क्रमभंगको राजनीति
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल निरन्तरतामा क्रमभंग गर्न खप्पिस छन् । सत्ता साझेदार हेरफेर गर्दै आफ्नो नेतृत्वको कार्यकाल लम्ब्याउँदै गर्दा उनले यसलाई नयाँ क्रमभंगको उपमा दिएका छन् । उसो त उनी पटकपटक भन्ने गर्छन्, ‘हामीलाई असफल हुने छुट छैन, परिवर्तनको हुटहुटीको भोक मेटिएको छैन ।’
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![क्रमभंगको राजनीति](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/ped/kram-vang-0732024033252-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
तर पर्दा पछाडिको खेलमा हेलिन मन पराउने दाहालले आफ्नो फेरिएको रूचिलाई राजनीतिक शब्दावलीमा ‘क्रमभंग’ को संज्ञा दिएका छन् । खोटा मुद्रालाई असली हो भन्ने भाष्य निर्माण गरिराख्नु जोडघटाउ राजनीतिको अवलम्बन बनेको छ । उनले दाबी गरेजस्तै क्रमभंगको राजनीतिले भुइँतहमा नयाँ उत्साह देला त ?
प्रधानमन्त्रीले आफ्नो अनियन्त्रित सरकारको अवस्था फेर्न नयाँ साझेदार दललाई साथमा लिएर बढ्न खोजे पनि अनिश्चितताको भय हरण भएको छैन । साझेदारसँग ‘लभ’ र ‘विच्छेद’ को नियमित आकस्मिकता उनको कार्यशैली बनेको छ । ‘साझेदार फेरियो तर शासकीय चरित्र फेरिन्न’ भन्ने भाष्यले बलियोसँग भुइँतहमा राज गरेको छ । नयाँ साझेदार कति दिन टिक्छ वा साथ राखिन्छ भन्ने विषय महत्त्वपूर्ण होइन । कस्तो आधार वा कारणले अचानक नयाँ गठबन्धन गरियो र भोलि यो गठबन्धन ढले त्यसको पृष्ठभूमि के हुने भन्ने आमजनमा जिज्ञासा छ । कठोरता र लचकताका संगम व्यक्तित्व दाहालले सत्ता राजनीतिमा आफ्नो प्रासंगिकता कायम राख्न कस्ताकस्ता शतरञ्जी खेल खेल्दै जाने हुन्, त्यो अस्पष्ट छ । यति भन्न सकिन्छ, उनी सरलरेखामा हिँडिराख्न रुचाउँदैनन्, क्रमभंग गरिहाल्नैपर्छ ।
सरकारले खुट्याउन असमर्थ रहेको के हो भने निराशा र असन्तुष्टि पोख्ने सबै व्यवस्था विरोधी होइनन् । न्यायपूर्ण समाजको खोजी, छलफल र कुराकानी गर्नु प्रतिगमन होइन । सरकारमा रामलाल आए कि श्यामलाल जोडिए भन्दा पनि गणतान्त्रिक सरकारको मूल चुनौती हो– आफूलाई वञ्चित, प्रताडित वा असमानताको अनुभूति राख्नेहरूको सामूहिक असन्तुष्टिलाई सम्बोधन गर्न नयाँ उचाइ पहिल्याउनु । साझेदार फेर्नुको अर्थ नयाँ बिचौलिया वर्गको भरणपोषण, नागनाथको ठाउँमा सापनाथलाई दोहनको छुट वा एक अर्को वर्गलाई मुलुक नै बिर्तामा दिने होइन, सडकमा पोखिने असन्तुष्टिको न्यायपूर्ण निकास दिनु हो । आफूले आफैंलाई कम्युनिस्ट भनेर दाबी गर्ने साझेदारहरूलाई दक्षिणपन्थीमोहबाट क्रमभंगको फड्को मार्न स्वार्थ र शक्ति हाबी भएको राजनीतिमा चुनौती दिन सक्नेहरू कति निस्किएलान् ?
