कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११२

मनमोहक शुक्लाफाँटा [तस्बिरहरु]

भवानी भट्ट

कञ्चनपुर — शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भन्नेबित्तिक्कै विशाल घाँसे मैदान र त्यसमा देखिने बाह्रसिंगाको बथान धेरैले झट्ट सम्झिन्छन् । कतै काटेर तथा कतै जलाएपछि मुना पलाउँदै गरेको घाँसे मैदानमा सयौंको संख्यामा चरिरहेका बाह्रसिंगा देख्दा कसको मन लोभीदैन । यही दृश्य हेर्न पर्यटकहरु लोभिन्छन् । 

निकुञ्जको मुख्यालय रहेको मझगाउँबाट झण्डै २८ किलोमिटर जंगल सफारी गरे पनि शुक्लाफाँटा घाँसे मैदान पुगिन्छ । ५४ वर्गकिलोमिटर क्षेत्रफलमा रहेको घाँसे मैदानमा झुण्ड झुण्डमा देखिने बाह्रसिंगाको दृश्य निकै मनमोहक हुन्छ । अझ फोटो खिच्न खोज्दा पोज नै दिएजस्तो लाग्ने दृश्य झनै रमाइलो । गत वर्षको गणनाअनुसार निकुञ्जमा २३ सयभन्दा बढी बाह्रसिंगा छन् । 

घाँसे मैदानमा बाह्रसिंगा मात्रै होइन, चित्तल, बाघ लगायतका वन्यजन्तु पनि देख्न सकिन्छ । निकुञ्जमा पछिल्लो गणना अनुसार ४४ बयस्क बाघ छन् । निकुञ्जको अर्को प्रमुख आकर्षण रानी ताल हो । मिचाहा प्रजाति र भूक्षयका कारण ताल क्षेत्र साँघुरिदै गएको छ । निकुञ्ज प्रशासनले ताल सरसफाइ पनि गर्दै आएको छ । मझगाँउ प्रवेशद्वारबाट भित्र प्रवेश गरेदेखि नै वन्यजन्तु देखिन थाल्छन् ।

सफारी गर्दा दुवैतर्फ देखिने एकनासको वन र ठाउँ ठाउँमा रहेको तालहरु पर्यटकका लागि आकर्षक गन्तब्य हुन् । तालहरुमा गैंडा आहाल खेलिरहेको दृश्य पनि निकै राम्रो देसिखन्छ । गत वर्ष गरिएको गणना अनुसार यहाँ २२ वयस्क गैंडा छन् ।३ सय ५ वर्गकिलोमिटर क्षेत्रफलमा रहेको निकुञ्जको हिरापुर फाँटामा कृष्णसार संरक्षित क्षेत्र पनि रहेको छ । यहाँ २ सय बढी कृष्णसार रहेका छन् । पछिल्लो समय शुक्लाफाँटामा घुम्ने पर्यटकको संख्या बढदै गएको छ । कोरोना संक्रमणपछि आन्तरिक पर्यटकहरु ठूलो मात्रामा भित्रिने गरेका छन् । हरेक वर्ष ४/५ हजारको संख्यामा पर्यटक भित्रिने गरेको निकुञ्ज कार्यालयले जनाएको छ । 


प्रकाशित : जेष्ठ ३२, २०८१ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्