कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

कार्यालय सरुवा र ठेकेदार कम्पनीको लापरबाहीले सडक निर्माणमा ढिलाई

साढे २ किलोमिटर कालोपत्रे गर्न ९ वर्ष लाग्यो

गुल्मी — सरकारी कार्यालय सरुवा र ठेकेदार कम्पनीको लापरबाहीले गुल्मीका दुई सडक आयोजना ठेक्का सम्झौताको लामो समयसम्म पनि निर्माण सम्पन्न हुन सकेका छैनन् ।

कार्यालय सरुवा र ठेकेदार कम्पनीको लापरबाहीले सडक निर्माणमा ढिलाई

तम्घास-खाम्सेपानी-नयाँ गाउँ-नादी-सूर्यटारी सडक ठेक्का सम्झौताको ९ वर्ष र तालतुंग–रातचौर–धारा–हर्पुकोट–नयाँपोखरा–मैदान–कोटकोटेरी–नेटा सडक ठेक्काको ७ वर्षसम्म पनि सम्पन्न हुन सकेका छैनन् ।

तम्घास–खाम्सेपानी–नयाँगाउँ–नादी–सूर्यटारी सडकको सदरमुकाम तम्घास बजारदेखि सिस्नेखोलासम्मको साढे २ किलोमिटर खण्ड ठेक्का लागेको ९ वर्षमा बल्ल कालोपत्रेको काम भइरहेको छ । उक्त सडक सदरमुकाम तम्घास र मदाने गाउँपालिका जोड्ने अन्तर्गतको सडक हो । सडक कालोपत्रे गर्नका लागि २०७१ साल असार ३१ गते ठेकेदार कम्पनी लोहनी एण्ड ब्रदर्सले ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार २०७२ चैत्र ३० गतेसम्म सम्पन्न हुनुपर्नेमा पटक-पटक म्याद थप गरी अहिले कालोपत्रे भइरहेको सडक पूर्वाधार विकास कार्यालय गुल्मीका इन्जिनियर लेनिस देवले बताए ।

सडक निर्माण गर्ने सरकारी कार्यालयहरू परिवर्तन भइरहने र ठेकेदार कम्पनीले समयमा काम नगरेको कारण सडक निर्माण सम्पन्न हुन ढिलाइ भएको हो । उक्त सडक सुरुमा तम्घास सिमलटारी सडक आयोजनाले ठेक्का सम्झौता भएपनि पछि सडक डिभिजन शिवपुर कपिलवस्तु, सडक पूर्वाधार विकास कार्यालय तौलिहवा हुँदै दुई वर्षअघि मात्रै सडक पूर्वाधार विकास कार्यालय गुल्मी अन्तर्गत आएको इन्जिनियर देवले जानकारी दिए ।

ठेकेदारलाई पटक-पटकको ताकेतापछि भर्खर निर्माणको चरणमा रहेको रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले बताए ।

सुरुमा ७ करोड ५४ लाख ८२ हजार लागत इस्टिमेट गरी सम्झौता भएकोमा समयमा सम्पन्न नभएपछि थप १ करोड ३० लाख लागत बढेको इन्जिनियर देवले बताए ।

त्यस्तै, १३ किलोमिटर ग्राभेल गर्नका लागि २०७४ साउन १९ गते ठेक्का सम्झौता भएको ताल्तु-रातचौर-धारा-हर्पुकोट-नयाँ पोखरा मैदान-कोटकोटेरी-नेटा सडक पनि ७ वर्षसम्म निर्माण सम्पन्न हुन सकेको छैन । उक्त सडक पनि सुरुमा तम्घास सिमलटारी सडक आयोजनासँग ठेक्का सम्झौता भई पछि सडक डिभिजन शिवपुर कपिलवस्तु, सडक पूर्वाधार विकास कार्यालय तौलिहवा हुँदै दुई वर्षअघि मात्रै सडक पूर्वाधार विकास कार्यालय गुल्मी अन्तर्गत आएको हो ।

ठेकेदारको लापरबाही र कार्यालय परिवर्तन हुने समस्याले सडक निर्माणमा ढिलाई भएको देवको भनाइ छ । 'समयमै सपन्न नगर्नुमा ठेकेदारको लापरबाही त हो, सडक हेर्ने अफिस परिवर्तन भैरहने कारणले पनि समयमा काम गर्न समस्या भयो,' उनले भने ।

उक्त सडक २०७६ साउन १८ मा सम्पन्न हुनुपर्नेमा आगामी असारसम्मको म्याद थप भएको छ । १३ करोड ५० लाख ९७ हजार १७० रुपैयाँ लागतको उक्त सडक निर्माणको चरणमा रहको र अब ३ किलोमिटर बाँकी रहेको सडक पूर्वाधार विकास कार्यालय गुल्मीले जनाएको छ ।

प्रकाशित : असार ८, २०८१ १३:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×