाँ पाए ।

विजयीलाई क्व्होलासोथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङ, आयोजक पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेज घलेगाउँका अध्यक्ष प्रेमबहादुर घले, भानु नगरपालिका तनहुँका प्रमुख आनन्दराज त्रिपाठीलगायतले पुरस्कार वितरण गरे । क्व्होलासोथार गाउँपालिका-३ घलेगाउँस्थित पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेज घलेगाउँले वैशाख १ गतेदेखि आयोजना गरेको यस प्रतियोगितामा देशभरका १२ वटा टिमलाई आमन्त्रण गरिएको थियो ।

प्रकाशित : वैशाख ६, २०८१ १८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?