कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

दूध बेचेको पैसा माग्दै विरोधमा उत्रिएका किसानमाथि प्रहरी धरपकड

६ लाख दुग्ध किसानले ७ महिनादेखिको करिब ४ अर्ब रुपैयाँ भुक्तानी पाउन बाँकी
तस्बिर : अंगद ढकाल

काठमाडौँ — बक्यौता माग्दै विरोध प्रदर्शनमा उत्रिएका दुग्ध किसानमाथि प्रहरीले धरपकड गरेको छ । मंसिरदेखिको दूधको पैसा पाउनुपर्ने मागसहित विरोध प्रदर्शनमा उत्रिएका किसानमाथि प्रहरीले धरपकड गरेको हो । 

केन्द्रीय दुग्ध उत्पादक सहकारी संघको नेतृत्वमा किसानहरूले दुग्ध विकास संस्थान (डीडीसी) घेराउ र तालाबन्दी कार्यक्रम गर्ने क्रममा प्रहरीले केहीलाई पक्राउसमेत गरेको छ । संघका सञ्चालकसमेत रहेका बालकृष्ण उप्रेतीका अनुसार करिब ५० जना किसानहरूलाई प्रहरीले पक्राउ गरेको छ । उनले भने, 'डीडीसी अगाडि हामीले आजलाई धर्ना कार्यक्रम राखेका थियौँ । हामी केही साथीहरू जम्मा हुँदै थियौँ । प्रहरीले हस्तक्षेप गरेर पक्राउ गर्‍यो ।'  पक्राउ गरेका किसानहरूलाई सोह्रखुट्टे र कालीमाटीलगायतका प्रहरी वृत्तमा राखिएको छ ।

६ लाख दुग्ध किसानले करिब ७ महिनादेखिको भुक्तानी पाएका छैनन् । डीडीसी र निजी डेरी उद्योगहरू गरी किसानहरूले ४ अर्बभन्दा बढी बक्यौता उठाउन बाँकी छ । त्यसमध्ये डीडीसीले मात्र करिब २ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । 

किसानलाई भुक्तानी दिलाउन सरकार र डेरी उद्योगीबीच पटकपटक सम्झौता भइसकेको छ । तर डेरी उद्योगीहरूले सम्झौतालाई बेवास्ता गरिरहेका छन् । गएको मंसिर २६ मा बक्यौता भुक्तान गर्ने सहमति भएको थियो, तर कार्यान्वयन नभएपछि फागुन १९ अर्को सम्झौता भयो । ०८० पुससम्मको बक्यौता चैत २१ सम्म दिइसक्नुपर्ने पछिल्लो सहमति पनि कार्यान्वयन नभएपछि किसानहरू आन्दोलनमा उत्रिएका हुन् ।


प्रकाशित : असार ५, २०८१ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्