कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

लिमीका बालबालिकालाई शैक्षिक तगारो

भौगोलिक जटिलता र सरकारी उदासिनताका कारण लिमीका बालबालिकाहरू ६ कक्षामा भर्ना हुन तीन दिन पैदल हिँडेर नाम्खा गाउँपालिकाको याल्बाङ पुग्नुपर्छ ।
२०३४ सालमा तिलगाउँमा स्थापना भएको हिमशिखर आधारभूत विद्यालयको ढोका ४ वर्षदेखि खुलेको छैन । ६४ विद्यार्थी अध्ययनरत अन्य दुई प्राथमिक विद्यालयमा पनि समयमै पाठ्यपुस्तक नपुग्दा वर्षमा ४ महिना पढाइ हुन्छ ।
जनकबहादुर शाही

हुम्ला — उत्तरी हुम्लाको सुन्दर लिमी उपत्यकामा अवस्थित छ– तिलगाउँ । सामाजिक, सांस्कृतिक र प्राचीन सम्पदाको हिसाबले समृद्ध नाम्खा गाउँपालिका-६ मा अवस्थित उक्त गाउँमा शिक्षाको उज्यालो भने छैन । २२ घरधुरीको बीचमा रहेको एकमात्र शैक्षिक संस्था हिमशिखर प्राथमिक विद्यालय पनि ४ वर्षदेखि बन्द छ ।

लिमीका बालबालिकालाई शैक्षिक तगारो

लामो प्रयासपछि २०३४ सालमा स्थापना भएको विद्यालय बन्द भएपछि तिलगाउँका बालबालिकाको विद्यालय जाने विकल्प पनि टुटेको छ ।

विद्यालयका प्रधानाध्यापक धर्मनन्द लामा भने विद्यार्थीहरू नभएपछि विद्यालय बन्द गरिएको बताउँछन् । ‘राज्यले विद्यालय कसरी चलाउने भनेर सोचेन, विद्यार्थी पनि आएनन्,’ उनले भने, ‘त्यसपछि गाउँपालिकाले मलाई काजमा तानेर अर्कै विद्यालयमा पठाएको छ ।’

४ वर्षअघि हिमशिखर प्राथमिक विद्यालय बन्द हुँदा २२ जना विद्यार्थी भर्ना भएका थिए, तर नियमित आउँदैनथे । त्यसपछि नाम्खा गाउँपालिकाले प्रधानाध्यापक लामा र अर्का शिक्षक ओतिसरा मेधुन ऐडीलाई काजमा तानेर पालिकाकै हेप्कामा अवस्थित बुद्ध प्राथमिक विद्यालयमा पठायो । अहिले दुबैजना शिक्षक हेप्कामा कार्यरत छन् ।

‘समुदायमा चेतना फैलाएर पढ्नुपर्छ भन्ने भावना जगाइदिएको भए विद्यार्थी अभावमा विद्यालय बन्द गर्नुपर्ने थिएन,’ प्रधानाध्यापक लामाले भने, ‘अहिले त्यहाँका बालबालिकाले पढौं भने पनि ठाउँ छैन ।’ नाम्खा गाउँपालिका वडा नं. ६ लिमिका वडाध्यक्ष पाल्जोर तामाङका अनुसार अहिले तिलगाउँमा विद्यालय जाने उमेरका करिब ५० जना बालबालिका छन् । तर विद्यालय बन्द भएसँगै उनीहरुले पढ्ने अवसर गुमाउनु परेको छ । हाल उनीहरु तिब्बती भाषामा बौद्ध शिक्षा आर्जन गरिरहेका छन् ।

यद्यपि सरकारले विद्यालयको दरबन्दी नकाटेकाले फेरि कुनै समय पुनः विद्यालय सुरु हुने अवस्था रहेको उनी बताउँछन् । तर कहिले भन्नेमा यकिन छैन ।

