कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

छिपछिपे सहकारीको साढे १६ करोड हिनामिनामा ३५ जनाविरुद्ध मुद्दा चलाउने तयारी

नारायण शर्मा

पूर्वी नवलपरासी — कावासोतीमा कार्यालय रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थामा बचतकर्ताको १६ करोड ५८ लाख रुपैयाँ भन्दा बढी हिनामिना गरेको प्रमाणका आधारमा प्रहरीले ३५ जनाबिरुद्ध मुद्दा दर्ता गर्ने तयारी गरेको छ । रकम हिनामिनामा मुख्य योजनाकार हालका व्यवस्थापक योगेन्द्र पाण्डे देखिएको छानबिन समिति र प्रहरी अनुसन्धानबाट खुलेको छ ।

छिपछिपे सहकारीको साढे १६ करोड हिनामिनामा ३५ जनाविरुद्ध मुद्दा चलाउने तयारी

पाण्डै यसअघि ७ वर्षसम्म सहकारीका अध्यक्ष र व्यवस्थापक थिए । उनले आफु निकटका व्यक्तिलाई बिनाधितो रकम दिएका छन् । पाण्डेसहित १० जना ६३ दिनअघि पक्राउ परेका छन् ।

‘छिपछिपे उपभोक्ता सहकारी संस्थामा सेयर सदस्य समेत नरहेका व्यक्तिलाई पनि नगद दिएर रकम हिनामिना गरेको पुष्टि भएको छ,’ जिल्ला प्रहरी प्रमुख एसपी नरहरि रेग्मीले भने, ‘कावासोतीमा कार्यालय रहेको यो सहकारीबाट बर्दियाको गुलरियामा रहेको कृष्णसार रिसोर्टमा सोझै करिब १ करोड रकम लगिएको छ । त्यहा रकम लैजानपर्ने कुनै कारण देखिदैन ।’

ब्यबस्थापक पाण्डे बर्दियाकै हुन् । उनले आफु निकटका ब्यक्ति नगेन्द्रबहादुर रिमालले संचालक गरेको रिर्सोटमा सहकारीको रकम सोझै लगानी गरेका छन् । रिसोर्टकी अध्यक्ष राप्रपाकी संघीय सांसद गिता बस्नेत हुन् । बस्नेत अध्यक्ष रहेको रिसोर्टमा लगानी भएको विषयमा अनुसन्धान गर्न प्रहरीले बस्नेतलाई तीन साताअघि पक्राउ पुर्जी जारी गरे पनि फरार रहेकी छन् ।

‘बस्नेत फरार रहेको कुराले नै उनी रकम हिनामिनामा संलग्न छन् भन्ने पुष्टि हुन्छ,’ प्रहरी प्रमुख रेग्मी भन्छन् । रिमाल र पाण्डेले चितवनमा रहेको सनराइज सहकारी र बर्दियामा रहेको नमस्ते सहकारीको पनि बचत हिनामिना गरेको अनुसन्धानका क्रममा खुलेको छ । एउटै समयमा छिपछिपे सहकारी संचालक समितिको सचिव रहँदा रिमाल सनराइज सहकारीको समेत अध्यक्ष थिए । पाण्डे सनराइजको सचिव थिए ।

संस्थाबाट कर्जा प्रवाह गर्दा ऋण समितिको सिफारिस अनिवार्य हुनुपर्ने व्यवस्था विपरित व्यवस्थापन पाण्डे आफैले ऋण उपसमितिको माइन्यूट उठाएर बिनाधितो आफु निकटकालाई कर्जा प्रबाह गरेका छन् । कर्जा समितिका संयोजक श्याम भुसालले आफुहरु सम्बद्ध समितिका ३ जनालाई थाहै नदिइ पाण्डेले १ सय ४० जनालाई ऋण दिएको बताए ।

ऋण दिने नक्कली माइन्यूट खडा गरेर १ सय ४० जनालाई पटक पटक गरेर पाण्डेले १ करोड ८५ लाख कर्जा दिएका छन् । उनले खडा गरेको नक्कली माइन्यूटमा कर्जा समितिका संयोजक र २ जना सदस्यहरुको नाम उल्लेख छ । ‘माइन्यूट उठाइएको छ तर ऋणसमितिका हामी कसैलाई पनि थाहा छैन । माइन्यूटमा हामी तीन जनाकै हस्ताक्षर छैन,’ भुसालले भने ।

सहकारीका सचिव विक्रम कार्कीले आफुहरु कर्जा लिएका व्यक्तिको घरघरमै पुगेर असुली गरिरहेको बताउँछन् । सहकारीको कार्यालयमा हाल ५ जना कर्मचारी राखेर काम भैरहेको छ ।

