कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११२

गुठीचौरको पाटन उक्लिए गोठाला [फोटोफिचर]

डीबी बुढा

जुम्ला — गर्मी बढेसँगै जुम्लास्थित गुठीचौर गाउॅपालिका २ गुठीचौर पाटनमा गोठालाहरु उक्लिएका छन् । उनीहरु भेँडाबाख्रा, गाईभैंसी, घोडाखच्चड लगायतका पशुवस्तुहरु लिएर गुठीचौर पाटनमा उक्लिएका हुन् । गाईभैँसीको दूध, दही खान र पाटनहरुमा रमाउन आन्तरिक तथा बाहृय पर्यटकहरु पनि जाने गर्दछन् ।

गुठीचौर गाउॅपालिका गर्ज्याङ्गकोट, प्याकुरेबाडा, उखाडी, धल्पुरा, डाडाबाडा, थामीगाउॅ, खल्लालबाडा, चौबिगारे, बिगारे, धिता, देपालगाउॅ लगायतका किसानले पशुवस्तुहरु गुठीचौरमा लगेका हुन् । असार महिनादेखि जाजरकोटबाट गाईभैँसीहरु पाल्न गुठीचौर ल्याउने गरेको किसानहरु बताउॅछन् ।

स्थानीय अंगदबहादुर बुढाले अधिकांश आन्तरिक पर्यटकहरु खीर खान र घुम्न गुठीचौर जाने गरेको बताए । सदरमुकाम खलंगादेखि डोल्पाको शे–फोक्सुण्डो जाने सडक गुठीचौर हुँदै जाने भएकोले पर्यटकलाई यो सुन्दर उपत्यकाले लोभ्याउँछ । उनीहरु गोठालासँगै पाल टाँगेर बस्ने गरेका भेटिन्छन् ।वरिपरि हरिया डाँडा, चरनको लागि ल्याइएका गाईका बथान र गोठहरू । हावासँगै बेग हानेर यताउता गरिरहने घोडाको हूल र तिनका घाँटीमा बाँधिएको घण्टीको आवाज, घुम्न आएका मानिसको चहलपहलले हरियो घाँस र रंगिबिरंगी फूलले सजिएको गुठीचौर अझै सुन्दर देखिने गरेको छ । विशाल उपत्यका बिचैमा बग्ने खोला र त्यसको आसपासका सयौंथरीका फूलले चित्ताकर्षक पार्छन् । हिउँदमा हिउँले सेताम्य हुने गुठीचौर बर्खामा यस्तै रंगीविरंगी देखिन्छ ।

गुठीचौर २ का हरिभक्त बुढा गुठीचौरमा गोठालाहरु उक्लिएसँगै चहलपहल बढेको बताउँछन् । उनका अनुसार पाटन भित्रका सुन्दर पाखाहरु, पाटनमा बनाइएका भेँडीखर्क, भैँसीखर्क, गाईगोठ, आन्तरिक तथा बाहृय पर्यटकले टाँगेका पालले छुट्टै संसारमा पुगेको आभास दिन्छ । यो सिजनमा छिमेकी जिल्ला जाजरकोट र आसपासका गुठीगाउँ, कुडी, खल्लाबाडा, देपालगाउँ लगायतबाट चरनका लागि ल्याइएका गाईवस्तु दृश्यले मानिस र प्रकृतिको साइनोलाई नजिक ल्याउाछ ।

गुठीचौरमा सरकारले भेडाबाख्रा अनुसन्धान केन्द्र स्थापना गरेको छ । गुठीचौर पुग्न सदरमुकाम खलंगाबाट करिब ३/४ घण्टा पूर्वतर्फ पैदल हिँड्नु पर्छ । तर अहिले डोल्पा जाने सडक गुठीचौर हुँदै जाने भएकाले यातायातको सुविधा छ । सदरमुकाम खलंगाबाट धिता, देपालगाउँ, गर्जायाङकोट हुँदै गुठीचौरको फाँट पुगिन्छ । गाडी वा मोटरसाइकलमा एक डेढ घण्टामै पुग्न सकिन्छ । गुठीचार गाउँपालिकाका पूर्वअध्यक्ष हरिबहादुर भण्डारीले गुठीचौरको सुन्दरताले सबैको मन जितेको बताए ।

उनले भने, ‘गुठीचौर पाटन आफैमा सुन्दर छ । त्यसमा आन्तरिक तथा बाहृय पर्यटकहरुको चलहलपहल, गोठालाहरुको उपस्थितिले झनै मनमोहक बनाइरहेको हुन्छ । गुठीचौरको पूर्वपट्टी गुठी कोल्त्यागाउँ छ । गाउँमा १ सय ३० घरधुरी छन् । फराकिलो पाटनका बीचबीचमा अस्थायी गोठहरु छन् । ती गोठमा गाई र भैँसीको दूध, दही पाइन्छ ।भेँडापालनका लागि चर्चित गुठीचौरको सुन्दरताले कसको मन लोभीदैन र ? गुठीचौरदेखि उत्तरतिरको लाक्ना डाँडा चढेपछि कान्जिरुवा हिमाल आँखै अगाडि देख्न सकिन्छ, भने जुम्लाकै पातारासी हिमशृंखला लमतन्न परेको देखिन्छ ।

हरेक साताको शुक्रबार र शनिबार मान्छेहरुको गुठीचौरमा निकै चहलपहल हुने गर्छ । गोठालाहरुले बनाएका खानाहरु, दूध, दही घुम्न जानेहरुले खाने गर्छन् । जसले गर्दा गोठालाहरुको पनि आम्दानी बढ्ने गरेको छ । जेठ-असारमा उक्लिएका गोठालाहरु असोज महिनामा मात्र घर फर्किने गर्छन् । चरन क्षेत्र धेरै भएको र पशुवस्तु पालनका लागि उपयुक्त स्थान भएकोले गोठालाहरु पशुवस्तु पालनको लागि लैजाने गरेका छन् ।


प्रकाशित : जेष्ठ २९, २०८१ १८:५३
प्रतिक्रिया
पठाउनुहोस्