कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९

के ओशो र सद्गुरूहरू विद्वान् हुन् ? 

को बौद्धिक ? को होइन ? बौद्धिक इतिहासमा विधागत प्रतिस्पर्धा हुन्छ र एकले अर्कालाई नमान्ने प्रवृत्ति पनि । तर, ती सबै परम्परा स्वस्थ हुन् । 
केलाई असल र केलाई खराब भनिन्छ ? हाम्रा मानक कसरी बन्छन्/भत्किन्छन् ? देश, समाज र संस्कृति इतिहासका कुन प्रक्रियाबाट बनेका हुन् ? यी प्रश्नका उत्तर ‘तपाईं भगवान्मा विश्वास गर्नुहुन्छ कि हुन्न’ ले फरक पर्छ ।

पोहोर सालको बर्खे बिदामा हामीकहाँ तीन जना अमेरिकी युवा पाहुना लाग्न आइपुगेका थिए, दुई साताका लागि । पुँजीवादी संसारमा जब कलेजका दीक्षान्तहरू सकिन्छन्, दीक्षितहरूको जीवनबाट स्वतन्त्रता खुम्चिन्छन् । व्यावसायिक जीवनको व्यस्ततामा अल्झिनुअघि बचेखुचेको स्वतन्त्र समयमा ती नवग्य्राजुएटहरूको दक्षिणपूर्वी एसिया घुम्ने इच्छा र तिनलाई क्याम्बोडियामा आतिथ्यता प्रदान गर्ने हाम्रो रहरको संयोग ठ्याक्कै मिलेको थियो । 

के ओशो र सद्गुरूहरू विद्वान् हुन् ? 

तीमध्ये एक जना अमेरिकामै छोराको हाईस्कुलदेखिका साथी थिए भने बाँकी दुई कलेजका । जुन महिनाभरि यताका तीन–चार देश घुमेर फर्कनासाथ छोरासमेत मिलाउँदा चारमध्येका तीन जना न्युयोर्क सिटीमा काम सुरु गर्न जाँदै थिए । एक जनाले भने ‘अझै संसार घुम्ने धोको धेरै छ’ भनेर केही महिनापछि मात्रै जागिर थाल्ने सोचेका रहेछन् ।

हामीसँग बस्न आएका भए पनि उनीहरू हामीसँगै मात्र त कहाँ बस्थे र ? ग्रीष्मको एउटा शनिबारे छुट्टीको दिन झन् मेरो निद्रा सबेरै पाँच बजे मबाट बिदाबारी भएको थियो । घरमा मस्त निदाइरहेकाहरूलाई ‘डिस्टर्ब’ गर्नुभन्दा ‘बरु मेकङ् नदी किनारतिर प्रातः भ्रमणमा जानुपर्‍यो’ भनेर त्यो सुनसान प्रहरमा उठें, सुस्त चालमा ढोकाबाहिर निस्कें र लिफ्टको स्विच थिचें । तर, लिफ्टलाई भर्खरै कसैले लबीबाट बोलाएको रहेछ र त्यो माथि तलामा आउन केही समय लाग्यो । यति बिहानै पनि किन लिफ्ट व्यस्त भयो होला ? सोच्दासोच्दै लिफ्टको ढोका खुल्यो । त्यहाँ त तिनै पाहुना र छोरा रहेछन्, ‘अब सुत्नेबेला भयो’ भनेर घर फर्कंदै गरेका । अर्थात् मेरो उठ्ने बेला उनीहरूको सुत्ने बेला हुन्थ्यो ।

तैपनि कहिलेकाहीं फकाएर बाहिर डिनरमा लिएर जान्थ्यौं, ताकि उनीहरूसँग मज्जाले गफिन पाइयोस् । र, उनीहरूले पढ्ने फरक–फरक प्राज्ञिक विधामा कस्ता–कस्ता नयाँ कोर्स र सिद्धान्त आएका रहेछन् ? जान्न पाइयोस् । अनि अमेरिकी युवाहरूले ‘आर्टिफिसिएल इन्टेलिजेन्स’ देखि पुँजीवाद र डोनाल्ड ट्रम्पदेखि टेलर स्विफ्टसम्मलाई कसरी हेर्दा रहेछन् ? बुझ्न पाइयोस् । तिनीहरूमध्ये ड्यानिएल त सन् १९९६ का भौतिकशास्त्रका नोबेल विजेता डेभिड लीका नाति रहेछन् । भौतिकशास्त्री नोबेल लरेटको घरको डाइनिङ टेबलमा कस्ता कुरा हुँदा रहेछन् ? प्रसिद्ध वैज्ञानिक र प्राध्यापकमध्ये उनको घरमा हजुरबुबाका साथीका रूपमा को–को आउँदा रहेछन् ? उनीहरूले गफ गर्ने विषय कस्ता हुँदारहेछन् ? ड्यानिएलले सुनाउने किस्सा स्वादिला थिए ।

