१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३०६

बन्दीपुरहिल आंशिक रुपमा सञ्चालन

तनहुँ — बन्दीपुरमा निर्माणाधीन ‘बन्दीपुरहिल’ आंशिक रुपमा सञ्चालनमा ल्याइएको छ । पर्यटकीय नगरी बन्दीपुरमा विगत ५ वर्षदेखि निर्माण प्रारम्भ गरिएको पर्यटन पुर्वाधारयुक्त केवलकार परियोजना (बन्दीपुरहिल) अन्तर्गतको बटम स्टेशनमा टुरिष्ट पार्क र अन्तराष्ट्रिय स्तरको अत्याधुनिक रेष्टुरेण्ट ‘ड्राईभ ईन’ सर्वसाधरणहरुको सेवाका लागि आंशिक रुपमा सञ्चालनमा ल्याइएको हो । 

बन्दीपुरहिल आंशिक रुपमा सञ्चालन

करिव ५६ रोपनी क्षेत्रफलमा फैलिएको बटम स्टेशनलाई व्यवसायिक रुपमा खुल्ला गरिएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले बताए । उनले भने, ‘वैशाख १ गतेदेखि रेष्टुरेण्ट ड्राईभ ईन र बन्दीपुरहिल बटम स्टेशनमा टुरिष्ट पार्क सञ्चालनमा ल्याइएको छ भने केवलकार आन्तरिक प्रयोजनको लागि प्रयोग गर्ने गरी मात्र संचालन भएको छ ।’

बन्दीपुरहिलको बटम स्टेशनमा पर्यटकलाई लक्षित गरी शिव मन्दिर, गणेश, ३३ देवी देवताको मुर्तिहरु, उल्लुको मुर्ति, भगवान बुद्धको मुर्ति, सुर्यनारायण भगवानको वायुयान, विशाल कैलाश पर्वत र भगवान शिवजीको प्रकट रुप, भगवान विश्वकर्माको मुर्ति साथै जंगली जनावरहरुको म्युजियम, हात्ती, गैंडा, जिराफ, जेब्रा, जरायो, बाघ लगायतका आकर्षक मुर्तिहरु, स्थानीय घर र दैनिक प्रयोग हुने सामाग्रीहरुको म्युजियम रहेको कम्पनीका ईन्जिनियर सुप्रियो मण्डलले बताए ।

कम्पनीका अनुसार ८६ करोड रुपैयाँको लागतमा टुरिष्ट पार्क निर्माण गरिएको छ । यस पार्कमा प्रवेश गर्नका लागी प्रतिव्यक्ति २ सय, मोटरसाईकल ३ सय, ट्याक्सी ५ सय, माईक्रो एक हजार, र ठुला बस एक हजार ५ सय रुपैयाँ टिकटको व्यवस्था गरिएको छ भने टिकट अनुसार कम्पनीले रेष्टुरेण्ट प्रयोजनका लागि गिफ्ट भौचर दिने जानकारी गराएको छ ।

बन्दीपुरहिल अन्तर्गत पाँचतारे होटल नवीन टावर, स्काई डाईनिङ्ग, फ्लाई डाईनिङ्ग, स्काई वार, हेल्थ क्लव, ग्राउण्ड डाईनिङ्ग, एक हजार जना क्षमताको बैङ्क्विट हल, सुभिनार सप, स्काई वाल्क, एज वाल्क, ग्लास वाक थ्रु, जिप लाईन, बन्दीपुर–सिद्धगुफा चियर लिफ्ट लगाएतका शाहसिक पर्यटकीय रिक्रियशनका पुर्वाधारहरु समेटेर बन्दीपुरहिल ब्राण्डमा परियोजना अगाडि बढाइएको भाईस प्रेसिडेण्ट किरण पोख्रेलले जानकारी गराए । यी पुर्वाधार निर्माणका लागि कम्पनीले करिव ६ अर्व २९ करोड रुपैयाँ लागत अनुमान गरेको छ यी सबै पुर्वाधार आगामि २ वर्ष भित्र निर्माण सम्पन्न भई संचालनमा ल्याउने बताइएको छ ।

प्रकाशित : वैशाख २, २०८१ १९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?