१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

बालबालिकालाई लतबाट कसरी जोगाउने ?

बिदाको समय बालबालिकालाई ग्रामीण जनजीवनको अनुभव गराउन सके उनीहरू नयाँ परिवेशमा घुलमिल हुन्छन्, स्वच्छ र हरियाली वातावरणमा रमाउँछन् । 
मञ्जु भट्ट

अस्ति मात्रै एक जना आमा आफ्नो सन्तानलाई स्कुलमा भर्ना गर्न आएकी थिइन् । छोराले झन्डै साढे एक घण्टाको प्रवेश परीक्षा दिने बेलासम्म उनी मोबाइलमा व्यस्त थिइन् । अचम्म के भने उनका साना छोरा पनि त्यतिन्जेलसम्म अर्को मोबाइलमा व्यस्त थिए ।

बालबालिकालाई लतबाट कसरी जोगाउने ?

सायद त्यो मोबाइल परीक्षा दिइरहेका ठूला छोराको हुनुपर्छ । उनलाई नयाँ स्कुल कस्तो छ, त्यसमा छोराका लागि चाहिने सुविधा छन् कि छैनन्, शिक्षकहरू कस्ता छन्, कक्षाकोठाको अवस्था कस्तो छ, केही मतलब थिएन । छोराले परीक्षा दिए, आमाले मोबाइल चलाइन् र घर फर्किए ।

कक्षा ९ मा पढ्ने एक विद्यार्थीका अनुसार उनकी आमा मोबाइलमा गेम खेल्ने गर्छिन् । उनलाई मोबाइलको यति धेरै लत लागेको छ कि उनले गेम जित्नु छ भने छोरालाई खेलिदिन भन्छिन् । यदि छोराले गेम हार्‍यो भने आमाको पिटाइ खानुपर्छ । अर्की एक अभिभावकका अनुसार आफू काठमाडौंबाट कामविशेषले पोखरा जानुपर्ने भएछ । एक्लै हुने भएकाले छोराले मोबाइल दिएर जानु, नत्र बोर हुन्छु भनेछन् । उनकै लागि भनेर नयाँ मोबाइल किनेर दिनको दुई घण्टा मात्र चलाउने सर्तमा उनी मोबाइल दिएर गइछन् ।

आमा एक सातापछि फर्किंदा त छोरामा मोबाइलको यति नराम्रोसँग लत बसेछ कि आमा घर आएकामा कुनै प्रतिक्रिया नै देखिएनछ । अरू बेला बाहिरबाट घर फर्किंदा अँगालो हालेर माया गर्ने, के ल्याउनुभयो भनेर झोला हेर्ने छोरामा अहिले त कुनै उमंग नै देखिएनछ । छोरालाई मोबाइलले बिगारेको बुझेपछि आमाले पसलमा गई छोराकै अगाडि मोबाइल बेचेर आइछन् । अहिले ती छोरा पहिलेजस्तै मायालु र सहयोगी भइसकेका छन् ।

एक जना बहिनीका छोरा छन् । एक दिन टीभी हेर्ने क्रममा बत्ती गएछ, उनले मोबाइल मागेछन् तर आमाले नदिँदा यस्तो जिन्दगीको के काम भन्दै रिसाउँदै घर छाडेर बाहिर हिँडेछन् । कक्षा ७ मा पढ्ने छोराले यस्तो भन्दा उनी निकै चिन्तित थिइन् । तर, एकछिनपछि छोरा घरमा आएपछि मात्रै उनले दोहोरो श्वास फेरिन् ।

मोबाइल हातमा भएकै कारण धेरैजसो बालबालिका मेसेन्जर, फेसबुक, भाइबर, इन्स्टाग्राम, ह्वाट्सएपजस्ता सामाजिक सञ्जाल प्रयोग गरेर कुलतमा फसिरहेका छन् । यसले किशोरकिशोरीहरू यौन हिंसाको सिकारसमेत भएका घटना बढिरहेका छन् । मोबाइलको अति प्रयोगले बालबालिकामा आक्रामक हुने, एकोहोरिने, समाजमा घुलमिल नहुनेजस्ता समस्या देखिएको छ । कतिपयलाई स्वास्थ्यमा समेत जटिलता आउने गरेको छ ।

अहिले कतिपय विद्यार्थी आफ्नो अन्तिम परीक्षाको नतिजा कुरेर बसेका छन् भने कतिपयको परीक्षाफल प्रकाशित भइसकेको छ । यो एक महिनाको समय विद्यार्थीहरू आफ्नो अमूल्य समय मोबाइल चलाएर त्यसै फालिरहेका छन् । कोही विद्यार्थी भने आफ्नो गाउँमा रहेको घर गएर नयाँ अनुभव लिइरहेका छन् । मान्छेले हातमुख जोड्न कति संघर्ष गर्नुपर्छ भन्ने बुझिरहेका छन् ।

कक्षा ६ मा पढ्ने विद्यार्थीलाई मौखिक रूपमा प्रश्न सोध्ने क्रममा जाँतो, पानीघट्ट देखेका छौ भन्दा कसैले नदेखेको बताए । बरु मोबाइलमा कुन–कुन गेम खेल्छौ भन्दा पाँच, छ वटाकै नाम लिए । गाउँघरतिर अहिले पनि पुरानो र नयाँ दुवै प्रविधि प्रयोग भइरहेका छन् तर विद्यार्थीलाई नयाँ प्रविधिका बारेमा केही थाहा भए पनि पुरानो प्रविधिको ज्ञान छैन । भात केबाट बन्छ भन्दा चामलबाट भन्न सके पनि चामल केबाट बन्छ भन्दा धानबाट भन्न सकिरहेका हुँदैनन् ।