तर, यो आलेखको मूल प्रस्तावनामा प्रवेश गर्न गएसालको ग्रीष्मको यतिथरी पृष्ठभूमि बखान गर्नुको कारण चाहिँ तीनमध्येका ड्यानिएल नभई ल्यारी भन्ने अर्का पात्र हुन् । उनीहरूको फर्कने दिन नजिकिँदै थियो । एक साँझ घरमा खाना खाने तयारी भइराख्दा ल्यारी र म यसैयसै एउटा ‘डिप कन्भर्सेसन’ मा छिरेछौं । उनले आफूलाई ठूला सहर, अझ न्युयोर्क नै किन अति मनपर्छ भनेर सुनाउन थाले । मैले साँच्चै उत्सुक भएर सोधें, ‘कहिल्यै ननिदाउने, जहिल्यै दौडिएको दौडियै गर्ने, त्यो भवसागर न्युयोर्क सिटी तिमीलाई किन त्यति साह्रो मनपरेको ?’

जवाफमा ल्यारीले फ्याट्टै भने, ‘किनकि म त्यहाँ स्वतन्त्र हुन पाउँछु । किनभने त्यहाँ म को हुँ भन्नेसँग कसैलाई मतलब हुँदैन । न्युयोर्कका गगनचुम्बी घरहरूबीच सडकको भीडमा म निस्फिक्री ‘आफू’ हुन पाउँछु । म हराउन पाउँछु । अरूले मलाई चिन्लान् र मेरोबारे के सोच्लान्, त्यो चिन्ता गर्नुपर्दैन । साना सहरमा, झन् त्यसमा पनि गाउँमा यो सम्भव हुँदैन ।’

हुन त केही वर्षदेखि म काठमाडौंमा छैन, तर पनि मलाई बेलाबेला काठमाडौं ल्यारीले भनेको अर्थको गाउँ जस्तो लाग्छ । अन्यत्रका ठूला सहरजस्तो काठमाडौं झकिझकाउ छैन भन्ने अर्थमा होइन । कुन अर्थमा भने, काठमाडौंमा सार्वजनिक वृत्तका विमर्शमा सहभागी हुनेमध्ये धेरैले एकअर्कालाई धेरथोर व्यक्तिगत रूपमै चिन्दछन् । बौद्धिक–सांस्कृतिक–साहित्यिक डिस्कोर्स र सिर्जनामा संलग्नमध्ये धेरैले धेरैको ‘तीनपुस्ते’ जान्दछन् । पहिले जानेका छैनन् भने पनि एउटाले केही नयाँ चीज लिएर आयो भने मान्छे सुरुमै उसको हजुरबुबाको नाम सोध्न थाल्छन् । यो सबै नराम्रो त नहोला । तर, हाम्रा बौद्धिक–सांस्कृतिक विमर्शका वृत्तहरू जति खुला, फराकिला र निर्मोही हुन सक्थे, यसले गर्दा ती वृत्त त्यस्तो हुन पाएका छैनन् । कुनै विषयमा आफूलाई लागिरहेको विचार खुलस्त पोख्न मन लाग्यो भने घरी आँखामा फ्याट्ट चिनेका एक ‘विद्वान्’ आइपुग्छन् र उनी रिसाउने हुन् कि भन्ने लाग्छ । अर्को विषयमा अर्कोथरी विमर्श गर्दा अर्को कोही ‘प्रिय’ मान्छेले के सोच्ला भन्ने संकोच मनमा पलाउँछ । त्यसैले कहिलेकाहीं लाग्छ, बरु गुप्तबास बसेर लेखकीय कर्म गर्न पाए लेखनी बढी स्वच्छन्द हुने थियो कि ! भोलि कसैसँग नाटकघर र पुस्तक पसलमा भेट्दा कसले आफूलाई के भन्ने होला भन्ने पर्वाह नगरी लेख्न पाए कत्ति मज्जा हुन्थ्यो !

