कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

एमाले शुद्धीकरण र सुदृढीकरण

पार्टीभित्र जबर्जस्त एउटा चिन्ता पैदा भएको छ- दलाल, पैसावाल सुकिला-मुकिलाहरुले नेता र सिंगो पार्टीलाई नै घेराबन्दीमा पार्ने हुन् कि ? ।पार्टी नै कतै तिनीहरुको कब्जामा त जाने होईन ?
खिमलाल भट्टराई

काठमाडौँ — नेकपा (एमाले) केन्द्रीय कमिटीको वैठक यही फागुन ८, ९ र १० गते तिन दिनसम्म ललितपुरको च्यासलमा सम्पन्न भएको छ । यस पटकको वैठकमा विषय प्रस्तुति, छलफल विधि र समस्याको उठान जुन हिसाबले गरियो  यसले केन्द्रीय कमिटीका सदस्यहरुलाई उत्साहित बनाएको छ ।

एमाले शुद्धीकरण र सुदृढीकरण

बैठकले पार्टीको नेतृत्वपंक्ति पार्टीले भोगिरहेको समस्याप्रति जानकार छ र गम्भीर छ भन्ने अनुभूति दिलाएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले पेस गर्नुभएको राजनीतिक प्रतिवेदन मुलुकको राजनीतिक घटनाक्रमलाई बुझ्न र दृष्टिकोण बनाउन यथेष्ट छ । बैठकमा सर्वसम्मत पास गरिएको प्रतिवेदनले गठबन्धन सरकार देश र जनताका समस्याप्रति पूर्णरुपमा बेखबर रहेको उसका गलत व्यवहार र प्रवृतिले मुलुकको अर्थतन्त्र र जनताको जीवन कष्टकर र धराशायी बन्दै गएको उल्लेख छ । राष्ट्रियतामाथि खेलबाड गरिएको, असंलग्न परराष्ट सम्बन्ध विपरीत व्यवहार गरेर राष्ट्रलाई नै संकटमा पार्ने दुष्कार्यमा गठबन्धन सरकार लागिरहेको छ ।

गठबन्धन सरकारको असफलता र अयोग्यताकै कारण सडकमा लोकतान्त्रिक गणतन्त्रकाविरुद्ध संविधान विपरीतका कृयाकलापहरु भइरहेका छन् । जातीय विद्धेष फैलाउने प्रकृतिका आवाजहरु फेरि उठ्न थालेका छन् । मुलुकका वित्तीय संस्थाहरु सहकारी, बैंक आदिलाई ध्वस्त बनाएर राष्टलाई नै असफल बनाउने कुत्सित मनसायले समाजमा अराजक गतिविधिहरु भैरहेका छन् ।

मिटरब्याजपीडित, दुग्ध व्यवसायी आन्दोलनमा छन् । आफैंले बनाएको छानबिन आयोगले तयार पारेको प्रतिवेदनले मन्त्रीका कारणले ग्वार्को घटनामा दुईजना निर्दोष युवाको ज्यान गयो भनेर प्रतिवेदन दिँदा पनि न ती मन्त्रीले राजीनामा दिए, नत प्रधानमन्त्रीले नै मन्त्री हटाउँछन् । यहाँ भन्दा लज्जास्पद स्थिति के हुन सक्छ ? यो लोकतन्त्रको उपहास हो ।

विकास निर्माण ठप्प छ । बजेटको अभावमा निर्माणाधीन परियोेजनाहरु अलपत्र छन् । उद्योगधन्दाहरु बन्द भइरहेका छन् । व्यापार व्यवसाय संकटग्रस्त अवस्थामा पुगेको छ । दिनानुदिन सटरहरु बन्द भइरहेका छन् । युवाहरुको विदेश पलायन डरलाग्दो छ । विद्यार्थी अभावमा स्कूल कलेजहरु बन्द हुने अवस्थामा पुग्दैछन् । राष्ट्रिय आम्दानीले साधारण खर्च धान्न नसक्ने अवस्था बनिरहेको छ । राष्ट्रिय ऋण उठाएर कर्मचारीलाई तलब खुवाउने ठाउँमा पुग्दैछ देशको अर्थतन्त्रको अवस्था ।

मुलुकलाई यस दुरावस्थाबाट कसरी बाहिर निकाल्ने भन्ने विषयमा अध्यक्षको प्रतिवेदन केन्द्रित थियो र केन्द्रीय कमिटीको बहसको केन्द्रबिन्दु पनि यही नै थियो ।

