कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

मनाङमा लेक लागेर बिरामी भएका २ जनाको उद्धार

आश गुरुङ

लमजुङ — हिमाली जिल्ला मनाङमा लेक लागेर बिरामी भएका २ जनालाई मनाङ प्रहरीले उद्धार गरेको छ । लमजुङको दूधपोखरी गाउँपालिका १, गैरीगाउँ घर भएका अन्दाजी १९ वर्षका कोप्रसाद गुरुङ र झापाको बिर्तामोड नगरपालिका ५ घर भएका अन्दाजी ३३ वर्षीय ईन्जिनियर पदम अधिकारीलाई उद्धार गरिएको हो ।

मनाङमा लेक लागेर बिरामी भएका २ जनाको उद्धार

इलाका प्रहरी कार्यालय क्युपारबाट असई छविलाल अछामीको कमाण्डमा ५ जना र जिल्ला प्रहरी कार्यालयबाट असई राजकुमारप्रसाद यादवको कमाण्डमा ७ जनाको टोली पुगेर गुरुङलाई उद्धार गरी चामे ल्याइएको थियो ।

मनाङ प्रहरी प्रमुख डीएसपी नरेशकुमार सिंहका अनुसार जिल्ला प्रशासन कार्यालय मनाङमा मालीको काम गर्दै आएका गुरुङ चामे गाउँपालिका ५, सोतीखोला लेकमा यार्सागुम्बा टिप्न गएकोमा लेक लागेका थिए । उनलाई उद्धार गरी सोमबार मध्यरात सदरमुकाम चामे ल्याएर चामेस्थित जिल्ला अस्पतालमा उपचार गराएको र थप उपचारका लागि बेंसीसहरतर्फ पठाइएको छ ।

हाल वैकल्पिक ऊर्जा कोष काठमाडौं बानेश्वरमा काम गर्दै आएका ईन्जिनियर अधिकारी मनाङको नार्पाभूमि गाउँपालिका १ नारमा विद्युत् आयोजनाको परीक्षणको लागि आएकोमा उक्त ठाउँ नपुग्दै मेता गुम्बामा लेक लागेर बिरामी परेको अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ । लेक लागेर गम्भीर बिरामी परेको खबर प्राप्त भएपछि प्रहरी चौकी मेताबाट प्रहरी हवल्दार चेतमान गुरुङको नेतृत्वमा ४ जना प्रहरी खटिएको र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी वरिष्ठ नायव निरीक्षक उमेशकुमार श्रेष्ठको कमाण्डमा १२ जनाको टोली खटिएको थियो । थप प्रहरी वरिष्ठ नायव निरीक्षक हर्कबहादुर आलेको नेतृत्वमा ७ जना र सशस्त्र प्रहरी नायव निरीक्षक यम रानाको कमाण्डमा ५ जनाको थप टोली समेत खटिएर बिरामीलाई चामे ल्याइएको डीएसपी सिंहले बताए ।

ईन्जिनियर अधिकारीलाई थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । दुवै जनालाई सवारी साधन नपुग्ने ठाउँ सदरमुकाम चामेबाट हिँडेर १ दिनको टाढा बाटोबाट उद्धार गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : वैशाख १८, २०८१ १९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?