साझेदार फेर्ने पटकथा रचिँदै गर्दा मिटरब्याजपीडित वा भूमिहीनहरू संघीय राजधानी काठमाडौंमा आफ्ना सरोकार सुनाउन पुगेका छन् । अहिले पनि भूमिहीनको नाममा कसले जग्गा पाउँदै छन् ? मुसहर बस्तीमा राज्य अझै मृत अवस्थामा किन छ ? सिरहाका अधिकारकर्मी अरुण सदाका यी शब्दले किन कसैलाई भित्रैदेखि हल्लाउँदैनन्– ‘भूमिहीनको समाजमा हैसियत हुँदैन, बोली बिक्दैन, उठेर बोल्दा हावाले उडाउँछ, बसेर बोल्दा कसैले सुन्दैन, यही पीडाले गर्दा म आन्दोलनमा छु ।’
फ्याक्ट र फ्याक्टर
प्रदेशहरूमा फेरि केन्द्रकै ‘खडाउ सरकार’ चल्नेछ । यो अब न उपहासको विषय रह्यो न त आश्चर्यको विषय । सत्ता पक्षका लागि ‘फ्याक्ट’ हो र पहिचानवादीका लागि राजनीतिको एक ‘फ्याक्टर’ । क्रमभंगको राजनीतिक प्रयोगकालले अद्भुत दृश्य, आनन्द, आकर्षक र आतंकको अनौठो रस घोलिरहेको छ । विपक्षलाई भरोसा छ कि नयाँ साझेदारसहितको दाहालको जेट सरकारमा कुनै यान्त्रिक खराबी आउने शंका छैन । तिनीहरूलाई त आकाशको कुनै अज्ञात राजनीतिक उचाइमा बादलहरूसँग जुझेर खस्ने प्रतीक्षा छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई आफ्नो भाग्यरेखामा अटुट भरोसा छ, जहाँ सरकारमा साझेदारी हेरफेर यस्तो तमासा हो, जो चञ्चल छ ।
एउटा तथ्य यो पनि हो जसको आलोकमा दाहालको सफलताको रहस्यका केही आयामलाई बुझ्न सकिन्छ । दाहालले प्रधानमन्त्री बनेर संसदीय संरचनाको त्यो परम्परागत सूत्रहरूलाई छिन्नभिन्न गरिदिए, जो सत्ता राजनीतिमा कब्जा गर्न र कायम राख्ने मूल आधार मानिन्थ्यो । तिनले केही सूत्र बदले र केही नयाँ सूत्र रच्ने प्रयास गरे । सत्तामा रहनु र सत्तालाई नियन्त्रित गर्ने मनोवैज्ञानिक अनुभूति आफ्ना लक्षित समूहमा गराउन सक्नु दाहालको राजनीतिको महत्त्वपूर्ण परिच्छेद हो । उनको जरो उखेल्ने तमाम कोसिसमाझ तिनै पक्षहरू आलोपालो गरी शरणागत बन्न आउनु र उनीप्रति कायम आक्रामक मोह यसको सबुत हो । यो मोह दाहालका लागि यस संसदीय अवधिमा सत्ताका लागि सुरक्षा कवच हो भन्ने कुरा उनी स्वयंबाहेक अन्य खिलाडीहरूलाई समेत बोध छ । आलोचकहरू भन्छन्, एकदिन यो मोह भंग हुन्छ, भई पनि रहेको छ । तर तत्कालमा यो मोह कायम छ ।
गोबरको हलुआ !
ग्रामीण समाजको आर्थिक–सामाजिक सम्बन्ध, विपन्न–वञ्चित समुदायको जीवनसंघर्ष, बन्धनमुक्त जीवन बाँच्ने आकांक्षा, तिनका मनमस्तिष्कमा उछाल लिँदै गरेको बेचैनी, बदलावको छटपटाहटलाई सुन्ने, समाउने तथा साकार गर्ने सरकार भएन । लोकतन्त्रमा सरकार सान्त्वनादायी हुन जरुरी हुन्छ । त्यो मामिलामा दाहाल चुक्दै आएका छन् । नेतृत्वले यात्रामा कसलाई साझेदार छनोट गरे ? बेलुका कसलाई काँध दिए ? बिहान कोसँग बाँसुरी बजाए ? त्यो लेखाजोखा राखिँदैन । मूलभूत पक्ष हो सरकार उत्तरदायी देखियो कि देखिएन ? त्यो खोजबिनभन्दा भुइँतहमा पोखिएको आक्रोश हो– ‘गोबरको हलुआ बाँडेर गाजरको नाम दिन मिल्दैन ।’ सार्वजनिक सेवा प्रवाह टिठलाग्दो छ । दाहाल सरकारले देख्ने र अनुभूति हुने गरी जनताको निराशा र पीडा हर्ने काम गरिरहेको छैन ।
