कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

‘आगे अन्हार गली बा’

अहिले समाजमा टुसाउँदै गरेको कट्टरताको उपचार केवल सरकारी तन्त्रको माध्यमबाट खोज्न सकिँदैन । समाजको बृहतर हितका लागि समाजभित्रै एकता, विवेक र तार्किकता अभिव्यक्त हुनुपर्छ ।
चन्द्रकिशोर

समसामयिक सवालबारे विमर्शलाई विस्तार दिनुअघि भारतीय हिन्दी चलचित्रका सन्दर्भलाई अगाडि सार्नु प्रासंगिक होला । महात्मा गान्धीकेन्द्रित कथावस्तु राख्न आफ्नै प्रकारका चलन देखिए । प्रायः हिन्दी फिल्ममा गान्धीलाई प्रहरी चौकी वा अदालतको भित्तामा एउटा फ्रेममा झुन्ड्याइएको हुन्छ, यदाकदा कुनै अध्यापक वा अभियन्ताको कक्षमा पनि उसैगरी राखिन्छ । कुनै अवसरमा नेतागणले गान्धीको प्रतिमामा माल्यार्पण गरेको वा कुनै पात्र विशेषले नाटकीय तवरमा अहिंसात्मक कार्यका लागि पाठ दिएको सुनिन्छ 

‘आगे अन्हार गली बा’

बितेका वर्ष एक भिन्नै सोचको फिल्म आयो– ‘गान्धी गोडसे– एक युद्ध’ । यसमा गान्धी नाथुराम गोडसेको गोली प्रहारबाट जोगिन पुग्दा उनले गोडसेलाई क्षमा मात्र गर्दैनन्, उनीसँग मिलेर कार्य पनि गर्छन् भन्ने काल्पनिकता पस्किइएको छ । गान्धी विचारको विद्रुपीकरण गर्ने संगठित कोसिस भारतमा हुँदै आएको पृष्ठभूमि जगजाहेर छ । करिब बीस वर्षअघि ‘लगे रहो मुन्नाभाई’ जस्तो अद्भुत फिल्म बन्यो, जसले तत्कालीन समाजमा गहिरो विमर्श छाड्दै ‘गान्धीगिरी’ नामक शान्तिपूर्ण प्रतिरोधको तौरतरिकालाई खुब प्रचार गर्‍यो ।

कायरता र हिंसा कुन रोज्ने ?

यतिखेर आधा शताब्दीअघि निर्माण भएको फिल्म ‘मेरा गांव मेरा देश’ को मूलकथ्यबारे चर्चा गर्छु । आधारभूत रूपमा ‘गान्धी’ र ‘अहिंसा’ लाई एउटै सिक्काको दुई पाटोका रूपमा अर्थ्याइन्न्छ । तर ‘मेरा गांव, मेरा देश’ गान्धीको एक नितान्त उपेक्षित संवादका साथ शुरु हुन्छ– ‘यदि मलाई हिंसा र कायरतामध्ये कुनै एउटा छनोट गर्नुपर्ने भयो भने म हिंसालाई स्वीकार गर्छु ।’ यो फिल्मले गान्धीको जीवन सन्देशमा अन्तर्निहित उद्भावनालाई स्थापित गर्छ नै, सँगै दिनहुँ भोग्नुपर्ने अनेकौं चुनौतीको झञ्झावातसँग जोखिममुक्त हुने तरिकासमेत सिकाउँछ । सामाजिक जीवनमा सरकार वा प्रशासनको मुख ताक्ने परावलम्बी अनैतिक प्रवृत्तिमाथि गैरप्राज्ञिक शैलीमा यसले प्रहार पनि गरेको छ ।

अहिले समाजमा टुसाउँदै गरेको कट्टरताको उपचार केवल सरकारी तन्त्रको माध्यमबाट खोज्न सकिँदैन । समाजको बृहतर हितका लागि समाजभित्रै एकजुट हुनुपर्छ, विवेक र तार्किकता अभिव्यक्त हुनुपर्छ । यस फिल्ममा डाकुको आतंकबाट निरीह बन्न पुगेका गाउँलेका माध्यमबाट प्रतिवाद, प्रतिकार र प्रतिरोध गर्न निर्भयताका लागि आत्मसञ्चारको प्रेरणा दिएको छ । डरले समाजलाई गाँजेको छ । धर्मको आवरणमा जे गर्न खोजिँदै छ, त्यसबाट सन्तुष्ट नदेखिए पनि अनेकौं अवगाल–आक्षेपको डरले कोही बोल्न चाहँदैन । धार्मिक आस्था वा आध्यात्मिक साधना निजी व्यवस्था हो । मानवनिष्ठा र नैतिकताको अनुष्ठानबिना कुनै पनि धार्मिक क्रियाकलाप फगत कर्मकाण्ड हो । बोल्नुपर्नेहरू किन डराएका छन् ?

वीरगन्जस्थित कृषि औजार कारखाना वर्षौंदेखि बन्द थियो । त्यसको सुसञ्चालनका लागि अभियन्ता महावीर पुन किताब बेच्दै अर्थसंकलन गर्दै छन् । यता त्यही ऐतिहासिक क्रान्तिभूमि वीरगन्जमा धर्म जोगाउने नाममा दुई समुदायबीच तनाव भएर महानगरको जनजीवन ठप्प बन्न पुग्छ । यो स्थितिका भुक्तभोगी एक स्थानीय भन्दै थिए, ‘आगे अन्हार गली बा’ (अगाडि अँध्यारो गल्ली छ) । किन तराईका विभिन्न स्थानमा तनाव, झडप वा द्वन्द्व प्रकट हुन्छ ? आगो बाल्न को उद्यत छ ? आगोमा घ्यू थप्नेहरूको चेहरा र चरित्र के हो ? यो जे हुँदै छ, संयोग हो कि षड्यन्त्र ? यस्ता अस्वाभाविक घटनाक्रम वीरगन्जमै पटकपटक घटित गराउने व्यूह रचना किन हुँदै छ ?

