कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

डोल्पामा १ सय २० हिउँचितुवा

उच्च पहाडी पर्यावरणमा पाइने लोपोन्मुख र संरक्षित वन्यजन्तु हिउँचितुवा मुख्यतः शे–फोक्सुन्डो, ढोरपाटन सिकार आरक्ष र अन्नपूर्ण संरक्षण क्षेत्रमा पाइने

मुगु — दुर्लभ मानिने हिउँचितुवा हिमाली जिल्ला डोल्पामा १२० वटा पाइएको तथ्यांक सार्वजनिक गरिएको छ । वन्यजन्तु सप्ताह पारेर शुक्रबार डिभिजन वन कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र डोल्पोबुद्ध र छार्काताङसोङका सामुदायिक वन क्षेत्रमा ३० गरी १२० हिउँचितुवा भेटिएको हो । 

डोल्पामा १ सय २० हिउँचितुवा

डिभिजन वन अधिकृत मुनबहादुर रावतका अनुसार २०८० वैशाखदेखि वन क्षेत्रमा सुरु गरिएको हिउँचितुवा गणनामा ३० वटा भेटिएका हुन् ।

त्यसैगरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले विश्व सिमसार दिवसको अवसर पारेर गत फेब्रुअरी २ मा निकुञ्ज क्षेत्रमा ९० वटा दुर्लभ हिउँचितुवाको संख्या भेटिएको तथ्यांक सार्वजनिक गरेको थियो । एसियाका १२ देशमा पाइने हिउँचितुवाको संख्या ४ हजारदेखि ६ हजार ५ सयको संख्यामा रहेको अधिकृतको भनाइ छ । डिभिजन अधिकृत रावतले जनघनत्वको हिसाबले हिमाली जिल्ला डोल्पामा हिउँचितुवाको यो संख्या उच्च मानिएको बताए ।

शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज कार्यालयका वरिष्ठ संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठका अनुसार उच्च पहाडी पर्यावरणमा पाइने लोपोन्मुख र संरक्षित वन्यजन्तु हिउँचितुवा शे–फोक्सुन्डो, ढोरपाटन सिकार आरक्ष र अन्नपूर्ण संरक्षण क्षेत्रमा पाइन्छ । सन् २०१९ मा हिउँचितुवा गणनाका लागि निकुञ्ज र मध्यवर्ती क्षेत्रमा ३१९ वटा स्वचालित क्यामरा जडान गरिएको थियो ।

हिउँचितुवा गणनाका लागि निकुञ्जको ८० लाख र सामुदायिक वन क्षेत्रमा ४८ लाख खर्च भएको विश्व वन्यजन्तु कोषका अनुसन्धान फिल्ड कार्यक्रम अधिकृत चन्द्रजंग हमालले जानकारी दिए । उक्त आर्थिक सहयोग विश्व वन्यजन्तु कोषको रहेको उनको भनाइ छ ।

नेपाल सरकार र विश्व वन्यजन्तु कोषले प्रथम पटक २००९ मा साइन सर्भे अर्थात् हिउँचितुवाको पाइला दिसापिसाब प्रविधिबाट गणना गर्दा १ सय १० देखि १ सय ३० को संख्या रहेको तथ्यांकमा उल्लेख गरिएको निकुञ्जले जनाएको छ । हिउँचितुवाको मुख्य आहारा झारल, घोरल, नाउर रहेको र तिनको संख्या पनि निकुञ्जमा ४ हजार भन्दा बढी रहेको जनाइएको छ ।

निकुञ्जमा जडान गरिएको ३ सय १९ क्यामराको ८/८ किलोमिटर र ४ हजार ८ सय कभरेज क्षेत्र रहेको छ । जडान गरिएका उक्त क्यामराको प्राप्त नतिजाले १ सय वर्गकिलोमिटरको क्षेत्रमा दुई/दुई वटा हिउँचितुवा भेटिने गरेको निकुञ्जले जनाएको छ । २०४० सालमा स्थापना भएको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जसहित डोल्पाको वन क्षेत्र हिउँचितुवाको प्रख्यात क्षेत्र रहेको विश्व वन्यजन्तु कोषका अनुसन्धान फिल्ड कार्यक्रम अधिकृत हमालले जानकारी गराए ।

उनका अनुसार निकुञ्ज क्षेत्रको करिब ३ हजारदेखि ४५ सय मिटर उचाइमा हिउँचितुवा भेटिने गरेको छ । ३ हजार ५ सय ५५ वर्गकिमि क्षेत्रफल निकुञ्जले ओगटेको छ । यो निकुञ्जभित्र मुगुको मुगुम् कार्मारोङ गाउँपालिकासहित डोल्पाका तीन गरी ४ स्थानीय तह पर्छन् । शे–गुम्बाको नामकरण गरिएको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा भ्रमण गर्ने पर्यटकको वार्षिक दर ४ हजार रहेको छ । विशेष गरी ट्रकिङका लागि उपयुक्त मानिएको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको वार्षिक निकुञ्जको वार्षिक दर १ करोड ५० लाख रहेको छ ।

प्रकाशित : वैशाख ९, २०८१ ०६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×