१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६९

प्रदेश राजधानीबाहिर छैन पूर्वाधार

- दसौं राष्ट्रिय खेलकुद तयारी
- नाम मात्रैका कभर्डहल

सुर्खेत — आगामी मंसिरमा कर्णाली प्रदेशमा दसौं राष्ट्रिय प्रतियोगिता हुने तालिका छ । कर्णालीमा यसको तयारी पनि तीव्र पारिएको छ । तर, कर्णालीमा निर्माणाधीन प्रदेश रंगशालाबाहेक जिल्लाहरूमा गतिला पूर्वाधार छैनन् । अधिकांश जिल्लामा नाम मात्रका खेल संरचना छन् । मुगुमा भने एउटै संरचना छैन ।

प्रदेश राजधानीबाहिर छैन पूर्वाधार

कर्णालीका सुर्खेत र आसपासका जिल्लाहरूमा दसौं राष्ट्रिय खेलकुदको तयारी भइरहँदा मुगुमा कुनै रौनक सुरु भएको छैन् । कर्णालीका प्रायः जिल्लामा जीर्ण कभर्डधहलबाहेक अन्य संरचना बन्न सकेका छैनन् । पछिल्ला ५ वर्षमा प्रदेश सरकारको लगानी राजधानी केन्द्रित छ । मुगु जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर मल्लले मुगुमा खेल संरचना शून्य रहेको सुनाए ।

‘मुगुमा खेलकुदको कुनै संरचना छैन, खेलाडीलाई केही प्रतियोगिता गराउनुपरे खाली खेतबारी खोजेर लिनुपर्छ,’ उनले भने, ‘प्रदेश सरकार उपत्यकाबाट बाहिर जान सकेको छैन, सुर्खेतमा बनेका संरचनाले हिमाली र पहाडी जिल्लाका खेलाडीलाई के स्वाद ?’ पूर्वाधार नहुँदा अरू जिल्लामा जस्तो खेलकुदका गतिविधि गर्न नसकेको मल्लको भनाइ छ । स–साना गतिविधि गर्न पछि तीन/चार घण्टा लगाएर बाँझो खेत खोज्नुपर्छ । अध्यक्ष मल्लका अनुसार पूर्वाधार अभाव हुँदा दसौं राष्ट्रियमा दक्ष खेलाडी उत्पादनमा समस्या भइरहेको छ । ‘प्रशिक्षण गर्ने वातावरण छैन । पूर्वाधार नहुँदा खेलाडी पनि हतोत्साहित हुँदो रहेछन्,’ उनले भने ।

सरकारको अवधारणा ‘एक पालिका एउटा खेल मैदान’ भन्ने छ । तर, मुगुमा शून्य स्थिति छ । पहुँचका भरमा जहाँ खेल संरचना छन्, त्यहाँ थपिरहेको पनि छ । सुर्खेतमै दुईटा क्रिकेट रंगशाला बन्दै छ । पुनः प्रदेशकै ठूलो रंगशाला पनि बन्दै छ ।

डोल्पा, जाजरकोट, हुम्ला, सल्यानलगायतका जिल्लामा पनि खेल पूर्वाधार छैनन् । ती जिल्लाहरूमा नामका मात्र जीर्ण कर्भडहल छन् । ‘दसौं राष्ट्रिय खेलकुद व्यवस्थापनको दृष्टिले सबै खेल सुर्खेतमा गराउन सम्भव हुँदैन,’ दैलेख जिखेविसका अध्यक्ष गोपाल बीसीले भने, ‘सुर्खेत आसपासका जिल्लामा पनि पूर्वाधार हुनु जरुरी छ । त्यसले गर्दा खेलकुदमार्फत पर्यटनको विकास र नवखेलाडी उत्पादनमा मद्दत पुग्नेछ ।’

दसौं राष्ट्रिय खेलकुदलक्षित गरेर हिमाली जिल्ला हुम्लामा हक्की मैदानको बल्ल शिलान्यास भएको छ । यसबाहेक हुम्लामा अरू खेलको पूर्वाधार छैन । जुम्लामा जीर्ण कर्भडहल छ । प्यारापिट छैन । बजेट कमीका कारण पाताराशी गाउँपालिकामा उच्च पर्वतीय खेल मैदान (हाइअल्टिच्युड) अलपत्र छ । खेलकुद विकास समिति जुम्लाका अध्यक्ष धनकृष्ण पाण्डेले पूर्वाधार तयारीमा आवश्यक बजेट नहुँदा तीव्र हुन नसकेको बताए । ‘बढीमा ८ महिनाको समय छ, यति थोरै समयमा हामीले धेरै तयारी गर्नुपर्नेछ, तर संरचना कहाँ बन्ने, के–के बन्ने भन्ने अझैं टुंगो छैन,’ उनले भने, ‘एकातिर योजनाको अध्ययन छैन, बजेटको समस्या पनि उस्तै छ, यसले खेल प्रतियोगितामा समस्या आउने देखिन्छ ।’ दैलेखमा सामान्य कर्भडहल मात्र छ । जिल्ला खेलकुदको भवन भाडाको घरमा सञ्चालन छ । त्यहाँ पनि आवश्यक पूर्वाधार नहुँदा खुला चौर र विद्यालयमा खेल गतिविधि सञ्चालन हुँदै आएका छन् ।

