कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

रास्कोटका दुई वडा बालविवाहमुक्त घोषणा

कालिकोट — रास्कोट नगरपालिकाका दुई वटा वडालाई बालविवाहमुक्त घोषणा गरिएको छ । वडा नं. ४ र ९ मा बालविवाहको दर शून्यमा झरेपछि बालविवाहमुक्त घोषणा गरिएको हो ।  

रास्कोटका दुई वडा बालविवाहमुक्त घोषणा

रास्कोटका नगर प्रमुख धर्मराज शाही र उपप्रमुख मनिराज बरालको सहभागितामा वडा कार्यालयद्वारा आयोजित घोषणा सभामा एक वर्षभित्र पुरै नगरका ९ वटै वडालाई बालबविवाहमुक्त घोषणा गरिने सरोकारवालाले प्रतिबद्धता जनाए ।

समुदायले पनि बालविवाहलाई सामाजिक अपराधकोरुपमा लिएर एक वर्षको अवधिमा कसैले बालविवाह नगरेकाले वडा नं ४ र ९ लाई दुई दिनको फरकमा बालविवाह मुक्त घोषणा गरिएको नगर बालअधिकार समितिका संयोजक मनिराज बरालले बताए ।

'बालविवाहले समाजमा विकृति छ,' बरालले भने, 'सबैभन्दा पहिले त पढाइ छाड्छन्, त्यसपछि पनि अनेक नकारात्मक असर देखिन्छन् ।' उनले बालबालिकाको बृत्ति विकासलगायतका सबै प्रगतिको बाधक बालविवाह सधैँका लागि अन्त्य गर्न अभियान थालिएको बताए ।

बालविवाहले बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षण, पोषण र सामाजिक सुरक्षामा प्रतिकूल असर पारेको ठहर गर्दै रास्कोट नगरपालिकाले निर्माण गरेको बालविवाह विरुद्धको रणनीतिअनुसार धामीझाक्री, पण्डित, बालअभियन्ता, सामाजिक कार्यकर्ता परिचालन गरेर बालविवाहलाई सून्यमा झार्न सफल भएको वडा नं ४ का वडाध्यक्ष दिनेश संज्यालले बताए ।

बालविवाह सामाजिक र कानूनी अपराध भएकाले अन्त्य गर्न साझा प्रयास भएको छ । उनले भने, 'कसैले बालविवाह गरे गराएमा सामाजिक बहिष्कार गरिनेछ ।' बालबालिकाको हित विपरीत कसैले बालविवाह गरे कानूनअनुसार नगरपालिकाले कारवाही गर्ने नगर प्रमुख धर्मराज शाहीले बताए ।

रास्कोटमा गरिएको सर्वेक्षणअनुसार सन् २०२० मा ६७ प्रतिशत, २०२१ मा ६१, ०२२ मा ५१ र २०२३ मा ३२ प्रतिशतमा झरेको बालविवाह वडा नं ४ र ९ मा सून्य देखिएपछि वडा कार्यालयको आयोजनामा औपचारिक कार्यक्रममार्फत बालविवाह मुक्त घोषणा गरिएको सर्वेमा संलग्न दलसिंह कुमालले बताए ।

बालविवाहले बालबालिकाको पठनपाठ्नमा अवरोध पुर्‍याएको सुनाउँदै महिला हिंसालाई पनि बढाएको नेपाल पत्रकार महासंघका उपाध्यक्ष नमराज योगीले बताए । उनले सबै अभिभावकलाई आफ्ना नानीबाबुहरुले प्रगति गरेको देख्न चाहने भए उमेर पुगेपछि मात्र विवाह गरी दिन सुझाए ।

प्रकाशित : जेष्ठ २७, २०८१ १८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×