निष्कर्षमा बलियो राष्टिय शक्तिको अभावमा यो सबै समस्याको समाधान सम्भव छैन । यसको तात्पर्य नेकपा एमाले नै त्यो शक्ति हो जसले मुलुकले सामना गरिरहेका यी तमाम समस्याहरुको समाधान दिन सक्दछ । गठबन्धनले गणितीय रुपमा आफूलाई बलियो बनाएर बसेको कारणले यो नटुटेसम्म यसको पीडा मुलुकले व्यहोर्न अभिसप्त छ । यस परिस्थितिमा यस सरकारका जनविरोधी राष्ट्रविरोधी कृयाकलापकाविरुद्ध आवाज बुलन्द गर्नु, गठवन्धनबाट मुलुकलाई छिटो मुक्ति दिलाउन सम्भव कोशिस गर्नु र मिशन-०८४ को तयारी गर्नु यतिबेला नेकपा एमालेको मुख्य दायित्व बनेको छ । राजनीतिक प्रतिवेदनको मुख्य निष्कर्ष यही नै हो ।

यसको अलावा देश र जनताले भोगिरहेका समस्याहरुको समाधानका निम्ती सडक र सदन दुवै ठाउँबाट सशक्तरुपमा सरकारलाई दबाब दिने निर्णय पनि बैठकले गरेको छ । सडक आन्दोलनको तयारीका निम्ति विषयवस्तु सूत्रबद्ध गर्न र अन्य तयारीको कामलाई अगाडि बढाउन केन्द्रीय सचिवालयले जिम्मेवारी लिएको छ ।

यसरी नै बैठकले संगठन सम्बन्धी केही ठोस निर्णय लिएको छ । सदस्यता विस्तार, नवीकरणको कामलाई फागुन चैत्र महिनाको समयसीमाभित्र व्यवस्थित गर्ने, आगामी जेठभरमा वडा, पालिका र जिल्ला अधिवेशनहरु सम्पन्न गरिसक्ने, प्रशिक्षण कार्यक्रमको कार्यतालिका बनाई नियमितरुपमा सञ्चालन गर्ने, पार्टी प्रचारको कामलाई व्यवस्थित गर्ने, पार्टीका विरुद्ध फैलाईएका भ्रमहरुलाई चिर्न सम्पूर्ण केन्द्रीय सदस्यहरु र आम पार्टीपंक्ति लाग्नुपर्ने, सोसल मिडियाको प्रयोग र परिचालनको निम्ति व्यवस्थित योजना बनाउने, स्थानीयस्तरमा ज्येष्ठ कम्युनिस्ट सम्मान कार्यक्रम सञ्चालन गर्ने, नयाँ पुस्ताकोबीचमा पार्टी संगठन विस्तारको निम्ति पालिकास्तरमा ठोस योजना बनाउने, पार्टी प्रवेश गरेका, अधिवेशनबाट जिम्मेवारीविहीन भएकाहरुको एक महिनाभित्र व्यवस्थित सूचि तयार गर्ने र जिम्मेवारी व्यवस्थित गर्ने, जन प्रतिनिधिहरुको कामलाई पार्टी संयन्त्र र सभा दल मार्फत पार्टी नीति, घोषणापत्रका आधारमा जनमुखी ढंगले सञ्चालन गर्ने र पार्टी कार्यालय निर्माण जस्ता संगठनात्मक निर्णयहरु पनि गरेको छ ।

बैठकले पार्टीको आन्तरिक जीवनमा देखापरेका विकृति र विसंगतीहरुको चिरफार र समाधान गर्दै सुदृढ र विस्तारित पार्टी निर्माणको निम्ति शुद्धीकरण र सुदृढीकरणको आवश्यकताबोध गरेको छ । यसलाई देशव्यापी रुपमा सञ्चालन गर्न आगामी २०८१ साललाई शुद्धीकरण र सुदृढीकरणको वर्ष निर्धारण गरेको छ । यसको कार्यक्रमिक कार्ययोजना तय गर्ने जिम्मेवारी स्थायी कमिटीलाई दिईएको छ ।

माथि उल्लेखित महत्त्वपूर्ण निर्णयहरुको साथसाथै यसपटकको बैठकमा पार्टी निर्माणको आधारभूत विषयमा बहस भएको छ । खुलाखुलस्त छलफल भएको छ । बहसका केही मूल विषयहरु यस्ता छन् ।

पार्टी निर्माणको मूल पक्ष भनेको वर्ग दृष्टिकोण हो । यसको आधारमा अगाडि सारिने राजनीतिक एजेण्डाहरु हुन् । जसले पार्टी निर्माण गर्दछन् । राजनीतिक पार्टीको संगठन प्राविधिक हिसाबले बन्न सम्भव छैन । बनिहालेको भए केही समय टिक्ला तर दिगो हुन सम्भव हुँदैन । त्यसैले पार्टीले वर्ग पक्षधरताकै आधारमा संगठन निर्माणको योजना र एजेण्डालाई अगाडि बढाउनुपर्दछ । सुकुम्बासी, भूमिहीन, दलित, महिला, पीछडिएको वर्ग, समुदाय, भूगोल, लगायतका श्रमजीवी वर्गका जनसमुदायले भोगिरहेका समस्या र उनीहरुको जीवन बदल्ने नीति, एजेण्डा र कार्यक्रम अगाडि बढाउन जरुरी छ । पार्टी त्यो वर्गको आस्था र विश्वासको धरोहर बन्नुपर्दछ ।

