२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९२

बच्चा जन्माएको साढे एक घण्टापछि आमाको मृत्यु

रासस

सिमकोट (हुम्ला) — हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिका–७ रोडिकोटमा सुत्केरी भएको केही समयपछि एक जना महिलाको मृत्यु भएको छ । स्वास्थ्यचौकीमा प्रसूति गराउन गएकी २८ वर्षीया रिता देवकोटाको आइतबार राति १२ः३० बजे रोडिकोट स्वास्थ्य चौकीमा मृत्यु भएको हो ।

देवकोटाले बच्चालाई जन्म दिएको १ः३० घण्टा पछि मृत्यु भएको हो । मृतक देवकोटालाई शुक्रबारदेखि पानी बग्ने समस्या देखिए पनि आफन्तले ढिला आइतबार बिहान ११ बजे मात्रै स्वास्थ्यचौकी पुर्‍याउँदा समस्या उत्पन्न भएको स्वास्थ्यचौकीका इञ्चार्ज टिका बोहराले बताए ।

इञ्चार्ज बोहराका अनुसार, आफन्तले भूतप्रेत लागेको भन्दै सुत्केरी ब्यथाले च्यापेको एक दिनपछि मात्रै स्वास्थ्यचौकीमा ल्याउँदा समस्या भएको हो । रोडिकोट स्वास्थ्यचौकीमा कार्यरत अनमी लगायत सबै स्वास्थ्यकर्मी लागि परेर रातिको १०ः३० बजे बच्चा जन्माउन सफल भए पनि त्यसको केही समयपछि देवकोटाको मृत्यु भएको उनले बताए ।

'बच्चा जन्माउनु अगाडि रगत बग्ने समस्या थियो । बच्चा जन्माएपछि रगत बग्न रोकिए पनि त्यसको केही समयपछि मृत्यु भयो,' उनले भने । मृतक देवकोटाको उद्धारका लागि खबर गर्न रात परिसकेको हुनाले थप समस्या निम्तिएको उनको भनाइ छ ।

गाउँपालिका स्वास्थ्य शाखालाई खबर गर्न फोन गर्दा फोन नउठेको उनको भनाई छ । यता जिल्ला अस्पतालका वरिष्ठ अनमी सरिता बोहरासँग परामर्श लिएर बच्चा सकुशल जन्माएको उनले बताए। तर दुर्भाग्यबस आमाको मृत्यु भयो । यसअघि देवकोटालाई सर्केगाड स्वास्थ्य शाखामा उपचार गराउँदा समस्या रहेको बताउँदा घरपरिवारले कुनै चासो नराखेको उनको भनाइ छ ।

प्रकाशित : वैशाख १०, २०८१ १७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?