कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

अस्ट्रेलियाद्वारा नेपालका लागि ३५ मिलियन डलर सहयोग घोषणा

अस्ट्रेलिया — अस्ट्रेलिया सरकारले नेपालको विकासमा सहयोग पुर्‍याउने उद्देश्यले आर्थिक वर्ष २०२४–०२५ का लागि ३५ मिलियन अस्ट्रेलियन डलर (करिब ३ अर्ब नेपाली रुपैयाँ) सहयोग दिने भएको छ । 

अस्ट्रेलियाद्वारा नेपालका लागि ३५ मिलियन डलर सहयोग घोषणा

अस्ट्रेलियाका ट्रेजरर जीम चाल्मरले एक साताअघि सार्वजनिक गरेको संघीय बजेटमा उक्त घोषणा गरिएको हो ।

अस्ट्रेलियाले हरेक वर्ष आफ्नो संघीय बजेटमा विकाशोन्मुख मुलुकलाई आर्थिक सहयोग दिँदै आएको छ ।

अस्ट्रेलियाले अफिसियल डेभलपमेन्ट एसिस्टेन्स (ओडिए) अन्तर्गत प्रदान गर्ने सहयोग मुख्य गरेर एसियाली मुलुकका साथै प्यासिफिक क्षेत्रका देशको विकासमा लक्षित गर्ने गरेको छ ।

अस्ट्रेलियाले नेपाललाई दिएको यसवर्षको विकास सहयोग भने गतवर्षको भन्दा एक मिलियन डलरले घटेको छ । यसका साथै दक्षिण एसियाली मुलुकलाई दिएको सहयोग रकम गतवर्षको भन्दा धेरैले कम गरेको छ ।

नेपाललाई अस्ट्रेलियाले प्रत्यक्ष सहयोग अन्तर्गत ९ दशमलव १ मिलियन डलर दिने उल्लेख गरेको छ भने ओडिए अन्तर्गत २६ दशमलव १ मिलियन डलर सहयोग गरिने जनाएको छ ।

अस्ट्रेलियाले दिने प्रत्यक्ष सहयोग अन्तर्गतको रकमलाई कम नगरे पनि विकास सहयोग अन्तर्गत दिइने सहयोग गतवर्षको भन्दा १ दशमलव १ मिलियन डलरले कम गरेको हो । अस्ट्रेलियाले हरेक वर्ष आफूले दिएको सहयोगको उचित व्यवस्थापन, सदुपयोग लगायतका विषयको अध्ययन गरेर सहयोग रकम तय गर्ने गरेको छ ।

अस्ट्रेलियाको विदेश विभागले जनाए अनुसार नेपालका लागि मुख्यरुपमा ३ क्षेत्रलाई आधार बनाएर सहयोग गरिएको छ । विभागका अनुसार स्वास्थ्य सुरक्षा, स्थायित्व तथा आर्थिक उन्नतीलाई मुख्य आधार बनाएर सहयोग दिँदै आएको हो ।

अस्ट्रेलियाले नेपालको स्वास्थ्य सुरक्षा सुधारका लागि व्यक्तिगत सुरक्षाका सामग्री (पीपीई), मेडिकल उपकरणहरू, तालिमहरू दिँदै आएको उल्लेख गरेको छ । यसका साथै महिला स्वास्थ्य लगायतका क्षेत्रमा समेत काम गर्दै आएको छ । यसैगरी नीति निर्माण तथा पक्रियामा समेत नेपाल सरकारसँग अझ दिगो स्थायित्वका लागि काम गरिरहेको बताएको छ भने दिगो आर्थिक प्रगति तथा सुधारका लागि सरकारसँग मिलेर काम गरिरहेको जनाएको छ ।

अस्ट्रेलियाले दक्षिण एसियाली मुलुकका नेपाल बाहेक बंगलादेश, पाकिस्तान लगातका देशको विकास रकममा समेत गतवर्षको तुलनामा कटौती गरेको छ भने आफ्नो छिमेकमा रहेका प्यासिफिक मुलुकको सहयोग रकममा भने तुलनात्मक रुपमा वृद्धि गरेको छ । अस्ट्रेलियाले दक्षिण एसियाली मुलुकमध्ये बंगलादेशलाई सबैभन्दा धेरै १ सय ६ मिलियन डलर सहयोगको घोषणा गरेको छ भने सबैभन्दा कम भुटानलाई ४ दशमलव ७ मिलियन दिइने जनाएको छ ।

प्रकाशित : असार ८, २०८१ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×