कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२४

झापा–११ को फराकलो जित

अर्जुन राजवंशी

झापा — घरेलु टोली झापा–११ फराकिलो जित हासिल गर्दै छैटौं झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार एन्फा मकवानपुरलाई ५–१ गोलको फराकिलो अन्तरमा पराजित गर्दै आयोजक टिम झापा–११ ले गोल्डकपको अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । 

झापा–११ को फराकलो जित

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सम्पन्न अन्तिम क्वाटरफाइनलमा झापाका आदित्य शाक्य, प्रदीप बुढाथोकी, बबिन बोहोरा, आशिष चापागाई र विदेशी खेलाडी मार्क जुनियर र्‍यारिसनले गोल गरेका थिए ।

मकवानपुरका तर्फबाट विदेशी खेलाडी ओस्कारले सान्त्वना गोल फर्काएका थिए । झापाले पहिलो हाफमा अग्रता लिएको थियो । २५ औं मिनेटमा झापाका आदित्य शाक्यले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । बक्सभित्र पाएको पासमा मकवानपुरका डिफेन्डर र गोलकिपर समेतलाई बिट गरेर गोलपोस्टमा चार्ज गरेका थिए ।

६६ औं मिनेटमा विदेशी खेलाडी मार्क जुनियरले गोल गर्दै झापाको अग्रता दोब्बर बनाएको थियो । दिपेश आलेमगरले मैदानको मध्यभागबाट मिलाएको पासमा मार्कले बिना कुनै गल्ती गोल गरेका थिए । मकवानपुरका विदेशी खेलाडी ओस्कारले ६९ औं मिनेटमा गोल गर्दै टिमलाई खेलमा फर्काउने प्रयास गरेका थिए । उनले समिराज थोकरको पासमा वान टच गोल गरेका थिए ।

८३ औं मिनेटमा झापा थप गोल गर्न सफल भयो । सब्सिच्युट खेलाडी प्रदीप बुढाथोकी मैदान प्रवेश गरेको २० सेकेन्डमै गोल गर्न सफल भए । मकवानपुरका गोलकिपर गोपी बर्तौलाले नियन्त्रणमा लिन नसकेको बललाई प्रदीपले वान टचमा गोल गरे । झापाले इन्ज्युरी समयमा थप दुई गोल गर्न भ्यायो । बबिन बोहोराले झापाका लागि चौथो गोल गरे । बक्सभित्र पाएको पासलाई बबिनले सुन्दर गोलमा परिणत गरेका थिए । लगत्तै इन्ज्युरी समयको अन्तिम मिनेटमा झापाका लागि आशिष चापागाईले पाँचौं गोल थपेका थिए ।

खेलमा गोलका लागि मकवानपुरले लगातार प्रयास गरेपनि झापाको गोलपोस्टमा आक्रमण बन्न सकेन । झापाले पाएका सबै अवसरलाई सदुपयोग गर्दै फराकिलो जित हासिल गर्न सफल भएको हो । खेलको १९ औं मिनेटमै झापाले अग्रता लिने अवसर गुमाएको थियो । उसका विदेशी खेलाडी मार्क जुनियरले मकवानपुरका गोलकिपर गोपी बिट भइसकेको अवस्थामा समेत गोल गर्न सकेनन् । खाली पोस्टमा प्रहार गरेको बल फितलो हुँदा मकवानपुरका डिफेन्डरले बललाई क्लियर गर्न भ्याएका थिए ।

४३ औं मिनेटमा झापाका मार्क जुनियरबाट पाएको छोटो पास बललाई आदित्यले गरेको कडा प्रहार गोलकिपर गोपीले पञ्च गरेर बाहिर पठाए । ४७ औं मिनेटमा झापाका मार्क जुनियरले गरेको सशक्त प्रहार गोलकिपरले नियन्त्रणमा लिएका थिए । ५५ औं मिनेटमा मकवानपुरका ओस्कारले लामो पासमा पाएको बललाई साइकिलिङ किकमार्फत गरेको प्रहार बाहिरिन पुग्यो । ७३ औं मिनेटमा मकवानपुरका समिराज थोकरको प्रहार सशक्त हुन नसक्दा झापाका गोलकिपर सन्दिप लिम्बूले सहजै नियन्त्रणमा लिए ।

राम्रोसंग तयारी गर्न नभ्याउदा खेलमा ठूलो अन्तरले पराजित हुन पुगेको एन्फा मकवानपुरका प्रशिक्षक अशोक बरालले बताए । उनले झापा गोल्डकपको लागि तयार गरेको सेट टिम प्राविधिक कठिनाईका कारण मैदानमा उत्रार्न नसक्नु दुर्भाग्य भएको प्रतिक्रिया दिए ।

झापा–११ का प्रशिक्षक अङ्गुरकुमार खड्गीले खेलाडीहरुले खटेर खेल्दा नतिजा सोचेभन्दा राम्रो आएको बताए । घरेलु मैदान र दर्शकको सपोर्टले पनि खेलाडीमा हौसला प्राप्त हुँदा दोस्रो हाफमा लगातार गोल गर्न सफल भएको बताए । खेलमा विजेता टोली झापा–११ का गोलकर्ता आदित्य शाक्य प्लेयर अफ दी म्याच भए । उनले नगद ११ हजार रुपैयाँ प्राप्त गरे ।

साथै, बिहीबारको खेलमा पहिलो गोल गरेका आदित्यलाई बिर्तामोड निवासी शम्भु पोखरेलले हौसला स्वरुप नगद १० हजार तथा स्थानीय शिव खतिवडाले एक थान मोबाइल प्रदान गरे । गोल्डकपमा शुक्रबारदेखि सेमिफाइनलका खेलहरु सुरु हुनेछन् । शुक्रबारको पहिलो सेमिफाइनलमा दुई विभागिय टोलीहरु त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपीएफबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : फाल्गुन २४, २०८० २०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?