यहाँसम्म आइपुग्दा कतिपय पाठकले ‘किन यति साह्रो ‘एपोलोजेटिक’ हुनुपरेको ?’ सोच्नुभएको हुन सक्छ । हेर्नोस् न, नहुनु पनि कसरी ? किनकि मैले लेख्न लागेको छु कि– उनीहरूका बाँकी योग्यता र योगदानहरू जस्तासुकै हुन्, यदि कोही मानिसले (उदाहरणका लागि) रजनीश वा ओशो ‘मन पराउँछन्’ भने तिनीहरूलाई विद्वान् भन्न कसरी मिल्यो ? त्यति मात्रै होइन, आज मैले उठाउन खोजेको मूल दार्शनिक विमर्श के हो भने– यदि कोही मानिस एकैचोटि भगवान्मा पनि विश्वास गर्ने र विद्वान् पनि हुने कुरा मिल्छ कि मिल्दैन ?

केही समयदेखि यो विषय उठाउन मन लागिराख्नुका पछाडि कारण छन् । ती के हुन् भने, नेपालमा हुने बौद्धिक विमर्शहरू धेरै जीविकावादी प्रकृतिका छन्, स्वच्छन्द स्वभावका छैनन् । यो जीविकावादी ‘स्पेस’ को ठूलो कित्ताको रुचि सूचना र तथ्यहरूमा हुन्छ, जो पेसागत जीवनमा उपयोगी हुन्छन् । त्यसभन्दा धेरै पर गएर सोच्ने–रमाउने उनीहरूको मानसिक ‘फ्रेमवर्क’ नै हुँदैन । ‘तथ्य’ भन्नेबित्तिकै त्यसमा यस्तो बौद्धिक वर्गको यति धेरै रुचि हुन्छ कि ‘राणाहरूका दरबारमा त्यतिबेला के खान्थे ?’ भनेर लेखेको विषयमा उनीहरूको प्रगाढ ‘बौद्धिक’ उत्सुकता हुन्छ । कुनै शासकीय पदमा पुगेको मानिसले आफ्ना फाँइफुर्ती भरेका अप्रमाणित दाबीहरूलाई ‘किताबमा लेखिएको छ नि’ भनेर ‘तथ्य’ मानेर पत्याउनेमा हुन्छ । माइतीघरमा आन्दोलन चलिरहेका बेला र हजारौं युवाले विदेश जाने ‘वर्क पर्मिट’ को लाइन पर्खिरहेका बेला बबरमहलको ग्यालरीमा हुने ‘आब्स्ट्र्याक्ट’ कला प्रदर्शनीको के अर्थ ? भन्ने गद्य रुझान भएका ‘विद्वान्’ सहरमा धेरै छन् । मलाई हाम्रा बौद्धिक अन्तर्क्रिया योभन्दा बढी ‘भाइर्ब्यान्ट’ र फराकिला हुन सक्छन् र हुनुपर्छ भन्ने लाग्छ । र, प्रायः सबैले सबैलाई चिन्ने, सबै सबैका दाइ–दिदी, भाइ–बहिनी जस्तो भएको सहरमा कतिपय मानिसलाई कसैले कहिल्यै चुनौती नदिएको कारणले उनीहरूले आफ्ना मान्यतामाथि प्रश्नै नगरी काम चलाउने गरेका पनि हुन सक्छन् । त्यसैले यस विषयमा विनम्र भएर बस्ने छनोट हुँदाहुँदै लेखौं नै भन्ने लागेको हो ।

