कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

राडी बेचेर नाति पढाउँदै दामा

डीबी बुढा

जुम्ला — तिला गाउँपालिका-२ की ५७ वर्षीया दामा रावत सदरमुकाम खलंगामा राडी बुन्न ब्यस्त छिन् । उनी बिहान बेलुकीको समय राडी बन्नमै खर्चिन्छिन् । सधैँ चुलोचौकोमै सीमित हुने उनी पछिल्लो समयमा राडी बुनेर नातिहरु पढाइरहेकी छिन् । बजारमा भेडाको उनबाट बनेको राडीको उच्च माग छ । एक राडी बेच्दा उनले न्युनतम ४ हजारदेखि सात हजार रुपैयाँ कमाउँछिन् । 

राडी बेचेर नाति पढाउँदै दामा

अहिले पनि पतिपत्नी र छोरीबुहारीको घरमा अधिकांश बुढाबुढीहरु निर्भर छन् । उनले भनिन्, ‘स्वास्थ्यले साथ दिँदासम्म आफैँले कमाएर छोराबुहारी र नातिहरुको खर्च धानिदिने सोच बनाएकी छु ।’

पैसा कमाउन भन्दै उनका छोराबुहारी लामो समयदेखि कालापहाडमा छन् । छोराबुहारीको मात्र भर पर्दा समस्या आउन सक्ने भएकोले आफैँले उद्यम गरेर जेनतेन खर्च चलाइरहेको उनको भनाइ छ । गाउँमा उनका ५८ वर्षका पति मेघबहादुरले ६० वटा भेडाबाख्रा पालेका छन् । भेडाको उन कातेर उनले दामालाई पठाउँछन् ।

दामाले भनिन्, ‘सदरमुकाम खलंगामा कोठा भाडामा लिएर नातिहरु पढाइरहेकी छु । राडीपाखी बेचेर कमाएको रकमले नातिहरुको कापी, कमल, स्कुल पोशाकदेखि दाल,चामल, नुन, तेलको जोहो गरिरहेकी छु ।' उनको मेहनत हेरेर छिमेकीहरु समेत छक्क छन् ।

राडीपाखी ८ देखि १० हजारको मुल्यमा बेचेको र लिउ चारदेखि ७ हजारसम्ममा बिक्री हुने गरेको उनले बताइन् । उनको सरदर कमाइ एक महिनामा ४० हजार जति हुने गरेको छ । उनको घरमा पहिल्यै देखि भेडाबाख्राको पालन भइरहेको थियो । जसले गर्दा उनी सानै देखि राडीपाखी बुन्न सक्ने भइन् । बुबा,काका र दाजुभाइहरुले राडी बुनेको हेरेर आफूले सिकेको अनुभव उनको छ ।

दामाको बुढेसकालको उर्जाले अरु महिलाहरुलाई पनि उद्यममा लाग्न हौस्याइरहेको छ । 'म एकोहोरो आफ्नो काममा लागिरहन्छु । व्यवसायको रुपमा अंगालेर घर खर्च धानिरहेकी छु,' उनले भनिन्, ’अहिले सम्म ऋणको भारी बोक्नु परेको छैन । सीपले आत्मनिर्भर बन्न सिकाएको छ । म यसैमा खुसी छु ।’

जिल्ला पशु सेवा कार्यालय जुम्लाका अनुसार पशुपंक्षी उत्पादनका हिसाबले भेडा बाख्रापालनमा प्रशस्त सम्भावना छन् । जिल्लामा व्यवसायिक रुपमा, भेडाबाख्रापालन तथा पोल्ट्री फर्महरू स्थापना भएका छन् । जुम्लामा अहिले ८४ हजार तिन सय ८८ भेडाको संख्या छ भने ४६ हजार तीन सय ६ बाख्रा छन्। ६९ हजार हेक्टर चरन क्षेत्र छ ।

प्रकाशित : जेष्ठ २७, २०८१ १५:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×