२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७५

भर्नाभन्दा महत्त्वपूर्ण विद्यार्थी टिकाउनु

शिक्षण विधि विद्यार्थीमैत्री हुनुपर्छ । विद्यार्थी अनियमित हुनासाथ वा आउन छाड्नासाथ विद्यालयले चासो दिनुपर्छ, विद्यार्थी वा अभिभावकलाई भेटेर सम्झाउनुपर्छ, कुनै जटिलतामा परेको भए समाधानमा पहलकदमी लिइदिनुपर्छ ।
सम्पादकीय

विद्यालयमा नयाँ शैक्षिक सत्र सुरु भएको छ । विद्यालय जाने उमेरका बालबालिका कोही पनि नछुटून् भनेर अरू बेलाजस्तै यस वर्ष पनि सरकारले भर्ना अभियान चलाइरहेको छ । अभियानको प्रभावले भर्नादर बढाइरहेको छ । तर भर्नादर जति उत्साहजनक छ, विद्यार्थीले बीचैमा विद्यालय छाड्ने दर उत्तिकै निराशाजनक छ । जस्तो– २०७१ सालमा भर्ना भएका ११ लाख ३६ हजारमध्ये आधाभन्दा बढी अर्थात् ६ लाख विद्यार्थीले कक्षा १० को अन्तिम परीक्षामा पुग्नुअगावै विद्यालय छाडिसकेका थिए ।

भर्नाभन्दा महत्त्वपूर्ण विद्यार्थी टिकाउनु

विद्यालयमा बालबालिका आकर्षित गराउन र टिकाउन सरकारले निःशुल्क शिक्षा, छात्रवृत्तिलगायतका केही कार्यक्रम पनि ल्याएको छ तर ती पर्याप्त नरहेको विद्यालय छाड्ने दरले नै पुष्टि गर्छ । सबैका लागि शिक्षा सुनिश्चित गर्न भनेरै संविधानमा कक्षा ८ सम्म अनिवार्य र १२ सम्म निःशुल्क शिक्षाको व्यवस्था गरिएको छ । अनिवार्य तथा निःशुल्क शिक्षा ऐनले २०८५ वैशाखभित्र कक्षा ८ सम्मको शिक्षा प्राप्त नगरेको व्यक्ति सरकारी, गैरसरकारी, सहकारी संघसंस्थामा सदस्य बन्न, निर्वाचित, मनोनयन र नियुक्ति हुनसमेत योग्य नहुने प्रावधान राखेको छ । यी अधिकार एवं सुविधाबाट कोही नागरिक वञ्चित नहुने सुनिश्चितताका लागि पनि बालबालिकालाई विद्यालयमा भर्ना गर्न र कक्षा ८ सम्म टिकाउनैपर्ने अवस्था छ । तर, त्यसका लागि राज्यले धेरै मिहिनेत गर्नुपर्ने खाँचो छ ।

सरकारले हरेक वर्ष तामझामका साथ भर्ना अभियान चलाउँदै आएको छ । पाठ्यपुस्तक निःशुल्क गरिएको छ । कक्षा ५ सम्म दिवा खाजा तथा विपन्न र जेहेनदार विद्यार्थीका लागि छात्रवृत्तिका कार्यक्रम पनि सञ्चालनमा छन् । बालबालिका भर्ना गराउन राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसद, प्रदेशदेखि स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, समाज र शिक्षासेवीले अभिभावकत्व ग्रहण गर्ने कार्यक्रम चलाइएको थियो । तर पनि शतप्रतिशत विद्यार्थी भर्ना हुन सकेका छैनन् । सरकारकै तथ्यांकले अझै ४ प्रतिशत बालबालिका विद्यालयको पहुँचबाहिर रहेको देखाउँछ ।ती बालबालिकालाई पनि विद्यालयमा ल्याउन सक्नुपर्छ ।