भोगेको यथार्थ हो, यो संसद्को नेताको भूमिका प्रभावशाली हुन सकिरहेको छैन । सरकारमा साझेदार फेर्ने अभ्यासबाहेक राष्ट्रका मूलभूत मुद्दाहरूलाई उनले गम्भीरताका साथ लिएको आभास पाइन्न । सरकारको प्रभावकारिताको प्रश्न प्रधानको सक्षमतासँग गाँसिएको हुन्छ । अन्धभक्तहरूको भीडले प्रभावित गर्ने अभिलाषा तथा स्वार्थी समूहको हल्लाको खेतीले निर्माण गर्ने योग्यताले चाहिँ प्रधानसेवकको सक्षमता बढाउँदैन बरू निष्प्रभावी बनाउँछ । प्रधानमन्त्रीको प्रभावकारिता वृद्धि हुनु लोकतान्त्रिक गणतन्त्र संस्थागत हुनु हो, त्यसैले आफ्नो कार्यशैली, कार्यक्षमता र कार्यसंस्कृतिको सक्षमता वृद्धि गर्ने उपायको निरन्तर खोज तथा क्रमभंग गर्ने परिपक्वता तथा साहस गर्ने सोचबाट सुरु हुनुपर्छ । कुनै मन्त्री विशेषको टाउको देखाएर आफ्नो निष्प्रभाविता छोप्ने कौतुकको क्रमभंग अब गर्नैपर्छ । दाहालद्वारा परिकल्पित क्रमभंगको राजनीतिले गर्दा संसद्को सम्मान केही घट्न पुग्यो । चुनावी गठबन्धनको मतादेश के थियो, जसले त्यसको प्रभावकारितामा समेत स्वाभाविक रूपले ह्रास भयो ।
राजनीति शास्त्रमा भनाइ छ, राजनीतिक दलले स्थापनाको सुरुआतमा सिद्धान्त र विचारधारालाई अधिक महत्त्व दिने गर्छन् र कालान्तरमा दलको प्रमुख उद्देश्य सत्ता र शक्ति प्राप्त गर्नमा केन्द्रित हुन्छ । यो भनाइ नेपालका नयाँ–पुराना दलहरूको भूमिकामा प्रतिविम्बित भएको पाइन्छ । यी दलहरूले के बिर्सिरहेका छन् भने राष्ट्रिय जीवनमा जस्तै दलहरूभित्र पनि अब यथास्थितिको निरन्तरता धेरै दिनसम्म चल्न सक्दैन ।
नेपालमा गठबन्धन राजनीतिक संस्कृतिको आदिपुरुष शेरबहादुर देउवाले अरूलाई दोष दिनुभन्दा आफूलाई समयको मागअनुसार परिमार्जन भने गर्नैपर्छ । फगुनहट बयारसँगै अन्तरद्वन्द्वले नेपाली कांग्रेसभित्र सम्भाव्य संघर्षतर्फ इंगित गर्छ । कांग्रेस पंक्तिमा सुस्तरी प्रतिद्वन्द्विता ‘कोभन्दा को बढी अराजक’ देखिने आत्मघाती दिशातर्फ उन्मुख हुँदै गइरहेको छ । कांग्रेसको मुख्य चुनौती अरू कोही नभएर आफ्नै कार्यकर्तामा फैलिएको मोतियाबिन्दु हो, यस्तोमा आफ्नै पृष्ठभूमि, औचित्य, उपयोगिता तथा सम्भावना पहिल्याउन सकिरहेको छैन । ऊसँग भविष्य–दृष्टि छ भन्ने भुइँतहमा संशय हुन थाल्यो । कुनै पनि दलले सम्झिराख्नुपर्ने हो स्पष्ट वैचारिकता, समर्पित कार्यकर्ता, विवेकशील समर्थक तथा कर्मठ प्रचारकहरू बेगर कसैको पनि मिसन–८४ सहज हुँदैन ।
जोगीरा सारा...रा–रा
यतिखेर दाहालको ‘काया सरकार’ छ भने ओलीजी (खड्गप्रसाद) ‘छाया सरकार’ बनेका छन् । दाहाल राजमा अहिलेसम्म जे भयो– त्यो किस्सा हो, जे हुँदै छ– त्यो किस्सा छ र जे हुनेवाला छ– त्यसको किस्सा बन्दै गरेको छ । मधेशमा फागुको गीत गाउने चलन श्रीपञ्चमीदेखि नै सुरु भइहाल्छ । ओलीजीले यस्तो तुरूप खेले कि भैया उपेन्द्र यादव साक्षी किनारा बनेर मुस्कुराउन थाले । दाहाल क्रमभंगको सच्चा अनुभूति गर्न थाले, उता रवि लामिछाने आफ्नै दाह्री सुमसुमाउन थाले । ढोल–मजीराका साथ होली गीत गुन्जिन थाल्यो– ‘केकरा नदिआ में दहिया जमावल/ केकरा ले मंगलअ जोरनवा, गजब कई दहल ऐ ओलीजी/ माओवादी के नदिआ में दहिया जमावल कांग्रेस से लिहल जोरनवा, गजब कई दहल ऐ ओलीजी ।’
दलीय दलदलमा फसेका देहातका कांग्रेसी भक्तजनहरू आफ्नै कित्तामा होलीको गान अलापे– ‘नकबेसर कागा ले भागा सैंया अभागा ना जागा ।’ भुइँमान्छेहरूमा जोगिराको आफ्नै शब्द अभिव्यक्त हुँदै आए– ‘सदा आनन्द रहे एही दुआरे मोहन खेले होरी हो...।’
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)