लिमी उपत्यकामा तिलगाउँका साथै अन्य दुई जाङगाउँ र हल्जीगाउँ पनि रहेका छन् । हल्जीको सुनखानी प्राथमिक विद्यालयमा सामान्य पढाइ हुने गरे पनि जाङको भृकुटी प्राथमिक विद्यालय भने हिमशिखरकै अवस्थामातिर उन्मुख भइरहेको छ । भृकुटी प्राथमिक विद्यालयका प्रधानाध्यापक राजबहादुर ऐडीका अनुसार अहिले विद्यालयमा १३ जना विद्यार्थी मात्र भर्ना भएका छन् । उनीहरु पनि नियमित विद्यालय जाँदैनन् । ती विद्यार्थीका लागि ऐडी र अर्का शिक्षक सन्तबहादुर रोकाया कार्यरत छन् ।

‘विद्यार्थीको पढाइमा रुची छैन, अभिभावकले पनि सहयोग गर्दैनन्,’ प्रधानाध्यापक ऐडीले भने, ‘त्यसमाथि सरकारले आवश्यक आर्थिक, भौतिक, शैक्षिक सहयोग गर्दैन । यस्तै तरिकाले त विद्यालय कहिलेसम्म चल्न सक्छ र ?’ सरकारले विद्यालयको स्तरोन्नति र सुधारको लागि बेलैमा ठोस योजना नल्याए हिमशिखर झैं बन्द गर्नुपर्ने अवस्था आउन सक्ने उनले चिन्ता व्यक्त गरे ।

करिब ५ वर्षअघिसम्म ६५ घरधुरी रहेको जाङमा अहिले २० घरमात्र छन् । यहाँका व्यापार–व्यवसाय गरेर राम्रो आम्दानी गर्नेहरू बसाइँ सरेर सहरतिर जाने क्रम तीव्र छ । गाउँमा भने केही विपन्न परिवार मात्रै छन् ।

जाङमा सबैभन्दा धेरै पढेका युवा पेम्बा तामाङ हुन् । काठमाडौंमा १२ कक्षासम्म पढेका उनी उतै काठमाडौंमै बस्छन् । उनका छाँवल (दौंतरी वा साथी ) का थुप्रै युवाहरु पढ्न नपाएर गाउँमै खेतीपाती, व्यापार–व्यवसाय गरिरहेका छन् । ४ कक्षासम्म पढेर विद्यालय छोडेका फुन्जोक लामाले अहिले गाउँमै सानोतिनो होटल व्यवसाय गरिरहेका छन् ।

‘पाँच कक्षासम्म पढ्नुपर्ला भन्ने सोचेको थिएँ, तर बुवाको मृत्यु भएपछि पढाइ छोडेर परिवारको जिम्मेवारी थाम्नुपर्‍यो,’ उनले भने, ‘आफू नपढे पनि छोराछोरीलाई पढाउनुपर्ला सोचेको, त्यही वातावरण पनि छैन ।’ अहिले जाङका बालबालिकाले केही गरी ५ कक्षासम्म पढिहाले पनि थप अध्ययनको लागि गाउँ छोड्नुपर्ने बाध्यता रहेको उनी बताउँछन् ।

शिक्षा उकास्न छैन सरकारको चासो

दुर्गमका यी विद्यालयका शिक्षामा सरकारको उदासिनता भने उदेकलाग्दो नै देखिन्छ । शैक्षिकसत्र सुरु भएको तीन महिना पूरा हुन लाग्यो, लिमीका विद्यालयमा पाठ्यपुस्तक पुग्न सकेको छैन । पुस्तक नपुगेपछि बालबालिकाहरू पुरानै च्यातिएका पुस्तक पढ्न बाध्य हुने गरेका छन् । पाठ्यपुस्तक नपाएरै कतिपय बालबालिका त तिब्बती भाषाका पुस्तक पनि पढिरहेका छन् । लिमीका बालबालिकाले अहिले मात्र होइन, हरेक वर्ष पाठ्यपुस्तक अभावको समस्या झेल्नु परेको छ ।