त्यसो त अन्य प्रदेशको तुलनामा कर्णालीमा खेल पूर्वाधारका संरचना छैन । सुर्खेतमा रंगशाला, क्रिकेट, रग्बी र फुटबल मैदान तयार हुँदै छ । हुम्लाको सिमकोटमा हक्की र रुकुमको चौरजहारीमा क्रिकेटसँगै मैदान बनाउन थालिएको छ । दसौं राष्ट्रिय खेलकुदको आयोजना हुने मुख्य जिल्ला सुर्खेतमा प्रदेश सरकारको लगानीमा प्रदेश रंगशाला, चिसापानी फुटबल रंगशाला, क्रिकेट मैदान, कभर्डहल निर्माण गरिँदै छ । दसौं राष्ट्रिय खेलकुदमा ३५ भन्दा बढी खेलको प्रतियोगिता हुने सम्भावना छ । राष्ट्रिय खेलकुद परिषद्ले पोखरामा सम्पन्न नवौं राष्ट्रियमा ३६ खेल समावेश गराएको थियो । तर, संघीय सरकारमार्फत राष्ट्रिय खेलकुद परिष्दले भौतिक संरचना बनाउनमा कुनै ध्यान दिएको छैन । संघ सरकारले दसौं राष्ट्रिय खेलकुदको नाममा ३ करोड ५० लाख विनियोजित गरेको थियो । तर अहिलेसम्म कार्यान्वयनमा ल्याउन सकेको छैन । यता प्रदेश सरकारले १ अर्बभन्दा बढी माग गरेको थियो तर सुनुवाइ नभए खेलकुद परिषद्को भनाइ छ ।

खेलकुद प्रतियोगितामा भलिबल, फुटबल, पौडी, ब्याटमिन्टन, कराते, उसु, तेक्वान्दो, बक्सिङ, क्रिकेट, रग्बी, हक्की, कबड्डी, सेपाकताक्रोलगायतका खेलमा प्रतिस्पर्धा हुनेछ । प्रदेश खेलकूद विकास परिषद्का अनुसार क्रिकेट कालिञ्चोक क्रिकेट मैदान, फुटबल चिसापानी रंगशाला, मार्सल आर्टका खेलहरू कालिकोटमा गर्ने तयारी छ । हुम्लामा असार २० भित्र हक्कीका लागि संरचना तयार गर्ने गरी काम भइरहेको छ । कर्णालीमा कबड्डी खेलका लागि इन्डोर आवश्यक पर्छ । त्यो पूर्वाधार अहिलेसम्म तयारी नै छैन । सुटिङ गर्न सकिने ठाउँ छैन । त्यो नेपालगन्ज वा काठमाडौंबाहेक अरू स्थानमा छैन ।

नवौं राष्ट्रिय खेलकुद पोखरामा हुँदा पनि काठमाडौंमा सुटिङ भएको थियो । प्रदेश खेलकुद परिष्दका सदस्य सचिव विश्वमित्र सन्ज्यालले पूर्वाधार निर्माणमा संघीय सरकारले सहयोग नगरेको बताए । ‘हामीसँग समय कम छ । अहिले ठूला आयोजना बनाउन सक्दैनौं,’ उनले भने, ‘प्रदेश सरकारको साझेदारीमा संघ सरकार सारथि बन्छ भन्ने थियो तर ठीक उल्टो भयो ।’ यो चालु आवमा संघीय सरकारले पूर्वाधारमा ठूलो लगानी गर्छ भन्ने आस थियो । धेरै पटक आवश्यक बजेट माग गरेता पनि बजेट विनियोजन भएन । संघ सरकारले खेल पूर्वाधारमा लागनी गरेको भए जिल्ला–जिल्लामा पूर्वाधार बनाउन सकिन्थ्यो ।’

प्रकाशित : वैशाख ४, २०८१ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?