सुरु गरौं, भगवान्को विषय किन महत्त्वपूर्ण छ ? भन्ने प्रश्नबाट । कसैले भगवान्मा विश्वास गर्छ कि गर्दैन भन्ने अवस्थाले सम्बन्धित व्यक्तिका प्रायः सबै विश्वदृष्टिलाई आकार भरेको हुन्छ । जीवन भनेको के होला र के होइन होला ? असल–खराब भन्ने अवधारणा कसरी बन्छन् ? भत्कन्छन् ? देश–समाज इतिहासका कुन प्रक्रियाबाट बनेका हुन् ? सामाजिक न्यायको मान्यताहरूका स्रोत के–के हुन सक्छन् ? किन संसारमा असमानता छ ? पृथ्वीमा मानिस स्वतन्त्र छ कि छैन ? ऊसँग ‘फ्री विल’ हुन्छ कि हुँदैन ? उसको आफ्नो व्यक्तित्वको कर्ता वा ‘एजेन्सी’ को अर्थमा के सीमा छन् ? यस्ता अहम् प्रश्नका उत्तर तपार्ईं भगवान्मा विश्वास गर्नु हुन्छ कि हुँदैन भन्नेले फरक पारेका हुन्छन् ।

विषय अगाडि बढाउनुअघि भगवान्कै अर्थबारे सानो प्रस्ट्याइँ राखौं । यहाँ भगवान् भनेर अहिले संसारमा प्रचलित प्रमुख धर्म र तिनका ग्रन्थमा आधारित राम–कृष्ण, अल्लाह–मोहम्मद र क्राइस्ट जस्ता भगवान्लाई भन्न खोजिएको हो । तर, यो ब्रह्माण्ड नै कसरी उत्पत्ति भएको थियो होला ? वा यसको उत्पत्ति नै छ कि छैन ? ‘बिग ब्याङ्’ घटेको थियो भने त्योभन्दा पहिले के थियो ? यो जगत् जसरी चलेको छ, त्यसलाई चलाउने केही होला कि यो आफैं चल्ने होला ? यी विषयमाथि सोच्दा जुन ‘अथाह’ वा ‘अबोधगम्य’ मा पुगिन्छ, त्यो सबै जनाउने शब्दको सजिलोका लागि कसैले ‘भगवान्’ भन्न चाहन्छ भने त्यस अवधारणामा कुनै दार्शनिक समस्या छैन ।

अब हेरौं, भगवान् मान्ने मानिसलाई विद्वान् मान्न किन तार्किक रूपमा अप्ठ्यारो छ ? संसारमा अहिले जति पनि ठूला धर्म र तिनका ‘भगवान्’ हरू छन्, ती सबै ‘बनेको’ यही विगतको एक–दुई हजार वर्षदेखि पाँच–सात हजार वर्षको बीचमा हो । जबकि मानिसले भाषा बोल्न थालेकै सत्तरी हजार वर्षजति भयो । यी कुनै पनि भगवान्हरू ‘अस्तित्व’ मा नआउँदै मानिसका सभ्यताले विभिन्न चरणहरू पार गरिसकेका थिए । दस हजार वर्षअघि नै कृषिकर्म थालेर संसारका विभिन्न ठाउँका मानिस एकै ठाउँमा बस्ने प्रक्रिया सुरु भएको थियो । परिवारका संस्था, नातापाता बन्न सुरु भइसकेका थिए । अहिले चलेका जति पनि भगवान्हरू छन्, ती सम्बन्धित भूगोलका त्यतिबेलाका सबैभन्दा ज्ञानी व्यक्तिहरूले सिर्जना गरेका अवधारणा थिए । मानिस जब संसार र आफ्नैबारे जिज्ञासु हुँदै गयो, त्यतिबेला उपलब्ध ज्ञान र समाज अनुशासित बनाउन चाहिने नियमलाई विशिष्ट क्षमता भएका पात्रका मिथकीय कथामार्फत बढाउँदै–तन्काउँदै लगियो ।

