२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

विवाद मत्थर पार्न मलंगवामा सद्‍भाव र्‍याली

ओमप्रकाश ठाकुर

सर्लाही — दुई समुदायबीच उठेको विवाद मत्थर पार्न सर्लाही सदरमुकाम मलंगवामा सर्वपक्षीय सद्‍भाव र्‍याली निकालिएको छ । सर्वपक्षीय सहमतिमा प्रहरी नियन्त्रणमा रहेका ११ जना पनि रिहा भएका छन् ।

विवाद मत्थर पार्न मलंगवामा सद्‍भाव र्‍याली

धार्मिक तथा सामाजिक सहिष्णुका लागि सर्वपक्षीय सद्‍भाव र्‍याली निकालिएको हो । आइतबार र्‍याली मलंगवा नगर परिक्रमा गरी सहिद चोकमा कोणसभामा परिणत भएको छ ।

स्थानीय प्रशासनले आइतबार दिउँसो बोलाएको सर्वपक्षीय बैठकमा यस क्षेत्रका प्रदेश सांसद कौशल यादव, मलंगवाका मेयर नागेन्द्र यादव साथै १२ वटै वडाका अध्यक्षसहित दुवै विभिन्न समुदायका अगुवाहरुको उपस्थिति रहेको थियो ।

सर्वपक्षीय बैठकले जारी विवाद समाधानका लागि दुवै समुदायका अगुवाले आ–आफ्नो समुदायलाई संयमता अपनाउन पहल गर्ने, आपराधिक क्रियाकलापमा संलग्नलाई कानुनी कारबाहीका लागि सबैले सहयोग गर्ने, शुक्रबारदेखि लगातार तीन दिन भएको घटना व्यवस्थापनको सन्दर्भमा सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्ने, सोही प्रतिवेदन बमोजिम कानुनी कारबाही अगाडि बढाउने निर्णय पनि गरेको छ ।

यस्तै उच्छृंखल गतिविधिको आरोपमा पक्राउ परेका ११ जनालाई सबै पक्षको सहमतिमा छाडिएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

शुक्रबार साँझ जन्माष्टमिको मूर्ति विसर्जन गर्ने क्रममा दुई समुदायबीच झडप हुँदा मलंगवामा कर्फ्यू लगाइएको थियो । साथै स्थिति नियन्त्रणबाहिर जान थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा लगाएको छ ।

प्रकाशित : भाद्र २४, २०८० १८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?