२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०८

बालहिंसा रोक्न महिला प्रहरीको कार्ययोजना

जिल्लाका ९ वटै स्थानीय तहमा सचेतनामुलक र्‍याली, अर्न्तक्रिया, छलफल, सडक नाटक र घरदैलो सञ्चालन गरिने

कालीकोट — बालबालिकामाथि हुने हिंसा र बालविवाह रोक्न जिल्लामा कार्यरत महिला प्रहरीले वार्षिक कार्ययोजना निर्माण गरेका छन् । जिल्ला प्रहरी कार्यालयसहित जिल्लाभरिका प्रहरी चौकीमा कार्यरत महिला प्रहरीलाई लक्षित गरी सञ्चालन गरिएको दुई दिने कार्यक्रममा कार्ययोजना बनाइ लागू गर्ने प्रतिबद्धता गरिएको हो ।

बालहिंसा रोक्न महिला प्रहरीको कार्ययोजना

कालिकोटमा विद्यमान बालविवाह, बहुविवाह, घरेलु हिंसा र बालबालिकाविरुद्ध हुने हेला, बेवास्तासहितका हिंसा न्यूनीकरण गर्न महिला प्रहरीलाई सक्रिय गरी परिचालन गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालयले कार्यक्रम गरेको थियो । जिल्लाभरका सबै १९ महिला प्रहरीसहित ३० जनाले निर्माण गरेको कार्ययोजना कार्यान्वयन गर्ने प्रहरीको प्रतिबद्धता छ । महिला हिंसाका घटनामा महिला प्रहरीले पीडितलाई न्याय दिलाउन अनुसन्धानको प्रक्रियामा सहयोग गर्न कार्ययोजना निर्माण गरिएको प्रहरी प्रमुख डीएसपी जयश्वर रिमालले बताए । उनका अनुसार पहिलो पटक महिला प्रहरीलाई लक्षित गरेर दुई दिने क्षमता अभिबृद्धि कार्यक्रम गरी कार्ययोजना बनाइएको हो ।

प्रहरी कार्ययोजनाअनुसार जिल्लाका ९ वटै स्थानीय तहमा सचेतनामुलक र्‍याली, अर्न्तक्रिया, छलफल, सडक नाटक र घरदैलो सञ्चालन गरिनेछ । बालविवाह गरेका जोडीलाई सम्झाइबुझाइ आफन्तको जिम्मा लगाउने र अपराध भएको पाइए कानुनी कारवाहीका लागि सक्रिय हुने कार्ययोजना बनाइएको प्रहरी निरीक्षक यज्ञराज जोशीले बताए । बालविवाह, बहुविवाह र घरेलु हिंसा न्यूनीकरणका लागि सक्रिय रहन कार्ययोजना प्रभावकारी हुने प्रजिअ जोरासिंह माझीले बताए । ‘प्रहरी कानुन कार्यान्वयन गर्ने राज्यको प्रमुख अंग हो,’ उनले भने, ‘पीडितलाई न्याय दिलाउन प्रहरीको महत्वपूर्ण भूमिका हुन्छ ।’

प्रहरीले कानुन पालना गराउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता गर्दै प्रहरी प्रमुख रिमालले बालिकामाथि हुने हिंसामा आफन्तकै संलग्नता बढी देखिएकाले महिला प्रहरी बढी चनाखो रहनुपर्ने बताए । महिला तथा बालबालिका सेवा केन्द्रसहित नाग्म, खल्लागाड, कुमालगाउ, पादमघाटलगायतका प्रहरी चौकी, जिल्ला प्रशासन, तिलागुफा नगरपालिका, आपतकालीन व्यवस्थापन केन्द्रलगायतका प्रतिनिधिलाई अनुशिक्षण दिइएको केन्द्रकी पञ्चकन्या गिरीले बताइन् । उनका अनुसार रास्कोट इलाका प्रहरी चौकीले ३६, तिलागुफाका चौकीले ३० र शुभकालिकाका चौकीले २७ वटा हुदै गरेका बालविवाहमा हस्तक्षेप गरेर बदर गरेका छन् ।

प्रकाशित : वैशाख ५, २०८० २२:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?