कमल तालमा घट्यो पानीको सतह
रुकुम पूर्व — सिस्ने गाउँपालिका–५ टाकुराका ६९ वर्षीय ऋषिराम उपाध्यायलाई आँखैअघि कमल ताल सुक्दै गएको देखेर दुःख मात्रै लागेको छैन, अचम्म मानेका छन् । डम्म भरिएको तालमा लहलह कमलका बोटले सुन्दर देखिने यो तालमा वर्षेनि जलस्तर घट्दै गएको हो । करिब १.९५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको जिल्ला सदरमुकामस्थित यो ताल एक महत्वपूर्ण पर्यटकीय सम्पदा हो ।
पानीको मात्रा घट्दै गएपछि तालमा पलाउँदै गरेका कमलका विरुवा पनि सुक्न थालेका छन् । ‘तालमा पानी त हरेक वर्षमा घट्दै गएको छ । यसरी कम भएको पहिले देखिएको थिएन,’ उपाध्यायले भने । मध्यपहाडी लोकमार्ग छेवैमा रहेको यो ताल धार्मिक आस्थाका हिसाबले पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । तालको छेउमा बाराह जी र नाग–नागिनको मन्दिर समेत स्थापना गरिएको छ ।‘यस स्थलमा परापूर्वकालमा कुटम्बरी माताले विष्णु भगवानलाई शरण दिएको भन्ने हाम्रो विश्वास छ । साथै नाग–नागिन देवताको थलोका रुपमा समेत पनि हामी कमल ताललाई पूजा गर्छौं,’ स्थानीय मदन शाहले भने ।
उत्तर पूर्वतर्फ जंगल, दक्षिण पश्चिमतिर मानव बस्तीका बीचमा रहेको यो ताल केही वर्षअघि अहिलेजस्तो घेरबार गरिएको थिएन । त्यतिबेला यो तालमा गाउँभरीका मानिस र चौपायाका लागि खानेपानीको पूर्ती गर्ने गरेको स्थानीय कृष्णादेवी थापा सम्झिन्छिन् । ‘यो ताल त यस्तो कहाा थियो र, हामीले थाहा पाउने बेलामै दह भरिलो र रसिलो देखिन्थ्यो,’ उनले भनिन्, ‘यो बेला त कमल फुल्न सुरु भइहाल्थ्यो । अहिले त न पानी छ, न कमल ।’बर्षायाम सुरु भएसँगै वरिपरि कमलका विरुवाले हरियो देखिने तालमा यो वर्ष कमलका बोटनै कम पलाएको थापाले बताइन् । ‘कमलका बोटले पानी नै देखिन्थेन, झपक्क पलाएका कमलका फुल हेरेर हामी मख्ख पर्थ्यौ । तर पहिलोजस्तो हुन छोड्यो,’ उनले थपिन् ।
प्रत्यक्ष देखिनेगरी पानीको मुहान नभएको यो तालका लागि वर्षायाममा चारैतिरबाट बगेर आउने पानी नै यसको मूल स्रोतका रुपमा रहेको विश्वास छ । केही वर्षयता वरिपरि बढेका मानवीय गतिविधि तथा जथाभावी बनाइएका भौतिक संरचनाले गर्दा नै तालमा पानी घटेको डिभिजन वन कार्यालय प्रमुख जितेन्द्र खड्काले बताउँछन् ।‘जलाधार क्षेत्रको वरिपरी भौतिक संरचना बन्नु, तालको वरिपरि फट ट्रेल विकास हुनु र बर्खाको समयमा पानीमा मिसिएर लेदो समेत पनि तालमा आउँदाखेरी यो अवस्था आएको हो,’ उनले भने, ‘यो साल यसको असर अलि बढी नै देखिएको छ । लामो सुख्खायाम भएर पनि यस्तो अवस्था आएको हुनसक्छ ।’यसका लागि स्रोत पहिचान गरेर तालमा पानी राख्नु नै उत्तम विकल्प भएको प्रमुख खड्काको भनाई छ । तालमा पानीको मात्रा घट्दै गएपछि बाहिरबाट पानी ल्याएर राख्न पहल थालेको सिस्ने गाउँपालिका उपाध्यक्ष गोपाल रेउलेले बताए । ‘पानी नै घटेपछि ताल नै रहदैन, यसकारण यसको बिकल्प खोज्ने प्रयास थालिएको छ,’ उनले भने ।
सिँचाइ सव–डिभिजन कार्यालय प्रमुख मदन प्रसाद साहले आफ्नो कार्यालयका तर्फबाट अघिल्लो र चालु आर्थिक वर्षमा गरी कुल ४० लाख लगातमा सिस्ने–५ कै घंगारुचौरबाट १ सय ५० एमएमको पाईपमा पानी ल्याउने काम अन्तिम चरणमा पुगेको जनाए । ‘हामीले हाम्रो तर्फबाट सबै काम सकेर गत माघमा पानी पनि तालसम्म झारिसकेको हो । तर मुहानस्थलका बासिन्दाको अवरोधका कारण यसले निरन्तरता पाउन सकेन,’ उनले भने, ‘हाम्रो तर्फबाट सबै काम लगभग सकिएको छ । त्यहााबाट पानी दिनेबित्तिकै तालमा पानी जम्मा हुन सुरु हन्छ ।’यो योजनालाई निरन्तरता दिनका लागि स्थानीय सरकारका तर्फबाट सरोकारवालासँग छलफल र समन्वयको काम अघि बढाएको बताउँदै उपाध्यक्ष रेउलेले चाँडै नै यसले पूर्णता पाउने विश्वास गरे । ‘यो नै हाम्रा लागि सबैभन्दा उपयुक्त विकल्प भएकाले यसलाई सफल र प्रभावकारी बनाउनु जरुरी छ,’ उनले थपे, ‘मुहानस्थलका बासिन्दाको माग र हाम्रो अवश्यकता दुबै कुराको मिलनबिन्दुबाट अघि बढ्ने गरी प्रयास थालिएको छ ।’रुकुम पूर्वको चिनारी र पहिचानका रुपमा रहेको कमल दहको संरक्षण गर्नु सबैको दायित्व भएकाले यसमा सरकार र सरोकारवालाको पहल जरुरी भएको स्थानीयको भनाइ छ ।