कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११२

भीर माहुरीको मह [तस्बिर]

डम्बरसिं राई

खोटाङ — सधैंझैँ यो वर्ष पनि भीर माहुरीको सिकार भइरहेको छ । केपिलासगढी, ऐँसेलुखर्क गाउँपालिका लगायतका स्थानीय तहका सामुदायिक वनका विभिन्न भीरहरूमा युवाहरुले भीर माहुरीको मह सिकार गरिरहेका छन् । किराती समुदायको उभौलीसँगै यहाँका किराती युवा मह सिकारमा जुटेका हुन् ।

ऐँसेलुखर्क गाउँपालिका–१ राखावाङ्देलका सामुदायिक वनहरूका विभिन्न भीरहरूमा मह सिकार गरिएको छ । राखावाङ्देलको आहाले साम्खाई सामुदायिक वन, सिरुखर्क काहुले सामुदायिक वन, लिदुङ खोला तारेभीर सामुदायिक वनका विभिन्न भीरहरूमा मह निकालिएको स्थानीय सुदीप वाङ्देलले बताए । उनका अनुसार खादिम, पयस, गोरुजुरे, ङ्यार्दो, गुराँसे, भस्मे, काहुले लगायतका विभिन्न भीरहरूमा महसिकार गरिएको हो । ‘यो उभौलीमा जेठ १३, १४, १६ र १७ गते मह काडिएयो’ उनले भने, ‘पहिलो चरणमा १३ र १४ गते मह काडियो, त्यसपछि १५ गते उभौलीको पूजाआजा गरेर फेरि १६ र १७ गते दोश्रो चरणमा मह काडियो ।’ यो वर्ष १४ पोला भीरमाहुरी सिकार गर्दा एक सय ५० लिटर मह निकालिएको वाङ्देलले सुनाए । यसबाट प्रति लिटर चार हजारका दरले ६ लाख आम्दानी भएको उनको भनाई छ । उक्त रकम मह सिकार गर्ने युवाहरूको कमाई हुने वाङ्देलले बताए ।

सामुदायिक वनले बढाबढको टेण्डरमा मह सिकारका लागि अनुमति दिने गरेको उनको भनाई छ । यो वर्ष आहाले साम्खाई सामुदायिक वनले दुई हजार र लिदुङ खोला तारेभीर सामुदायिक वनले पाँच हजार पाँच रूपैयाँमा टेण्डर पारेर मह सिकार गरिएको वाङ्देलले सुनाए । ‘यो उभौलीमा दुई वटा सामुदायिक वनले टेण्डर खुलाएको थियो, त्यसमा आहाले साम्खाई सामुदायिक वनको दुई हजार र लिदुङ खोला तारेभीर सामुदायिक वनको पाँच हजार पाँच रूपैयाँमा टेण्डर पारेर मह सिकार गरियो ।’ उक्त भीरहरूमा उपभोक्ता बाहेक अन्यले सिकार गर्न नपाइने वाङ्देलको भनाई छ । ‘टेण्डर पनि उपभोक्ताले मात्र हाल्न पाउँछ र मह सिकार पनि उपभोक्ताले मात्रै गर्न पाउँछ,’ उनले भने, ‘अरुले सिकार गर्‍यो भने जरिवाना गरिन्छ ।’ आहाले साम्खाई सामुदायिक वनमा उपभोक्ताले बाहेकले मह सिकार गरेकाले तीस हजार रूपैयाँ जरिवाना गरेको समेत उनले सुनाए ।

केपिलासगढी गाउँपालिका–७ सुङ्देलका विभिन्न सामुदायिक वनका भीरहरूमा पनि भीर माहुरीको मह सिकार गरिएको छ । देवीखर्क सामुदायिक वन, दयालुबमा सामुदायिक वन, बुङबुङे सामुदायिक वनका विभिन्न भीरहरूमा मह सिकार गरिएको स्थानीय भूपिन्द्र कोयी राईले सुनाए । उनका अनुसार झिकुखोला, गोदुखोलाको ढुरुखम, ङदपु, क्लाप्चु, रावाखोला र चेर्खेखोला आसपासका विभिन्न भीरहरूमा मह सिकार गरिएको हो । उक्त भीरहरूमा निकालिएको मह प्रति शेर १५ सयदेखि दुई हजार रूपैयाँले बिक्री गरिएको उनले सुनाए । केपिलासगढी गाउँपालिका–१ फेदीका विभिन्न सामुदायिक वनका विभिन्न भीरको मह भने यो चोटी सिकार नगरिएको स्थानीय धनकुमार राईले बताए । चोयाको डोरीबाट बनेको पर्‍याङ, सुता, छपिनी, डालो, दाबिलो, तसुरो, गादा (सेफ्टी) लगायतका सामाग्रीको सहयोगमा मह शिकार गरिन्छ ।

पर्‍याङको माध्यमबाट चढ्ने, सुताको माध्यमबाट डालो, तसुरो र दाबिलोले मह शिकार गरिन्छ । मह निकाल्नेलाई पर्‍याङे भनिन्छ भने सुताको माध्यमबाट पर्‍याङे, दाबिलो, जोतारो, डालो जस्ता सामग्रीहरू मह निकाल्ने पर्‍याङेसम्म पुर्‍याउादै अपरेटरको काम गर्नेलाई सुतारे भनिन्छ । पर्‍याङेले भीरबाट निकालेको मह छान्ने, भाँडामा खन्याउने, धुावा लगाउनेलाई सहयोगी भनिन्छ । फेदीका विभिन्न भीरहरुमा भीर माहुरी बस्छ । स्थानीय फुङ्गालुङ सामुदायिक वनको रिप्दौलाको कुहिरे छाँगाभीर, चिलिम लाहुरे सामुदायिक वनको माखाम्लास्थित भीर झर्ना, तेराहास्थित तेराभीर लगायतमा भीर माहुरी पाइन्छ ।भीर माहुरीले जडिबुटीजन्य फूलहरुबाट मह बनाउने भएकाले औषधीय गुण भएकाले मुल्य पाउँछ । भीरमाहुरी सिकारलाई पर्यटनसंग जोडेर यसको प्रबर्द्धन सुरु गरिएको केपिलासगढी गाउँपालिका अध्यक्ष समीर राईले बताए । थप यसको बृहत योजना बनाउने तयारी समेत गरिएको उनको भनाई छ ।

प्रकाशित : जेष्ठ ३१, २०८१ १९:१६
प्रतिक्रिया
पठाउनुहोस्