विद्यालयमा कक्षा बढ्दै जाँदा विद्यार्थी संख्या घट्दै गएको देखिन्छ । २०७१ सालमा भर्ना भएका विद्यार्थीलाई मात्र हेर्ने हो भने सबैभन्दा बढी २ लाख ६४ हजार विद्यार्थीले कक्षा १ बाटै पढाइ टुंग्याएको देखिन्छ । कस्ता विद्यार्थीले एक वर्ष पनि नहुँदै विद्यालय छाड्छन् ? भर्नादर बढी देखाउन जोडबलमा विद्यालय ल्याइएका बालबालिकाले छाडिरहेका छन् कि ! विद्यालय बन्द हुन वा गाभिनबाट जोगाउन भर्नामा संख्या धेरै देखाइएको पनि हुन सक्छ । विद्यालय पायक नपरेर वा पठनपाठनको वातावरण राम्रो नभएर पनि विद्यार्थीले पढ्न छाडेका हुन सक्छन् । विद्यार्थीले छोटो समयमै विद्यालय छाड्नुको कारण पहिल्याउन सकियो भने भर्ना अभियान प्रभावकारी बनाउन र विद्यार्थी टिकाउने योजना तथा कार्यक्रम सुधारमा मद्दत पुग्छ ।

विद्यार्थीलाई पढाइमा परिवारको पृष्ठभूमिको भूमिका महत्त्वपूर्ण हुन्छ । पढाइलाई निरन्तरता दिने मन हुँदाहुँदै पनि पारिवारिक, सामाजिक र आर्थिक कारण विद्यालय छाड्न बाध्य भएका बालबालिका उल्लेख्य छन् । हुर्कंदै जाँदा श्रम गरेर परिवारको गर्जो टार्ने दायित्व निर्वाह गर्नुपर्ने बाध्यतामा रहेका बालबालिका विद्यालय जान पाउँदैनन् । अभिभावकले पनि ज्यालामजदुरीको लोभमा छोराछोरीलाई पढाइबाट अलग्याउने समस्या छ । बालश्रम त्यसैको उपज हो ।

विद्यार्थी टिकाउने सन्दर्भमा अभिभावकका लागि सचेतना अभियानसँगै विपन्न परिवारको आयआर्जन अभिवृद्धिका कार्यक्रम पनि ल्याउनुपर्छ । सरकारी विद्यालयहरू अंग्रेजी माध्यमबाट पढाउने भन्दै शुल्क लिनाले पनि विपन्न परिवारका विद्यार्थीलाई सकस परेको हुन सक्छ । धेरै टाढा धाउनुपर्ने भएर विद्यालय छाड्नुपर्ने समस्या समाधानका लागि विद्यालयमा छात्रावासको व्यवस्था गरिदिनुपर्छ । अपांगता भएका बालबालिकाले कक्षा छाड्ने दर धेरै देखिएकाले उनीहरूका लागि समेत अनुकूल हुने वातावरण विद्यालयले तयार गरिदिनुपर्छ । विद्यालय छाड्नुको कारण माध्यम भाषाको समस्या देखिए मातृभाषामा पठनपाठन हुने वातावरण पनि तयार गर्नुपर्छ ।

विद्यालयमा सिक्ने वातावरण राम्रो भयो भने विद्यार्थी टिक्ने दर बढ्न सक्छ । धेरै सरकारी विद्यालयमा शिक्षक र शैक्षिक सामग्रीलगायत पूर्वाधारको अभाव देखिन्छ । कठिन लाग्ने अंग्रेजी, गणित, विज्ञानजस्ता कठिन विषयका शिक्षक अभावको समस्या धेरैतिर छ । भएका शिक्षकले पनि नपढाउने, पढाए पनि सिकाउनेभन्दा ‘जागिर खाने’ मानसिकता राख्ने प्रवृत्ति छ ।विद्यालय प्रशासन र स्थानीय सरकारले विद्यालयको सिक्ने वातावरण सुधारमा ध्यान केन्द्रित गर्नुपर्छ । शिक्षकलाई पेसाप्रति जिम्मेवार बनाउनुपर्छ । शिक्षण विधि विद्यार्थीमैत्री हुनुपर्छ । विद्यार्थी अनियमित हुनासाथ वा आउन छाड्नासाथ विद्यालयले चासो दिनुपर्छ, विद्यार्थी वा अभिभावकलाई भेटेर सम्झाउनुपर्छ, कुनै जटिलतामा परेको भए समाधानमा पहलकदमी लिइदिनुपर्छ ।

प्रकाशित : वैशाख ६, २०८१ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले ल्याएको आर्थिक वर्ष २०८१/०८२ को बजेट कस्तो लाग्यो ?