बोलेर, सुनेर, पढेरभन्दा आँखाले प्रत्यक्ष देखेर अध्ययन गर्दा सजिलै बुझिने र लामो समयसम्म स्मरण रहिरहने हुन्छ । तपाईं सहरमा हुनुहुन्छ र गाउँमा घर वा आफन्त छन् भने यो खाली समय केही दिनका लागि बालबालिकालाई पठाउँदा धेरै राम्रो हुन्छ । यसो हुँदा उनीहरू फरक, स्वच्छ, हरियाली वातावरणमा रमाउन पाउँछन् । राजधानीलगायत ठूला सहर योजनाबिना बसाइएका छन् । बालबालिकालाई घरबाहिर खेल्ने खाली ठाउँ छैनन्, खुला चौरको अभाव छ । यसको परिणाम– चल्ने, खेल्ने उमेरका बालबालिका शारीरिक व्यायामको अभावमा अल्छी हुन्छन् ।

बिदाका बेला बालबालिकालाई नयाँ ठाउँ डुलाउन लैजानुपर्छ । नयाँ परिवेशमा उनीहरूले धेरै कुरा सिकिरहेका हुन्छन् । रुचिअनुसारका कथा, कविता, चित्रका किताब किनिदिने, उनीहरूले इच्छा गरेका इन्डोर तथा आउटडोर गेम खेलाइदिने गर्नुपर्छ । गीत–संगीत, डान्स, आर्ट्सजस्ता रचनात्मक सीप सिकाउने कक्षामा भर्ना गर्दा लुकेको प्रतिभा उजागर हुन्छ । बालबालिकालाई बुझ्ने, समय दिने, कुरा सुन्ने, तनाव कम गर्ने कोसिस प्रत्येक अभिभावकले गर्नुपर्छ । बालबालिकासँगै बसेर उनीहरूलाई ज्ञान दिने खालका फिल्म हेर्ने, मन पर्ने खानेकुरा पकाउने, पकाउन सिकाउने, भरपूर माया दिने हो भने कुलतमा फस्ने, घर छोडेर हिँड्नेजस्ता नराम्रा कदम उठाउने कार्य आफैं बन्द भएर जान्छन् ।

सन्तान जन्माउनु मात्रै आमाबुबाको काम होइन, राम्रो शिक्षादीक्षा दिएर हुर्काउने ठूलो कर्तव्य हो । बालबालिकालाई बजारमा प्याक गरिएका म्याद नाघेका खानेकुराभन्दा पनि घरमै पाकेका पोसिला खानेकुरा खुवाउनु अभिभावकको महत्त्वपूर्ण जिम्मेवारी हो । ग्याजेटहरूमा भुलेर एक ठाउँमा थुप्रेर जंकफुड खानाले भविष्यमा रोगी बनाउँछ भन्ने अभिभावकले बिर्सनु हुँदैन । घरमा मात्रै होइन, स्कुलमा पनि क्यान्टिनमा मैदाबाट लामो समयसम्म डढेको तेलमा पकाएका चाउचाउ, चाउमिन, मःम, समोसाभन्दा टिफिनका रूपमा घरबाटै फलफूल, सागपात, आलु–पुरी चना–रोटी, खीर, अन्डा, माछा–मासु, मकै–भटमास, गहुँबाट बनेका हलुवा पठाउँदा बालबालिकामा पोषणको कमी हुँदैन । आमाबुबाको सानो प्रयासले बालबालिकाको भविष्य बन्छ भने त्यसलाई पूरा गर्न पछि हट्नु हुँदैन । जसरी बालबालिकाको पहिलो पाठशाला घर हो, उसैगरी पहिला गुरु आमाबुबा हुन् । घरबाट राम्रो संस्कार सिकेका बालबालिकाले कहीँ गए पनि दुःख पाउँदैनन्, नराम्रो काम गर्दैनन् ।

यो वर्ष मात्रै नेपालमा ३७ हजार जोडीले सम्बन्ध विच्छेद गरेछन् । परिवारमा आमाबुबाबीच सानो झगडा हुँदा त दुःखी हुने, डराउने बालबालिका आमाबुबा नै छुट्टिए भने कस्तो अनुभव गर्छन् होला ? सन्तान जन्माएर बेवास्ता गर्ने अभिभावकहरूले बुझ्नैपर्छ । घर–समाजमा, स्कुलमा, छात्रावासमा देख्दै आएका छौं कि आमाबुबाभन्दा अरूसँग बस्ने बालबालिकाको आनीबानी अलि फरक हुन्छ । अरूलाई नटेर्ने, पढ्नमा कमजोर हुने, पढाइलाई महत्त्व नदिने, बदमासी गर्ने, कुलतमा फस्नेजस्ता क्रियाकलाप आमाबुबाभन्दा टाढा रहेका बालबालिकाले बढी गर्छन् । त्यसैले बालबालिकालाई राम्रो संस्कार, शिक्षादीक्षा दिएर हुर्काउने पहिलो जिम्मेवारी त आमाबुबाकै हो ।

प्रकाशित : वैशाख ६, २०८१ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?