‘गत माघ २१ देखि जेठ १ गतेसम्म १९ लाख ३२ हजार रकम असुली भएको छ । त्यो रकम कावासोतीस्थित गरिमा बैंकमा जम्मा गरिएको छ,’ उनले भने, ‘रकम जम्मा गर्न पाउने र झिक्न नपाउने गरी प्रहरीले परिपत्र गरेको छ ।’ सहकारीका हालका व्यवस्थापक पाण्डेले आफु निकटका कावासोती–४ निवासी ठाकुर शर्मा डुम्रे र उनका छोरा माधव शर्मालाई गरेर ७५/७५ लाख रुपैयाँ बिनाधितो कर्जा दिएका थिए ।

अहिले यो ऋण सावाव्याजसहित ३ करोड ७० लाख ५९ हजार पुगेको छ । डुम्रेको कावासोती–४ मा रहेको २२ कठ्ठा जग्गा शिवलाल लामिछानेलाई रजिष्ट्रेसन पास दिएर लामिछाने मार्फत डुम्रे परिवारमा कर्जा प्रबाह गरेका छन् । लामिछानेलाई पास दिइएको जग्गा अर्के बैंकमा धितो छ । कर्जा दुरुपयोगमा पाण्डेलाई सघाउनेमा हालका संचालक समितिका अध्यक्ष गोपी शर्मा समेत रहेको अनुसन्धानका क्रममा भेटिएको छ । उनी एमालेका स्थानीय नेता हुन् ।

गत वैशाखसम्म सहकारीको भाका नाघेको ऋण ४ करोड ४५ लाख २१ हजार ६ सय ६४ रुपैयाँ रहेको छ । जिल्ला प्रहरीले दैनिक रकम उठाउन संस्थाका सचिवलाई ताकेता गरिरहेको जनाएको छ । व्यवस्थापक पाण्डे, हालका अध्यक्ष शर्मा बिना धितो कर्जा लिने शिवलाल लामिछाने, नरेन्द्र रिमाललगायतका व्यक्ति प्रहरी हिरासतमा रहेका छन् ।

रिमालकी सासु राप्रपा सांसद बस्नेत अध्यक्ष रहेको बर्दियास्थित रिसोर्टमा करिब डेढ करोड लगानी भएको अनुसन्धानबाट खुलेको छ । बुधबार पनि सहकारीको कार्यालयमा रकम फिर्ताबारे बुझ्न आएका बचतकर्ताको भीड थियो । आफुले मुद्दतिमा राखेको साढे ७ लाख रुपैयाँ फिर्ता पाउन दिनहुँ धाइरहेको बचतकर्ता शिव भुवाईले बताए । स्थानीय व्यापारी, किराना, फलफुल पसल, साइकलमा सामान बेच्नेहरु जस्ता साना व्यवसायी यो संस्थाका दैनिक बचतकर्ता हुन् ।

०६६ सालमा स्थापना भएको यो यो सहकारीमा २३ सय ९३ जना बचतकर्ता र सेयर सदस्य छन् । सहकारीमा कम्तीमा एक हजारको शेयर लिएको हुनुपर्ने व्यवस्था छ । सबै रकम असुली हुन सके बचतकर्ताको रकम फिर्ता हुन सक्ने अवस्था रहेको सचिव कार्कीको दाबी छ । ‘हिनामिना गर्नेहरुबाट असुली र हर्जना समेत तिराउन सके रकम फिर्ता हुनसक्छ भन्ने आशामा छौं,’ कार्कीले भने ।

जिल्ला प्रहरी प्रमुख रेग्मीले सहकारीमा सांसद बस्नेत उपस्थित नभएका कारण मुद्दा अदालतमा पेश गर्न ढिलाई भएको दाबी गरे । राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनले अनियमिततामा संलग्न भएको प्रमाणका आधारमा आफनी सांसदलाई कुनै हालतमा नछोड्न टेलिफोनमा भनेको रेग्मीले सुनाए ।

‘घोटलामा संलग्न बस्नेतलाई कुर्न परेका कारण ढिलाई भएको हो । चाँडै अदालतमा मुद्दा बुझाउने तयारी गरिरहेको प्रहरी प्रमुख रेग्मीले बताए । सहकारी डिभिजन कार्यालय पोखराका बित्तिय विश्लेषक निर्मल गौतमसमेतले गरेको अनुसन्धानमा सहकारीको रकम हिनामिनामा संलग्न रहेका २१ जनालाई बिपक्षी बनाइएको छ ।

प्रहरीले सहकारीमा हिनामिना भएको १६ करोड ५८ लाख रकम बराबरको बिगो, जरिवाना, हर्जना र जेलसजाय हुने गरी शुक्रबार सरकारी वकिलको कार्यालयमा मुद्दा पेश गरिने जनाएको छ ।

प्रकाशित : जेष्ठ ९, २०८१ २०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?