राजनीतिक निर्णयहरु र विचारका प्रश्नमा पार्टीपंक्तिको एउटै धारणा र आवाज बन्नुपर्दछ । यसको लागि पार्टीभित्र सामूहिक निर्णय र कमिटी प्रणालीलाई पूर्णतः स्थापित गरिनुपर्दछ । विधानअनुसार बनाईएका पार्टीका सम्पूर्ण कमिटीहरुलाई वैधानिक व्यवस्था अनुरुप नियमित र जिम्मेवार बनाईनुपर्दछ । स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी आदि ।

पार्टीभित्र जबर्जस्त एउटा चिन्ता पैदा भएको छ । दलाल, पैसावाल सुकिला-मुकिलाहरुको बोलवाला बढेको छ । नेता र सिंगो पार्टीलाई नै तिनीहरुले घेराबन्दीमा पार्ने हुन कि भन्ने खतरा बढेको छ । पार्टी नै कतै तिनीहरुको कब्जामा त जाने होईन ? सोझा ईमान्दार नेताकार्यकर्ताहरु जसले गाउँ टोलमै बसेर पार्टी बनाईरहेका छन् उनीहरुले आफूलाई निरीह बनेको महशुस गर्न थालेका छन् । यो राम्रो कुरा होईन ।

सुकिलामुकिलाहरुको स्वार्थ समूहले पार्टी कमजोर हुन थालेको थाहा पाए भने जुम्राले मृत शरीर छाडे झैं छाड्ने छन् । हामीले बोकेका केहीले त चरित्र देखाई नै सके । त्यसो भएर ईमान्दार कार्यकर्तामाथि नै भर गरौं र उनीहरुलाई नै प्रोत्साहित गरौं ।।

निर्वाचनहरुमा उम्मेदवार छनौट गर्दा पार्टी सदस्यको विचार र भूमिकालाई स्थापित गर्न जरुरी छ । जनतामा भिजेको र कार्यकर्ताले चाहेको व्यक्तिलाई उम्मेदवार बनाउनुपर्दछ । स्थानीय कमिटीहरुलाई नै यसमा मुख्य जिम्मेवार बनाउनुपर्दछ । नेताको घरघर कुदेर दैलो ढुक्ने प्रवृतिको अन्त्य गर्न जरुरी छ । पार्टीको सवलीकरणको निम्ति नेताको दैलो होईन, जनताको दैलोमा पुग्ने नेता र कार्यकर्ता चाहिएको छ ।

पार्टीभित्र त्याग संस्कृतिको विकास र अवसरको न्यायोचित वितरण आजको आवश्यकता बनेको छ । त्याग केही चीज आफूसँग भएकाले गर्ने हो । यसको सुरुवात तलबाट गरेर पार्टीभित्र संस्कृति बन्न सक्दैन । नेतृत्वपंक्तिबाट यस किसिमको पहलकदमी भयो भने यो सम्भव छ । पटकपटक अवसर पाईरहेकाहरुले म होईन अब अरुलाई भन्न सक्नुपर्दछ ।

बाध्यात्मक र अति आवश्यक बाहेक अब पुरानो पुस्ताका कमरेडहरुले उत्तराधिकारी खोज्ने बेला भयो । यसले पार्टी सञ्चालनमा सहजता ल्याउनेछ, अराजकता नियन्त्रण र अनुशासन कायम गर्ने कुरामा पनि सहजता थप्नेछ ।

अधिवेशनहरुमा नेतृत्व निर्माणको प्रश्नमा सकभर सहमतिको कोसिस गर्नुपर्छ । नेतृत्वकोबीचमा खुला खुलस्त छलफल चलाउनुपर्दछ । सहमति नजुटेमा बिना विलम्ब चुनावी प्रक्रियामा जानुपर्दछ । नेतृत्वपंक्तिले चुनाव हुने परिस्थितीमा स्वस्थ प्रतिस्पर्धाको वातावरण बनाउनुपर्दछ । समूह बनाएर चुनावमा जाने कुरालाई पूर्णरुपमा प्रतिबन्ध लगाउनुपर्दछ । व्यक्ति चुनाव लड्ने र व्यक्तिगतरुपमा प्रचार गर्ने तरिका सुनिश्चित गर्नुपर्दछ ।

