२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२६

मेरुदण्ड विशेषज्ञ चिकित्सकको टोली जुम्लामा

डीबी बुढा

जुम्ला — कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा मेरुदण्डको विशेषज्ञहरुको टोली पुगेको छ । धरानदेखि बिर्तामोडसम्मका १४ जना विशेषज्ञहरुको टोली जुम्ला आइपुगेको हो ।

मेरुदण्ड विशेषज्ञ चिकित्सकको टोली जुम्लामा

टोलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशेषज्ञ र एमबीबीएस डाक्टरहरु गरेर ३० जनासँग मेरुदण्डको रोग र उपचारका बारेमा छलफल गरेको अस्पताल निर्देशक डा. पुजन रोकायाले जानकारी दिए । उनीहरुलाई स्पाइन क्याडाभेरिक कोर्स पनि पढाइएको हो ।

उनका अनुसार एसोसिएसन अफ स्पाइन सर्जन अफ नेपालका पूर्वअध्यक्ष डा. विमलकुमार पाण्डेको नेतृत्वमा टोली जुम्ला पुगेको हो । टोलीमा उपाध्यक्ष डा. व्यापक पौडेल, महासचिव डा. सुरज बज्राचार्य, साइन्टिफिक कमिटीका डा.गौरव ढकाल लगायत छन् ।

एसोसियसन अफ स्पाइन सर्जन अफ नेपालका पूर्वअध्यक्ष डा.पाण्डेले टोलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशेषज्ञ चिकित्सकहरुलाई मेरुदण्डको उपचार बारे सहजीकरण गरेको छ । 'कर्णालीमा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनेको छ । मेरुदण्डका बिरामीहरु यस क्षेत्रमा धेरै छन्,' पूर्वअध्यक्ष डा.पाण्डेले भने,‘तर यातायातको समस्याले अस्पतालसम्म बिरामी लैजान कठिन छ । मेरुदण्डको घरदैलो सेवा र अस्पतालमा उच्चस्तरीय सेवा सञ्चालनका लागि टोलीले छलफल चलाइरहेको छ ।

हामी जटिल प्रकारको मेरुदण्डको उपचार जुम्लामै होस भन्ने चाहन्छौं । जसका लागि विशेषज्ञ चिकित्सकलाई सैद्धान्तिक तथा व्यवहारिक ज्ञानको आवश्यक हुन्छ ।' टोलीले एक दिन भए पनि ज्ञान आदानप्रदान गरेर विशेषज्ञहरुको क्ष्मता विकासमा सहयोग गरेको उनको भनाइ छ ।

उनका अनुसार बिहान सैद्धान्तिक कक्षा लिएर दिउँसो व्यवहारिक अभ्यास गरेर जुम्लामा कार्यरत विशेषज्ञ चिकित्सकहरुको क्षमता अभिवृद्धि गर्ने कार्यक्रम गरिएको छ । पहिलो चरणमा मेरुदण्डको चोटपक लागेका गर्ने उपचार र क्षयरोगको संक्रमण सम्बन्धिको उपचार बारेमा जानकारी दिइएको छ ।

एसोसिएसन अफ स्पाइन सर्जन अफ नेपालको सहकार्यमा मुलुकभित्र र विदेशमा पनि मेरुदण्डको उपचारबारे तालिम गर्न विशेषज्ञहरुलाई अवसर प्रदान गर्ने निर्देशक डा. रोकायाले बताए । उनका अनुसार प्रतिष्ठानको आवश्यकताअनुसार मेरुदण्डको उपचारको बारेमा तालिमको लागि टोलीले सघाउने छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार २० जना मेरुदण्डको जटिल समस्या भएका बिरामीहरु अन्य अस्पताल रेफर भएका छन् । 'अहिलेसम्म मेरुदण्डको उपचार सेवा प्रदान भइरहेको छ,' निर्देशक रोकायाले भने, ‘टोलीसँगको छलफलले झनै प्रभावकारी सेवा प्रदान गर्ने ऊर्जा मिलेको छ ।’

कर्णालीमा भीरबाट लड्ने, सवारीसाधनको दुर्घटनामा परेर मेरुदण्डमा चोटकपटक लाग्ने बिरामीहरु धेरै आउने गरेका छन् । टोलीले कर्णाली प्रतिष्ठानमा सञ्चालित मेरुदण्डको उपचार सेवा,बिरामीहरुको अवस्था र विशेषज्ञ चिकित्सकहरुले गरिरहेको कामको अनुभव समेत सुनेको छ ।

प्रकाशित : आश्विन ६, २०८० २२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?