कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

भण्डारीको विजय : सुदूरपश्चिम प्रदेश सभामा एमालेलाई लाभ

बझाङ — बझाङ प्रदेशसभा-१ मा नेकपा एमालेका दमनबहादुर भण्डारी निर्वाचित भएका छन् । नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २ सय ६७ मतले पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन् । २०७९ को चुनावमा कांग्रेसले जितेको स्थानमा विजय हासिल गर्दा सुदूरपश्चिम प्रदेश सभामा एमालेलाई एक सिट लाभ भएको छ । सुदूरपश्चिममा एमालेका अब ११ सांसद हुनेछन्

भण्डारीको विजय : सुदूरपश्चिम प्रदेश सभामा एमालेलाई लाभ

अन्तिम मत परिणाम अनुसार नेकपा एमालेका दमनबहादुर भण्डारीले ११ हजार ६ सय १३ मतले विजयी भएका हुन् भने उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार ३ सय ४६ मत प्राप्त गरेका थिए । मत गणना सुरु भए देखि नै यी दुइ उम्मेदवारबीच चर्को प्रतिस्पर्धा भएको थियो ।

यसैगरी नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाको ३ हजार ९ सय ६७ मत पाउँदा नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५ सय १३ मत प्राप्त गरेका छन् । यहाँ ११ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो ।

२०२४ साल जेठ १४ गते छबिसपाथिभेरा गाउँपालिकाको भण्डारी गाउँमा जन्मिएका नवनिर्वाचित उम्मेदवार भण्डारीले २०४१ सालको एसएलसी दिएपछि अनेरास्ववियुबाट राजनीति सुरु गरेका थिए ।

नेपाल ल क्याम्पसबाट २०४२ सालमा अनेरास्ववियुमा आबद्ध भण्डारीले बीएल गरेपछि बझाङ फर्किएर सामाजिक काममा संलग्न भएका थिए । बझाङमा लैंगिक हिंसाविरुद्ध अभियानसमेत चलाएका भण्डारी एमालेभित्र भद्र र शालिन व्यक्तिका रुपमा चिनिन्छन् ।

भण्डारी २०५४ सालमा तत्कालीन मटेला गाविसको अध्यक्षमा निर्वाचित भएका थिए । त्यसयता पार्टीको राजनीतिमा संलग्न उनले कुनै पनि संसदीय पदको जिम्मेवारी पाएका थिएनन् । २०५५ सालमा एमाले जिल्ला कमिटी सदस्य निर्वाचन क्षेत्र नं. १ को क्षेत्रीय कमिटी सचिव बनेका उनी २०६२ सालमा राष्ट्रिय युवा संघ नेपालको अञ्चल कमिटी सचिव भएका थिए ।

२०६९ सालमा भएको सातौं जिल्ला अधिवेशनबाट एमाले जिल्ला सचिव हुँदै हाल भण्डारी हाल बझाङ एमाले अध्यक्षको जिम्मेवारीमा छन् । यो उपनिर्वाचनका लागि एमाले क्षेत्रीय समन्वय कमिटीमा छ जना आकांक्षीबीच भएको आन्तरिक मतदानमा भण्डारीले सबैभन्दा धेरै ९४ मत प्राप्त गरि उम्मेदवार छनौट भएका थिए । विजयी भए पछि कान्तिपुरसँग प्रतिक्रिया दिँदै भण्डारीले जनताका आधारभूत समस्या सम्बोधन गर्ने र प्रदेश सभाको बिग्रिँदै गएको छवि सुधार्न आफूले भूमिका खेल्ने बताए ।

तत्कालीन प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएपछि शनिबार उपनिर्वाचन भएको हो । कांग्रेसका उम्मेदवार अभिषेक सिंह पूर्वसांसद पृथ्वीबहादुर सिंहका छोरा हुन् । गत निर्वाचनमा यो क्षेत्रमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार रहेका पृथ्वी सिंहले १७ हजार १ सय १२ मत प्राप्त गरी विजयी भएका थिए भने एमालेका अफिलाल ओखेडाले १३ हजार ३ सय ७६ मत प्राप्त गरेका थिए ।

प्रकाशित : वैशाख १७, २०८१ १७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?