यी सबैका आधारमा टार्नै नसकिने प्रश्न के हुन्छ भने– यदि कोही व्यक्तिले निकट विगतका केही हजार वर्षमा मान्छेद्वारा कल्पिएका यिनै कथाका भगवान्हरूलाई नै साँच्चैका भगवान् मान्छ भने उसको मानव इतिहास र सभ्यताप्रतिको बुझाइलाई कसरी हेर्ने ? यदि कोही व्यक्तिको जीवनका यी आधारभूत प्रश्नको बुझाइ नै त्यस्तो छ भने उसका अरू दृष्टिकोणहरू कस्ता होलान् भनेर बुझ्ने ? अहिलेसम्म सभ्यतामा जति पनि ज्ञान जम्मा भएको छ मानिससँग, त्यसबाट के स्थापित भएको छ भने यो ब्रह्माण्ड यति अथाह छ कि त्यसलाई मानिससँग उपलब्ध दिमागले बुझेको कति ‘थोरै’ हो भन्ने त्यो नै थाहा छैन । जसरी हामीसँगको सुन्ने उपकरण कानले निश्चित दूरीको आवाज मात्रै सुन्छ, आँखाले निश्चित दूरीसम्म मात्रै देख्छ, त्यसरी नै हामीसँग भएको बुझ्ने संज्ञानात्मक ‘फ्याकल्टी’ ले पनि यति थोरै कुरा मात्र बुझ्न सक्छ कि जति उसलाई जन्मेर, बाँचेर, मर्नका लागि पर्याप्त छ । र, यी अहिलेसम्म बनेका–बनाइएका भगवान्हरूले ब्रह्माण्डबारे त्यति मात्रै जानेका देखिन्छन्, जति तत् समयमा मानिसले जानेको थियो । अब ती पुराना भगवान्हरूको समस्या के भइदियो भने विगतका दुई–चार शताब्दीहरूमा तिनीहरूले भन्दा तिनै विषयमा धेरै जान्ने मान्छेहरू नै यो संसारमा हजारौं भइसके । अनि विचरा ती पात्रलाई भगवान् पनि भन्ने, तर मानिस स्वयम्भन्दा अज्ञानी चित्रण गर्ने कुरा ‘भगवान्’ माथि आस्था राख्नेकै लागि पनि राम्रो भयो त ?

भगवान्मा विश्वास गर्नेहरूको तसर्थ समस्या के भयो भने यिनीहरूले चार–पाँच हजार वर्षभन्दा अगाडिको मानव–इतिहासलाई के भनेर हेर्छन् ? त्यो नै थाहा नहुने भयो । मान्छेले अहिले चलनमा रहेका भगवान्हरू स्थापित नगरुन्जेल संसार कसरी चलेको थियो भन्ने उनीहरूको दृष्टिकोण प्रथम दृष्टिमै सन्देहमा पर्ने भयो । त्यो जीवनजगत्लाई तार्किक ढंगबाट हेर्ने क्षमतामाथि नै प्रश्न हुन्छ, उसलाई कुन हदसम्म विद्वान् मान्न मिल्यो त ?

कतिपय आफूले पनि ‘मानेका’ अग्रजहरू छन्, कतिपय साथीसँगी छन्, जसका जीवनका अन्य दृष्टिकोणहरू ठिकैठिकै लागेका हुन्छन्, मन पनि परेका हुन्छन् । तर, कोही आफन्त वा श्रद्धा गरेको मान्छेको मृत्यु भयो भने तिनैमध्ये एकले मरिसकेका मान्छेलाई नै ठाडै सम्बोधन गरेर लेख्छन्, ‘तपाईंको आत्माले शान्ति पाओस् । तपार्इंसँग यस्तो गर्ने धोको थियो । तपाईं यस्तो हुनुहुन्थ्यो, उस्तो हुनुहुन्थ्यो...।’

झट्ट हेर्दा त ‘यसमा निहुँ खोज्नुपर्ने के छ र ?’ भन्ने लाग्न सक्छ । तर, म भने यस्तो लेख्ने मान्छेको जीवनदृष्टि के होला ? भन्ने प्रश्न गरिहाल्छु । पहिलो त त्यस्तो लेख्ने मान्छेले आत्मा छ कि छैन होला भनेर रोकिएर सोच्दैनन् । तिनले ‘आत्मा छ’ भनेर ठोकेरै बुझ्छन् भन्ने प्रस्ट हुन्छ । अनि तिनीहरू मरिसकेको व्यक्तिले (आत्माले) सुन्छन् भन्ने विश्वास गरेर बसेका रहेछन् भन्ने पनि प्रस्ट हुन्छ । आत्मा होला कि नहोला ? अथवा केलाई आत्मा भन्ने होला ? मान्छे मरिसकेपछि के होला ? भनेर जति पनि घोत्लिन पाइयो । प्रश्न गर्न त झन् पाइयो । तर, जब कसैले बिनाप्रश्न, कहिल्यै कसैले देख्दै नदेखेको, कतै कसैगरी पनि प्रमाणित नै नभएको अवधारणालाई ‘साँच्चै छ जस्तो’ गरी विश्वास गर्छ, उसले अरू गहन विषयमा पनि कति ‘र्‍यास्नल’ भएर सोच्दो होला ? भन्ने प्रश्न नगरी उसलाई छुट दिन मिल्छ जस्तो लाग्दैन । आफूले त होइन होइन, अरू कसैले पनि कहिल्यै देख्दै नदेखेको, तर कल्पना गरेको भरमा बताएको विषयलाई सत्य ठान्ने मान्छेहरूले के–के मात्रै नपत्याउने होलान् भनेर प्रश्न गर्ने कि नगर्ने ?

