कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

झापा गोल्डकप : एपीएफ क्वाटरफाइनलमा प्रवेश

अर्जुन राजवंशी

बिर्तामोड — टाइब्रेकरमा जित निकाल्दै विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लब छैटौं झापा गोल्डकप फुटबल प्रयोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।शनिबारको उद्घाटन खेलमा संकटा क्लबमाथि टाइब्रेकरमा ४–२ गोलको जित निकाल्दै एपीएफले गोल्डकपको अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।

झापा गोल्डकप : एपीएफ क्वाटरफाइनलमा प्रवेश

निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा गोलकिपर अञ्जल श्रेष्ठ नाइक बन्दा एपीएफले आगामी यात्रा तय गरेको हो ।

एपीएफका गोलकिपर श्रेष्ठले पेनाल्टी सुट गर्न आएका संकटाका पहिलो खेलाडी अजित लामाको प्रहार रोक्न सफल भएका थिए । लगत्तै दोस्रो पेनाल्टी सुट गर्न आएका संकटाका मौसम सुब्बाको प्रहार पनि गोलकिपर श्रेष्ठको पञ्जामा लागेर गोलपोस्टको पिल्लरमा ठोक्किएर फर्किएको थियो । संकटाको लगातार दुईटा पेनाल्टी सुट विफल भएपछि एपीएफको जित सहज बनेको थियो ।

टाइब्रेकरमा एपीएफका लागि दिपेश धिमाल, विदेशी खेलाडी फोडे फोफोना, कुलदिप कार्की र सुमन श्रेष्ठले गोल गरेका थिए । संकटाका यमनबहादुर पुट्वार र चन्दन दासको पेनाल्टी प्रहारले मात्र गोलको दिशा लिएको थियो ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आयोजित गोल्डकपको उद्घाटन खेलमा एपीएफ सुरुवातदेखि नै संकटामाथि हाबी थियो । तर, पटकपटकका प्रहारले पोस्टको दिशा लिन सकेका थिएनन् । एपीएफका गोलकिपर श्रेष्ठ उद्घाटन खेलको प्लेयर अफ दि म्याच भए । उनले नगद ११ हजार रुपैयाँ प्राप्त गरे । गोल्डकपको आइतबारको खेलमा नेपाल पुलिस क्लब र चर्च ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

गोल्कडपमा आयोजक झापा–११ सहित नेपालका १० टिमको सहभागिता रहनेछ । गोल्डकप विजेता टिमले नगद १३ लाख तथा उपविजेता टिमले नगद ७ लाख रुपैयाँ प्राप्त गर्ने गोल्डकपका अध्यक्ष बिनोद बस्नेतले जानकारी दिए । उनकाअनुसार यस वर्ष विजेता र उपविजेता दुवै पुरस्कारमा नगद ५०/५० हजार रुपैयाँ वृद्धि गरिएको छ ।

गोल्डकपमा सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल प्रदान गरिने छ । गोल्डकपको उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही नगद २५ हजार प्रदान गरिने अध्यक्ष बस्नेतले बताए । गोल्डकप फागुन २८ गतेसम्म चल्नेछ ।

२०७२ देखि सुरु भएको झापा गोल्डकप कोभिडकालमा दुई बर्ष तथा गत बर्ष आयोजना हुन सकेन । छैटौं संस्करणको गोल्डकपको उद्घाटन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गरेका थिए । गोल्डकप सम्पन्न गर्न एक करोड ४० लाख रुपैयाँ खर्च अनुमान गरिएको बस्नेतले बताए ।

प्रकाशित : फाल्गुन १९, २०८० १८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?