२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०८

सगरमाथा क्षेत्रको सडक कालोपत्र गरिँदै

भानुभक्त निरौला

सोलुखुम्बु — सोलुखुम्बु सदरमुकाम सल्लेरीबाट सर्वोच्च शिखर सगरमाथा क्षेत्र जोड्ने सडक कालोपत्र गरिने भएको छ । सोलु दूधकुण्ड नगरपालिका केन्द्र सल्लेरीदेखि खुम्बु पासाङ ल्हामु गाउँपालिका जोड्ने सडक कालोपत्रका लागि ६० करोड बराबरको टेन्डर आह्वान गरिएको हो । 

सगरमाथा क्षेत्रको सडक कालोपत्र गरिँदै

निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रममा छनोट भएको उक्त परियोजनाका लागि भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको सडक डिभिजन कार्यालय हर्कपुर ओखलढुंगाले कालोपत्रका लागि टेन्डर आह्वान गरेको हो । यसअघि उक्त नगरपालिकाले सेलगुडी डाँडासम्म र त्यसपछि माप्य दूधकोसी गाउँपालिकाले कच्ची सडक निर्माण गरेको थियो ।

सल्लेरी–सिलगुडीडाँडा–काँकु–बासा–ओर्लाङघाट–जुभिङ–खरिखोला–लुक्ला चौंरीखर्क सडक खण्ड कालोपत्रका लागि मन्त्रालयले बजेट व्यवस्था गरेसँगै सगरमाथालाई पक्की बाटोले जोड्ने निश्चित भएको हो । उक्त सडक पक्की गर्नका लागि नगरपालिका र तत्कालीन संघीय सांसद हेमकुमार राईले संयुक्त रूपमा पहल गरेका थिए ।

सल्लेरीसँग खुम्बु क्षेत्रलाई जोड्न ४ वर्ष अगाडिदेखि नै कोसिस गरिए पनि अब भने ठेक्का नै खोलिएकाले बाटो कालोपत्र हुने निश्चित भएको सोलु दूधकुण्डका नगरप्रमुख नाम्गेलजाङ्बु शेर्पाले बताए ।

हाल सल्लेरी–सेलगुडी हुँदै खरिखोलाको थामडाँडासम्म ६३ किलोमिटर कच्ची सडकमा यातायात सेवा सञ्चालनमा छ । कच्ची सडकमा सञ्चालन हुने बोलेरो जस्ता यातायातका साधनहरूले विदेशी पर्यटकबाट महँगो भाडा असुल्दै आएका छन् । लुक्ला विमानस्थल मौसम बिग्रनासाथ बन्द हुँदा यही सडक मार्ग खुम्बु प्रवेशको एक मात्र विकल्प हो । फाप्लु विमानस्थल प्रयोग गरी यहाँ आउने यात्रुहरू यही सडक खण्डबाट खुम्बु पुग्छन् ।

उक्त सडक खण्डको दूधकोसी नदीमा दुई पालिकाहरू माप्य दूधकोसी र खुम्बु पासाङल्हामु गाउँपालिकाले संयुक्त लगानीमा माप्य–खुम्बु मोटरेबल मितेरी पुल निर्माण गरेकाले सडक सञ्जाल जोड्न सहज भएको हो ।

प्रकाशित : पुस ३०, २०७९ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?