स्वस्थ प्रतिस्पर्धालाई नकारात्मकरुपमा लिन जरुरी छैन । यसले पार्टीलाई कमजोर बनाउँदैन । बरु जबर्जस्त नेतृत्व लाद्ने र टीका लगाईदिने तरीका अपनाउन थालियो भने केन्द्रीय नेतृत्वप्रति अनास्था पैदा हुने र स्थानीय नेतृत्व पनि कार्यकर्तामुखी र जनमुखी नहुने सम्भावना रहन्छ । त्यसैले सहमति र प्रतिस्पर्धाको छनौट गर्ने जिम्मेवारी स्थानीय नेतृत्वलाई नै दिनु वान्छनीय छ ।

नेता र कार्यकर्ताको मूल्यांकनको आधार प्राप्त जिम्मेवारीमा उसको कार्यसम्पादन नै हो । कार्यसम्पादन कसरी गरिरहेको छ र परिणाम कस्तो निकालिरहेको छ सोही आधारमा उसको मूल्यांकन गरिनुपर्दछ । यस सम्न्धबमा अर्को तरिका हुनै सक्दैन । जिम्मेवारी र कार्य सम्पादनलाई मुख्य आधार बनाउनुपर्दछ । अरु इतिहास, वैचारिक राजनीतिक क्षमता, पार्टीप्रतिको निष्ठा आदि विषय पनि मूल्यांकनको विषय बनाउन सकिन्छ ।

कार्यशैलीको प्रश्नमा पार्टीपंक्तिले जनमुखी कार्यशैली अपनाउनुपर्दछ । जनताले रुचाउने काम गर्नुपर्दछ, नरुचाउने काम गर्नु हुँदैन । यो नै हाम्रो पार्टीको कार्यशैली हो ।

पार्टी अनुशासन उल्लंघन, आर्थिक अपचलन र सांस्कृतिक विचलन जस्ता कुराहरुमा पार्टी उदार बन्नु हुँदैन । जुनसुकै पदीय जिम्मेवारीमा रहेको भएपनि कुरा आउनेबित्तिकै ऊ रहेको कमिटीमा छलफल चलाउनुपर्दछ । छानबिन र कार्बाहीको दायरामा ल्याउनुपर्दछ । सुशासन र सुसंस्कृतिकोवाहक नेकपा एमाले नै हो भन्ने कुरालाई स्थापित गर्नुपर्दछ ।

एमाले अरुभन्दा भिन्न हो भन्ने पहिचान गुम्ने खतरा छ । त्यसैले भ्रष्टाचार र सांस्कृतिक विचलनप्रति पार्टी निर्मम बन्नुपर्दछ । चुनावमा घात गर्नेहरुलाई कार्बाही नगर्ने, जिम्मेवारीमा राखिराख्ने र थप्दै जाने कुराले पार्टीलाई बलियो बनाउँदैन । त्यस्तो प्रवृत्ति र त्यसका वाहकहरुलाई दण्डीत गर्नुपर्दछ ।

जनवर्गीय संगठनहरुलाई समुदायको नेताकोरुपमा काम गर्ने संगठन बनाउनुपर्दछ । समुदायका समस्या उठाउने र समुदायले भर गर्ने संगठन बनाउनुपर्दछ ।

असाध्यै मन छुने अध्यक्ष केपी शर्मा ओलीको समापन मन्तव्यले बैठकलाई थप उत्साहित बनाउन सफल भयो । उहाँको मर्मस्पर्सी सम्बोधनसँगै बैठक समापन भएको थियो । उहाँले भन्नुभएको थियो- चरित्रमा शुद्ध रहनु, दिनको आधा घण्टा व्यायाम गर्नू, प्रशन्न चित्त रहनू, जनतासँग सहज व्यवहार गर्नू, ऋण सापटी लिएको छ भने तिर्नू, उजूरी परे कार्बाही हुनेछ, कानुनी ढंगका काम इलममा लागेर, व्यवस्थापन गरेर जीविका चलाउने उपाय पनि खोज्नू, पार्टीको परिभाषित जिम्मेवारीमा लाग्नु अरु यति धेरै काम गरे भनेर देखाउनुको केही अर्थ छैन । परिभाषित काम गर्नुस् कामको आधारमा मुल्याँंकन गरिने छ ।

मिशन-८४ केवल हाम्रो पार्टीलाई जिताउने कुरा मात्रै होईन यो राष्ट्रिय शक्तिलाई मजबुत बनाउने र सुखी नेपाली समृद्ध नेपालको उद्देश्य पुरा गर्ने मिशन हो । त्यसैले यो मिशन सफल बनाउन सक्रिय बनौं ।

( भट्टराई एमाले पोलिटब्युरो सदस्य हुन् ।)

प्रकाशित : फाल्गुन २०, २०८० १४:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?