‘शैक्षिकसत्र सुरु भएको ३–४ महिनासम्म पुस्तक पुग्दैन, जब पुस्तक पुग्छन् त्यसपछि चिसोको कारण पढाइ बन्द भइसकेको हुन्छ,’ सुनखानी प्राथमिक विद्यालयका प्रधानाध्यापक बुढा गुनासो गर्छन् ।

अहिलेमात्र होइन, लिमीका बालबालिकाले वर्षौंदेखि समयमै पाठ्यपुस्तक नपाउनेलगायत अनेकौं सास्ती भोगिरहेका छन् । ‘हुम्ला जिल्ला त्यसै टाढा, त्यसमाथि लिमी झन् दूर छ,’ भृकुटी प्राथमिक विद्यालयका प्रधानाध्यापक ऐडी भन्छन्, ‘जेजस्तो दुःख भए पनि जेनतेन बालबालिकालाई शिक्षा दिएका छौं ।’

लिमीका विद्यालयमा समयमा पाठ्यपुस्तक नपुग्ने, नियमति अध्ययन नहुने, शिक्षकहरुको अभाव हुने र खानेपानीसमेत नपाइने समस्या रहेको उनले बताए । हुम्ला सदरमुकाम सिमकोटदेखि करिब ५५ कोष टाढा पर्ने लिमी वर्षमा करिब ६ महिना बाँकी भूगोलसँग सम्बन्धविच्छेद जस्तै हुनेगर्छ । लिमी जाने क्रममा ५ हजार मिटर उचाइमा अवस्थित न्यालु लेकमा हिउँ जमेपछि विद्यार्थी मात्र होइन, त्यहाँका स्थानीय बासिन्दा र पर्यटक पनि ‘प्राकृतिक नाकाबन्दी’ को मारमा पर्छन् । यस्तो बेला लिमीका विद्यालयमा पढाइ नै बन्द हुने गरेको छ ।

सञ्चालनमा रहेका दुईवटै विद्यालयमा ५ कक्षासम्म पढाइ हुन्छ । प्रधानाध्यापक बुढाका अनुसार लिमीमा जेठदेखि भदौसम्म पढाइ हुन्छ । असोजदेखि चिसो सुरु हुने भएकाले पढाइ हुँदैन । त्यसपछि लामो समय विद्यालय बन्द हुन्छन् । एकैपटक शैक्षिकसत्रको परीक्षा दिन्छन् ।

वडाध्यक्ष तामाङ वर्षमा राम्ररी पढाइ नहुने भएपछि गुणस्तरीय शिक्षा हासिल गर्न नसकिएको बताउँछन् । ‘संविधान र कानुनमा त सबैलाई शिक्षाको हक हुने लेखिएको छ, तर हाम्रा बालबच्चाले चाहेर पनि पढ्न पाउँदैनन्,’ उनले भने, ‘यस्तो अवस्थामा स्तरीय शिक्षाको कुरा गरेर के गर्नु ?’

लिमीका विद्यालयमा पढ्ने सबैजसो विद्यार्थी लामा समुदायका छन् । उनीहरुलाई नेपाली राम्रोसँग बोल्न आउँदैन । पर्याप्त कक्षाकोठा नहुँदा एउटै कोठामा दुईवटा कक्षाका विद्यार्थी बसेर पढ्न बाध्य छन् । साथै भवन–पूर्वाधार अभाव र अन्य शैक्षिक सामग्रीसमेत उपलब्ध छैन । ‘एउटै कोठामा दुईवटा कक्षाका विद्यार्थीलाई राखेर पढाउनुपर्ने बाध्यता छ, शिक्षक पनि पर्याप्त नहुँदा कामचलाउ खालको पढाइ हुन्छ,’ प्रधानाध्यापक ऐडीले भने, ‘नेपालमा संघीयता त आयो, तर लिमीजस्तो बिकट क्षेत्र र यहाँका आदिवासी जनजातिलाई संघीयताले छुन सकेन ।’