भगवान्को अवधारणामाथि यसरी चर्चा गर्नुको अर्थ सभ्यताका विभिन्न चरणमा धार्मिक ग्रन्थहरूका नाममा समेटिएका ज्ञान–संज्ञानलाई महत्व नदिनु होइन । रमाइला भगवान् पात्रहरू सिर्जना गरिएर बताइएका ती कथामार्फत तत्कालका ज्ञानी व्यक्तिहरूले दर्शनका विभिन्न पक्षमा घोत्लिँदै जीवन र जगत्का प्रश्नहरूमा विमर्श गरेका छन् । हिन्दु सभ्यताकै उदाहरण लिनुपर्दा महाभारत कथाको अंश बनाएर गरिएका गीताका प्रश्न र कतिपय जवाफहरू अहिले पनि रोचक छन्, गहन छन् । हो, प्रश्न जब सबैभन्दा पेचिलो विन्दुमा पुग्छ र गीताका रचयिताको ‘कोग्निटिभ’ सीमा नाघ्छ, त्यसपछि कृष्ण पात्रमार्फत भनिन्छ, ‘त्यो बाँकी मलाई छाडिदेऊ ।’ ‘भगवान्’ को प्रश्न नै त्यही कृष्णले आफूलाई छाडिदिन भनेको ठाउँबाट सुरु हुन्छ । प्रश्न हुन सक्थ्यो, ‘किन छाड्ने प्रभु तपाईंलाई ? के तपाईंलाई पनि थाहा छैन यसभन्दा पर वा तपाईंलाई कसले, कहिले र किन बनाएको हो भन्ने ? त्यसैले तपाईंले त्यो सब मलाई ‘छाडिदेऊ’ भन्नुभएको त हैन ?’

मानिसले नै बनाएका भगवान्लाई सबै कुरा छाडिदिनु भनेको आफूले सोच्ने दुःख गर्दिन भन्नु हो । आफैं सोच्न र प्रश्न गर्न सक्ने मानिसको आफ्नो ‘एजेन्सी’ नस्वीकार्नु र नचिन्नु हो । त्यसैले जब कोही मान्छेले आफैंले सक्ने जति पनि स्वतन्त्र रूपमा सोच्ने दुःख गर्दैन, उसका समाज–विज्ञानका दृष्टिकोणलाई कति महत्त्व दिनु भन्ने प्रश्न महत्त्वपूर्ण हो ।

अब प्रसंगलाई केही हलुका बनाउँ र लेख सक्नुअघिका दुई–चार अनुच्छेद जग्गी बासुदेव नामका अध्यात्म व्यवसायी सद्गुरु र ओशो अनुयायीलाई समर्पित गरौं । यी दुईलाई उदाहरण बनाएर चर्चा गर्नुपर्नाको कारण पनि भगवान् मान्नेलाई विद्वान् कसरी मान्ने भन्ने जस्तै हो । किनकि ‘अन्य’ हिसाबमा आफूले पनि ‘विद्वान्’ नै हुन् कि भनेर ‘मानेका’ केही व्यक्तिहरू छन्, जुन यस्ता ‘महात्मा’ प्रति मुग्ध छन् । जब त्यस्तो देख्छु, तब तुरुन्त मेरो मनमा प्रश्न आउँछ, अब यिनका अरू विद्वतालाई कसरी लिने ? यस्ता व्यक्तिलाई ‘गुरु’ मान्नेहरूले बुझेका र बताएका अरू विषयलाई कसरी ग्रहण गर्ने ?

