कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

लक्ष्यको आधा पनि उठेन भन्सार राजस्व

माधव ढुंगाना

भैरहवा — मुलुककै दोस्रो ठूलो भैरहवा भन्सार कार्यालयले आव २०७९/८० मा लक्ष्यको आधा पनि भन्सार राजस्व संकलन गर्न सकेन । १ खर्ब ५५ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकामा ७७ अर्ब रुपैयाँमात्र राजस्व असुली भएको हो । अघिल्लो वर्षको तुलनामा पनि यो ज्यादै कम हो । 

लक्ष्यको आधा पनि उठेन भन्सार राजस्व

आर्थिक मन्दीका कारण कम आयात हुनु र सरकारको अन्य नीतिगत समस्याका कारण राजस्व असुली खुम्चिन पुगेको भैरहवा भन्सार कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७८/७९ मा १ खर्ब २७ अर्ब राजस्व उठाउने लक्ष्य राखेकामा १ खर्ब १५ अर्ब रुपैयाँ असुली भएको थियो । भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलले बढी भन्सार राजस्व दिने वस्तुकै आयात घटेको र अघिल्लो आवमा भएको असुलीको तुलनामा राजस्व संकलनको लक्ष्य निर्धारण पनि बढी भएको बताए । अघिल्लो आवको तुलनामा आव २०७९/८० मा ३६ प्रतिशतले बढी लक्ष्य निर्धारण गरिएको थियो । ‘२०७९ वैशाखदेखि मंसिर महिनासम्म साना गाडीको आयातमा सरकारले रोक लगायो तर लक्ष्य यथावत् नै रह्यो,’ पौडेलले भने, ‘बढी राजस्व दिने डिजेल, पेट्रोल, फलामे बिलेट र अन्य व्यापारिक वस्तुको पनि आयात घटेको छ ।’ यी वस्तुको आयात घट्नुमा आर्थिक मन्दी र केही नीतिगत कारण पनि रहेको उनको भनाइ छ ।

नेपाल राष्ट्र बैंकले केही समयअघि व्यापारिक सामानको आयातमा अनिवार्य एलसी खोल्नु पर्ने प्रावधान ल्यायो । उक्त नियम झन्झटिलो भन्दै व्यवसायीले आयात कम गर्न थाले । यसबाट कपडा, जुत्ता–चप्पल, अटो पार्ट्स, ड्राई फुड्स, चिनीलगायत व्यापारिक सामानको आयात घट्यो । बरु, यी वस्तु अवैध तरिकाबाट भित्रिन थाले । अहले ती सामानको आयातमा अनिवार्य एलसीको प्रावधान हटे पनि ती वस्तुको आयात अहिले पनि बढ्न सकेको छैन । आयात नबढ्नुमा आर्थिक मन्दीको प्रभावलाई कारण मानिएको छ ।

एमएस फलामे ब्लेडको आयातमा लाग्दै आएको अन्तःशुल्क सरकारले बढाउने र एमएस फलामे ब्लेडको कच्चा पदार्थ स्पन्ज आइरनको आयातमा भन्सार महसुल छुट दियो । यसबाट स्पन्ज आइरनको आयात बढ्यो तर राजस्व बढेन । एमएस फलामे ब्लेडको आयात घट्यो, राजस्व पनि घट्यो । अमलेखगन्जबाट डिजेलको आपूर्ति पाइप लाइनबाट गर्न थालेपछि यसको आयात भैरहवा नाकाबाट धेरै परिमाणमा घटेको छ ।

साना सवारी साधन, फलामे एमएस ब्लेड र पेट्रोलियम पदार्थको आयातबाट भैरहवा भन्सारको कुल राजस्व संकलनमा झन्डै २५ प्रतिशत योगदान रहने गरेको थियो । भैरहवा भन्सारमा जिप, कार, भ्यान, मोटरसाइकल, पिकअप तथा डेलिभरी भ्यान, एमएस ब्लेड, पेट्रोल, ग्लेज टायल, डिजेल, एलपी ग्यास, मार्वल र मोबाइल आयात गर्दा राजस्व धेरै उठ्थ्यो । भन्सार तथ्यांकअनुसार अघिल्लो आव २०७८/७९ मा यी वस्तुको आयातबाट ६७ अर्ब ९५ करोड रुपैयाँ राजस्व उठेको थियो । आव २०७९/८० मा यी वस्तुको आयात घट्दा ३० अर्ब ७२ करोड रुपैयाँमात्र राजस्व उठेको छ । ‘चाडपर्वका लागि कपडालगायत खुद्रा व्यापारिक वस्तुको आयात बढ्नुपर्ने हो,’ भन्सार प्रमुख पौडेलले भने, ‘तर आयात नबढेकाले भन्सारका यार्ड (गोदाम) खाली नै छन् ।’

भैरहवा भन्सार हुँदै नेपालबाट निर्यात हुने वस्तु भने अघिल्लो आवको तुलनामा बढेको छ । अघिल्लो आवको तुलनामा ३८ दशमलव ८ प्रतिशतले बढेको हो । अघिल्लो आवमा ७ अर्ब ८९ करोड रुपैयाँ बराबरका विभिन्न नेपाली वस्तु विदेश निकासी भएकामा २०७९/८० मा १० अर्ब ९५ करोड रुपैयाँ बराबरको निकासी भएको छ ।

प्रकाशित : श्रावण २, २०८० १८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?