कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७७

जीतपुरसिमरा गोल्डकप : मच्छिन्द्र सेमिफाइनलमा

लक्ष्मी साह

बारा — सिमरा रंगशालामा जारी जगदम्बा स्टिल १४औं जीतपुरसिमरा गोल्डकपअन्तर्गत मंगलबार भएको प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्ध संघर्षपूर्ण जित निकाल्दै मच्छिन्द्र क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । फ्लड लाइटमा भएको खेलमा आर्मीविरुद्ध मच्छिन्द्रले १–० को कठिन जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको हो । 

जीतपुरसिमरा गोल्डकप : मच्छिन्द्र सेमिफाइनलमा

मच्छिन्द्रको जितमा खेलको ६९ औं मिनेटमा सौरभ लिम्बुले एक मात्र निर्णायक गोल गर्न सफल भए । खेलको ६३ औं मिनेटमा अभिषेक गुरुङको सेन्टर लाइनबाट बल अघि बढाएका विमल घर्तीमगरको पासमा सौरभ लिम्बुले डिबक्स बाहिरैबाट बललाई गोलपोष्टको दिशा दिलाउन सफल भएका थिए । मच्छिन्द्रको प्रयासलाई रोक्न डि–एरिया बाहिरै आइपुगेका आर्मीका गोलरक्षक कुथुलाई बिट गर्दै सौरभले सुन्दर गोल गरेका थिए ।

खेलको ८८ औं मिनटमा मच्छिन्द्रले अग्रता दोब्बर पार्ने मौका गुमायो । आर्मीका डिफेन्डर विमल पाण्डेले मच्छिन्द्रका विमल घर्तीमगरलाई डिबक्स भित्र लडाएपछि एन्फा रेफ्री उमेश बिडारीले मच्छिन्द्रलाई पेनाल्टीको मौका दिएका थिए । मच्छिन्द्रका देवेन्द्र तामाङको पेनाल्टी प्रहार क्रसबार माथि गएको थियो । खेलको अन्तिम समयमा पाएको सो अवसर गुमाउँदा मच्छिन्द्रले अग्रता जोगाउन अन्तिम संघर्ष गरेको थियो ।

प्रतिस्पर्धात्मक खेलमा दुवै टिमले आकर्षक अवसरहरु सिर्जना गरे पनि पहिलो गोलका लागि ६९ मिनटसम्म प्रतिक्षा गर्नु पर्‍यो ।

खेलको म्यान अफ दि म्याच मच्छिन्द्र फुटबल क्लबका मनिष डाँगी भए । उनले १० हजार नगदसहित ट्रफी प्राए । प्रतियोगिताअन्तर्गत बुधबार आयोजक नवजनजागृति युवा क्लब सिमरा र नेपाल प्रहरीको विभागीय टोली नेपाल पुलिस क्लबबीच खेल हुनेछ ।

प्रकाशित : चैत्र २८, २०८० ०६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?