५ कक्षापछि पढ्न तीन दिनको यात्रा

भौगोलिक जटिलता र सरकारी उदासिनताका कारण लिमीका बालबालिकाहरुले ५ कक्षापछिको पढाइका लागि न्यालु लेकभन्दा अग्लो तगारो उक्लिनुपर्ने हुन्छ । कक्षा ६ देखि माथिको शिक्षाका लागि सबैभन्दा नजिक तीन दिन पैदल हिँडेर नाम्खा गाउँपालिकाको केन्द्र याल्बाङ पुग्नुपर्छ । अर्थात् यसभन्दा टाढा जिल्ला सदरमुकाम सिमकोट जानुपर्ने बाध्यता छ । जहाँ पुग्न ५ दिनको पैदल यात्रा गर्नुपर्छ । त्यतिमात्र होइन, ६ कक्षामा भर्ना गर्नका लागि उनीहरूले ५ हजार मिटर अग्लो न्यालु लेक काट्नुपर्छ ।

‘कलिला नानीबाबुहरु जोखिम मोलेर हिँडेर टाढाको स्कुल पढ्न जान सक्दैनन्, त्यसैले पनि ५ कक्षामै पढाइ सकिन्छ,’ लिमीका स्थानीय अगुवा फुन्जोक लामाले भने, ‘गाउँमै माध्यमिक विद्यालय भइदिए यस्तो सास्ती भोग्नुपर्ने थिएन ।’ तर गाउँका सीमित हुनेखाने र सम्पन्न परिवारका बालबालिका मात्र अध्ययनको लागि नेपालगन्ज वा काठमाडौं पुग्ने गरेको उनी बताउँछन् । लामा आफैंले पनि ४ कक्षासम्म पढेर विद्यालय छोडेका हुन् ।

लिमी उपत्यकालाई अँध्यारो बनाउनुको कारण यहाँको आर्थिक तथा सामाजिक जनजीवन पनि कारक रहेको यहाँका अगुवाहरू बताउँछन् । तीनवटै गाउँका बासिन्दा ब्यापार–व्यवसायको लागि काठमाडौं जान्छन् । कतिपय ब्यापारबाट प्रसस्त धन आर्जन गरेर अमेरिकालगायत विकसित देशमा बस्न थालेका छन् । वडाध्यक्ष तामाङका अनुसार तीनवटै गाउँ (वडा नं. ६) को कुल जनसंख्या १ हजार २ सय ३० रहे पनि हाल गाउँमा बसोबास गर्ने ५ सय मात्र छन् ।

त्यसमध्ये विद्यालय उमेर समूहका बालबालिकाको संख्या ८६ छ । स्थानीय परम्परा अनुसार कुनै पनि बालबालिका १५ वर्ष पुगेपछि घरको काममा लाग्नुपर्छ । ‘एकातिर गाउँमा ५ कक्षाभन्दा माथि पढ्नको लागि स्कुल छैन, अर्कोतिर स्कुल भएर पनि समाजको रितिथितिअनुसार घरको काममा लाग्नुपर्छ,’ उनले भने, ‘त्यसैले चाहेर पनि हाम्रा बालबच्चाले लेखपढ गर्न सक्दैनन् ।’

५ कक्षासम्मको शिक्षा राम्ररी दिलाउन सक्नु पनि ठूलो उपलब्धि हुने उनी बताउँछन् । लिमीका बालबालिकालाई ५ कक्षाभन्दा माथिको शिक्षा आर्जन गर्न मन लागेमा सबैभन्दा नजिक पर्ने भनेको गाउँपालिका केन्द्र याल्बाङ र त्यसपछि जिल्ला सदरमुकाम सिमकोट हो । नियमित गाडी नचल्ने भएको कारण याल्बाङ पुग्न पैदल ३ दिन र सिमकोट पुग्न ५ दिन लाग्छ । गाडी चलेको खण्डमा भने १ दिनमा याल्बाङ र २ दिनमा सिमकोट पुग्न सकिन्छ ।