आफूभन्दा अघि अरू धेरैले सिर्जना गरेको ज्ञानमा टेकेर, त्यो पूर्वज्ञानप्रति कृतज्ञ हँ‘ुदै आफ्नो सिर्जना वा विवेचना अघि बढाउने व्यक्तिलाई साधारणतया विद्वान् मानिन्छ । तर, सयौं–हजारौं–दसकौं वर्षदेखि धेरै विद्वान्, ज्ञानी र सिर्जनशील व्यक्तिले भनेर–गरेर गइसकेका सिर्जना र विचारलाई आफ्नै मौलिक जस्तो दाबी गरेर र ठाउँठाउँमा उल्टोपाल्टो पारेर अध्यात्मका व्यवसाय चलाउने व्यक्तिलाई अहिले धेरैले सद्गुरु भनेर मान्छन् । नेपालका मार्क्सवादीदेखि माओवादीसम्म धेरैले ‘सद्गुरु, सद्गुरु’ भन्न थालेपछि मैले के रहेछन् त यिनका ज्ञान भनेर दुई–चार वटा भिडियो हेरें । ‘र्‍यान्डम’ हिसाबमा हेरेका पहिलोबाट दोस्रो र तेस्रो भिडियोमा नपुग्दै सजिलै बुझियो कि यिनी ‘फेक’ छन् । हो यिनले जानेका विषय धेरै छन्, तर त्यो कुन किताब पढेर जानेका हुन् ? नभनीकन सबै आफैंले आँखा चिम्लिँदा थाहा पाएको भन्दा रहेछन् । आफूले जति जानेको छु त्यो कतै पढेर जानेको होइन भन्दा रहेछन् जबकि यिनले कसको कहाँ के पढेर अहिले गफ लगाइरहेका हुन् भन्ने ती मौलिक कृति पढ्ने सबैले बुझिहाल्छन् । त्यसमाथि आफैंले मैले ‘एनलाइटेन्मेन्ट’ प्राप्त गरेको छु भनेर गफ लगाउन सक्ने मान्छेले भनेका अरू धेरै कुरा कसरी पत्याउने ? मिथकीय भगवान् शिव र प्रामाणिक रूपमा पृथ्वीमा जन्मेका (सिद्धार्थ) गौतम बुद्धलाई तुलना गरेर यो–यो हिसाबमा फलानो ठूलो र फलानो सानो भन्ने व्यक्तिका जीवनसम्बन्धी अन्य विचार पढेर–सुनेर तपाईंको जीवन बढी सुन्दर हुन्छ कि हुँदैन ? त्यति पनि नछुट्ट्याउने यिनका प्रशंसकहरूको राजनीतिक र सामाजिक दृष्टिकोणलाई हामीले कसरी मूल्यांकन गर्ने ?

सद्गुरु त पछिल्ला केही वर्षका ‘फेनोमेना’ भए, तर आफू ओशो रजनीशको अनुयायी नभए पनि प्रशंसक हुँ भन्ने ‘विद्वान्’ र लेखकहरू काठमाडौंमै बग्रेल्ती छन् । मान्छेहरू आध्यात्मिक खोजीमा तल्लीन होऊन्, त्यो सायद राम्रै कुरा हो । ओशोको होस् कि अरू कसैको, व्यक्तिगत जीविकाको समस्या छैन भने ध्यान शिविरमा गएर दिन बिताऊन्, महिना बिताऊन्, यो आफ्नो छनोटको विषय हो । तर, दार्शनिक दृष्टिकोणबाट हेर्दा जब ओशोका भनाइहरूलाई मूल्यांकन गर्नुपर्ने हुन्छ, तब भने समस्या भइहाल्छ ।

