कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

हिउँ पर्दा पलाएको किसानको आशा 

डीबी बुढा

जुम्ला — तिला गाउँपालिका-९ का मानबहादुर बुढा लामो समय देखिको खडेरीले हिउँदेबाली सुक्दै जान थालेपछि निकै चिन्तित थिए । हिउँदे बालीले मात्र उनको घरमा ६ महिना धान्छ । हिउँदे बालीको रुपमा रहेको जौं, गहुँ बर्षा नहुँदा पहेलिंदै गएका थिए ।

हिउँ पर्दा पलाएको किसानको आशा 

‘यो बर्ष ढिलो गरेर हिउँसंगै बर्षा भएपनि अन्नबाली उब्जाउमा सहयोग पुग्ने आशा पलाएको छ । जुम्लामा दुई दिन देखि बर्षा भएपनि सोमबार विहानै देखि हिउँ परिरहेको छ,' उनले भने, ‘स्याउका विरुवा काँटछाँट गर्दा सुक्न थालेका थिए । जौं, गहुँहरु सोत्तर बन्ने अवस्थामा पुगेका थिए । अब यो हिउँसंगै परेको बर्षाले जमिनमा चिस्यान पैदा गरेर किसानको मुहारमा खुसी ल्याउने आशा पलाएको छ ।’

गुठिचौर गाउँपालिका-५ का बिष्णुबहादुर भण्डारीले यो बर्ष मात्रै चार सय स्याउका विरुवा रोपेका छन् । उनको लक्ष्य स्याउ रोपेर नमुना बगैंचा स्थापना गर्ने थियो । तर बारीमा स्याउ रोपिसकेपछि खडेरी पर्न थालेपछि लगानी डुब्ने भन्दै निकै चिन्तामा थिए । तर ढिलै भएपनि परेको बर्षाले उनको मनमा बसेको चिन्ता हराएको छ । अब स्याउमा पालुवा पलाउनेमा उनी ढुक्क छन् ।

उनले भने, ‘हामी जुम्ली किसानहरुका लागि हिउँदेबाली प्राण हो । यो बाली नै सखाप हुने अवस्था आए भोकमरीको सामाना गर्नुको विकल्प हुदैन । त्यसैले सुविकाल फर्काउने हिउँको रुपमा यो बर्षा र हिमपातलाई लिइएको छ । उनको ५० हजार बर्गमिटर क्षेत्रफल जग्गामा जौं, गहुँ लगाइएको छ । सिंचित क्षेत्र बाहेक सिँचाइ नहुने क्षेत्रका किसानहरुलाई यो बर्षाले निकै फाइदा पुर्‍याएको उनले बताए ।

मानबहादुर र बिष्णुबहादुर मात्र खुसी छैनन् । यो बर्षा सँगैको हिउँपातले सिंगो कर्णालीका किसानहरु उत्साहित बनेका छन् । लामो समयदेखि हिउँ र बर्षा नहुदा खडेरीले हिउँदेबाली सुक्न थालेको भन्दै चिन्तामा बसेका कर्णाली किसानहरुको मुहारमा चमक देखिन थालेको हो । जुम्लामा यो समयमा स्याउ, ओखर बगैंचा व्यवस्थापन गर्ने देखि जौं, गहुँमा मल व्यवस्थापन र सिँचाइ गर्ने गरिन्छ ।

त्यसैले पनि किसानहरुलाई यो पटकको बर्षाले राहतको अनुभूति दिलाएको गुठिचौर गाउँपालिका-५ का बिष्णुबहादुर भण्डारीले जानकारी दिए ।गहुँ, जौं लगाउने जमिनमा यो बर्षाले चिस्यान पैदा गरेको छ । स्याउ बगैंचामा पालुवा पलाउन थालेका विरुवाहरुमा भरपुर सिँचाइको काम गर्ने किसानहरुले अपेक्षा गरेका छन् ।

जुम्ला समुद्री सतहदेखि झण्डै २ हजार १ सय बर्गमिटर भन्दा बढी उचाइमा छ । हिमाली क्षेत्र भएकोले सिंक्षित क्षेत्र निकै कम छ । अधिकांस जमिनमा आकाशे पानीको भरमा खेती हुने गरेको छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार तीन हजार हेक्टर जमिन मात्रै सिंचाइ सुविधा पुगेको छ । अधिकांस बालीनालीको खेती सुख्खा पाखोमा हुने भएकोले आकाशे पानीको भरमा जुम्लाका किसानहरुले खेती गरिरहेका हुन्छन् ।

यो वर्षाले पाखो बारीमा लगाइएको अन्नबाली सप्रिने जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाको विश्वास छ । उनले भने, ‘यो बर्षासंगै परेको हिउँले बालीनाली सप्रन्छ नै त्यो भन्दा बढी धुवाँ, धुलो हटाएर स्वच्छ वातावरण बनाउन मद्धप पुर्‍याउँछ । ’

हिउँदेबालीको रुपमा रहेको जौंले एक हेक्टर क्षेत्रफलमा १ हजार ५ सय केजी जौं उत्पादन दिन्छ । गहुँले प्रतिहेक्टर २ हजार १ सय केजी उत्पादन दिइरहेको तथ्यांक कृषि विकास कार्यालय जुम्लासँग छ । तर लामो समयसम्म हिउँ र बर्षा नहुँदा हिउँदे बाली सोत्तर भएर जाने भन्दै चिन्तामा बसेका किसानहरुका लागि यो पटकको बर्षा अमृत जस्तै भएको उनको भनाइ छ ।

बर्षा नहुँदा किसानहरुले यो पटक स्याउ बगैंचा व्यवस्थापन निकै ढिलो गरेका छन् । ओखरका विरुवा र स्याउका विरुवाहरु लगाउन समेत हिउँले भुमिका खेल्छ । यो पटकको हिउँ किसानहरुका लागि लाभदायक भएको कृषि प्राविधिकहरु बताउँछन् । जुम्लाको कुल खेतीयोग्य जमिन २४ हेक्टर क्षेत्रफलमा फैलिएको छ । जसमध्ये २१ हजार हेक्टर क्षेत्रफल पाखोबारीले समेटेको छ ।

निरन्तर तिन दिन देखि परेको हिउँसंगैको बर्षाले जनजीवन निकै प्रभावित बनेको छ । स्कुलहरु राम्रो संग चलेका छैनन् । गाउँतिर बुढाबुढी र बालबालिका चिसोले प्रभावित भइरहेका छन् ।

प्रकाशित : फाल्गुन २१, २०८० १६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×