‘धनीमानीहरु आफ्ना छोराछोरी सहरतिर लगिहाल्छन्, गरिबले यति दुःख गरेर याल्बाङ र सिमकोट पठाउँदैनन्,’ फुन्जोकले भने, ‘घरकै मिठोमसिनो खाएर पढ्न पाउने भए त हाम्रा बालबच्चा पनि बाठाटाठा हुने थिए ।’

नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामा लिमीको भौगोलिक विकटता र बसाइँसराइले विद्यालयमा नियमित रुपमा अध्यापन हुन नसकेको दाबी गर्छन् । अभिभावकहरुले विद्यार्थी भर्ना गरेर माग गरेमा ४ वर्षदेखि बन्द भएको हिमशिखर प्राविलाई पुनः सञ्चालनमा ल्याइने पनि उनले बताएका छन् ।

‘एक जना पनि विद्यार्थी नभएपछि हामीले त्यहाँका शिक्षकलाई काजमा अर्को विद्यालयमा पढाउन पठाएका छौं,’ उनले भने, ‘भोलिका दिनमा विद्यार्थी भर्ना भएमा ती शिक्षकलाई पुनः विद्यालयमा पढाउन पठाउन सकिन्छ ।’

हल्जीगाउँको सुनखानी प्राथमिक विद्यालयलाई समुदायको सहयोग

एक हजार वर्ष पुरानो मानिने हल्जी गुम्बा रहेको धार्मिक तथा पुरातात्विक सम्पदाले सम्पन्न हल्जीगाउँको सुनखानी प्राथमिक विद्यालय भने समुदायको सहयोग पाउँदा संकटमा छैन । गुम्बाको कारण गाउँ छोड्दा अनिष्ट हुने जनविश्वासका कारण लिमी उपत्यकाका तीन गाउँमध्ये हल्जी केही गुल्जार देखिन्छ । ८२ घरधुरीको बीचमा अवस्थित सुनखानी प्राथमिक विद्यालयमा ५१ जना विद्यार्थी अध्ययनरत छन् । तीमध्ये ४३ जना नेपाली पाठ्यक्रम पढ्छन् भने ८ जना बौद्ध शिक्षा अध्ययन गर्छन् । विद्यालयमा प्रधानाध्यापक कर्णजीत बुढा र नारायण शाही स्थायी दरबन्दीको शिक्षकको रुपमा कार्यरत छन् ।

यसका अतिरिक्त गाउँपालिकाको अनुदानबाट १ जना, आधार विकास संस्थाको सहयोगमा १ जना र अमेरिका बस्ने ‘लिमेली’ (लिमीवासी) को सहयोगमा सञ्चालित आत्मीय संस्थाको सहयोगमा ३ जना शिक्षक राखिएका छन् । प्रधानाध्यापक बुढा विद्यालयमा शिक्षक र विद्यार्थीको संख्या सन्तोषजनक रहे पनि सरकारले सहयोग नगर्दा शिक्षाको स्तर निकै कमजोर रहेको बताउँछन् ।

‘अन्य दुई गाउँको तुलनामा यहाँ विद्यार्थी आउँछन्, बस्ती पनि बाक्लो छ,’ उनले भने, ‘तर सरकारले समयमा पाठ्यपुस्तक पठाउँदैन, विद्यालयको तह ‘अपग्रेड’ मा पनि ध्यान दिँदैन, यसले गर्दा निकै समस्या भएको छ ।’

प्रकाशित : असार २४, २०८० १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?