आफ्नै समयको एउटा कथा भनौं । सन् १९९० को दशकमा काठमाडौंमा आफूलाई पढेलेखेको सम्झने जोकोहीलाई ओशो नपढ्नु–नसुन्नु असम्भव जस्तै थियो । कथा भन्ने उनको शैली सुन्दर लाग्थ्यो । कथामार्फत दिने सन्देश पनि घतलाग्दा नै हुन्थे । आफैंले पढ्न नपाएका कतिपय ऐतिहासिक पुस्तक, पात्र र दर्शनका प्रसंगमा उनका किताब पढेका आधारमा साथिभाइसँग गफ पनि गरियो । तर, वर्ष बित्दै जाँदा जब (उदाहरणका लागि) फ्रेडरिक नित्सेदेखि फ्योदर दोस्तोभ्स्की होस् कि अल्बेअर कामुदेखि जा–पल सात्रका मौलिक कृति आफैं पढ्न भ्याइयो, त्यसपछि थाहा हुँदै गयो ओशोले मौलिक कथाहरूमाथि कति मनपरी ‘इन्टरप्रेट’ गरेका रहेछन् भन्ने । त्यसमाथि कतिपय कथाहरू, जुन उनले कसैलाई उद्धृत नगरीकनै आफ्नै जस्तो बनाएर भनेका छन्, ती अरू कसैका रहेछन् । अरूका किताबका चर्चा त जति पनि गर्न पाइयो । प्राज्ञिक कर्म र ज्ञान उत्पादन त प्रायः अरू कसैले पहिल्यै दिइसकेको स्रोतमा टेकेर नै अगाडि बढ्ने हो । तर, मैले जब अरूका कुरालाई कहिल्यै हुबहु र कहिले उल्टोपाल्टो पारेर आफ्नै मौलिक कथाजस्ता बनाएर बताउन थाल्छु, त्यो झुक्याउने काम हो । प्रसंग त कति छन् कति, तर दोस्तोब्स्कीको ‘द ब्रदर्श कारामाजोभ’ मा ‘द र्ग्यान्ड इन्क्विजिटर’ को कथा र नित्सेको ‘दस स्पेक जराथुस्ट्र’ बारे रजनीशले भनेको आधारमा म आफैंले कति साथीलाई ती कथा सुनाएको थिएँ । अहिले ती साथीहरू त कता छन् ? तिनले थाहा पाएका छन् कि छैन ? थाहा छैन, तर मलाई भने आत्मग्लानि अझै पनि हुन्छ उनलाई पत्याएकोमा ।

को बौद्धिक हो ? को होइन ? वा कसलाई विद्वान् मान्ने ? कसलाई नमान्ने ? यस्तो बहस इतिहासमा विधागत रूपमा धेरै पहिलेदेखिको हो । बौद्धिक इतिहासमा विधागत प्रतिस्पर्धा पनि हुन्छन् र एकले अर्कालाई नमान्ने प्रवृत्ति पनि । तर, मेरो विचारमा ती सबै परम्पराहरू स्वस्थ नै हुन् ।

कहिलेकाहीं कसैले सार्वजनिक चुनौती दिएन भने हामीहरूमध्ये जोकोही पनि आफ्ना पूर्वाग्रही (अ) ज्ञानलाई अन्तिम ‘सत्य’ हो भन्ने बुझेर बसेका हुन्छौं । तर, जब यो ब्रह्माण्डको ‘उत्पत्ति’ र सञ्चालन अनि मानिसको जीवन र जगत् के हो ? के होइन ? भन्ने विमर्श हुन्छ, केही सोच्नुपर्छ । यी विषयमा दुई–चार हजार वर्ष पहिलेका कथामा जे भनिएको थियो, त्यसबाट सिक्ने त कति छ कति, तर त्यसलाई प्रश्न गर्न नै खुला नहुनेहरूलाई विद्वान् भन्न मिल्छ कि मिल्दैन ? यो प्रश्न महत्त्वपूर्ण हुन्छ । त्यस्तै, एउटा कुनै सिद्धान्तकार होस् वा दार्शनिक, एक जना कसैले आफूलाई चाहिने जति ज्ञान बताइसकेर गएको छ भनेर मान्नु बौद्धिक कर्म होइन । जब कोही व्यक्तिले आफ्नो स्वतन्त्र सोच्ने ‘एजेन्सी’ नै नचिनेर,

आफ्ना लागि अरू कसैले सोचिदिइसकेको भनेर बसेका हुन्छन्, तिनलाई विद्वान् त कसरी भन्ने खोइ ?

प्रकाशित : असार ८, २०८१ ११:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×