कुनै पनि हिंसाको मुकाबिला भयमुक्त भएर गर्न गान्धीले बाटो देखाए । कट्टरता आफैंमा एक प्रकारको हिंसा हो । हिंसाबाट निर्देशित सामाजिक र राजनीतिक सम्बन्ध दिगो हुन सक्छ ? हाम्रा लागि यो लोकमत खोजीको विषय हो । समाजमा उठ्ने गरेका समस्या–सवालमा बारम्बार छलफल तथा अन्तरक्रिया हुने त गर्छन् तर तार्किक आधारमा एकदमै कम चिन्तन छ । एउटै समस्या, सवाल वा विषयलाई फरकफरक समूह तथा व्यक्तिले फरक तरिकाबाट व्याख्या र विश्लेषण गर्न सक्छन्, गरिराखेका पनि छन् । त्यस्ता बुझाइका धरातल र आधार के हुन् ? अहिंसात्मक तथा सहिष्णु तरिकाले आफ्नो गाउँ, सहर, प्रदेश वा सिंगो मुलुकको आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक रूपान्तरण गर्न खोजिँदै छ । त्यसबारे समाजका विभिन्न तप्काबाट तर्क र तथ्यपरक विमर्श उठान भएन भने ‘कट्टरता’ को सोच झाँगिँदै जान्छ । कट्टरताले तत्कालमा उत्तेजना, घृणा, आक्रोश र आक्रमणको बीज रोप्छ ।

खाँचो पारस्परिक संवाद

नेपाल हामी सबैको साझा सम्पदा हो । यसलाई अझ व्यावहारिक रूपमा भन्नुपर्दा जो जहाँ बसोबास गर्छ, त्यो स्थान विशेषमा भयमुक्त परिवेश निर्माण गर्ने कार्यभार त्यहींका नागरिकको हो । स्थानविशेष सबै लिंग, सबै जाति, सबै धर्म मान्ने, सबै भाषा बोल्ने र सबै राजनीतिक विचारधारा मान्नेहरूको हो । त्यसैले यसलाई कस्तो बनाउने भन्ने प्रक्रियामा बराबरी र पूर्ण भाग लिने नैसर्गिक अधिकार हामी सबैसँगै छ । समाज पनि खाली खेतजस्तै हो, खनजोत र असल बिउ छर्ने, गोडमेल र खादपानी हाल्ने काम भइराखेन भने अनेकानेक प्रजाति उम्रिन पुग्छन् र त्यही नै मूल बाली हो भन्ने भ्रम फैलिन्छ ।

धार्मिक नाममा अधार्मिक कचिङ्गल र हिंसाको धम्कीलाई पन्छाउन मौन बसेर हुँदैन । आउन लागेको समस्या र संकट केलाउनैपर्छ । छरछिमेकमा जे हुँदै छ, त्यहाँ बेलैमा सजग र सक्रिय हुनुपर्ने पक्ष आफैमा विभाजित र वर्गीकृत हुँदा दक्षिणपन्थी अग्निकुण्डमा समाहित हुने नियति भोग्न अभिशप्त छन् । अथर्व वेदको सूक्तले पृथ्वीमा विद्यमान विभिन्न मानव समाजभित्रको बहुलताको दर्शन गराउँछ : ‘जनं विभ्रति बहुधा, विवाचसम् नाना धर्माणम् पृथ्वी यथौकसम् ।’ आशय यही हो यो पृथ्वीले बहुभाषी एवं बहुधर्मी मान्छेहरूलाई धारण गरेको छ । कुनै भाषा विशेषलाई एक मात्र भाषा र कुनै धर्म विशेषलाई एकमात्र धर्म मान्ने दुराग्रही सोच राख्नेले मान्छेका भाव र भक्तिलाई बुझेका हुँदैनन् । वेदमा बहुलतालाई आधारभूत रूपमा स्वीकार गरिएको छ, त्यही साहचर्य र समानताको मान्यतालाई पनि मुखरित गरेको छ– ‘संगच्छध्वं संवदध्वं सं वो मनांसि जानताम् ।’

‘समानी व आकूतिः समाना हृयदयानि वः । समानमस्तु वो मनो यथा वः सुसहासति ।’ अर्थात्, सबैको अभिप्राय समान होस्, सबैसँग साथ हिँडून्, एकअर्काको मनलाई पनि बुझून् । हृदय समान होस्, मन समान होस्, सबै प्रसन्नचित्त रहुन् ।

हाम्रा प्राचीन वाङ्मय हाम्रो सामाजिक जीवनलाई संहिता दिने माध्यम बने । ‘मुण्डेमुण्डे मतिर्भिन्ना’ अर्थात् प्रत्येक व्यक्तिको सहमति र असहमतिलाई सर्वस्वीकार्यता प्रदान गरिएको छ । यस्तो अद्भुत समन्वयकारी लोकतन्त्र अहिलेको सामाजिक संरचनामा किन अनुवाद हुन सकिरहेको छैन ? जावेद अख्तरको एक गीति पंक्ति छ– ‘ये कहाँ आ गए हम, यूँही साथ साथ चलते ।’

धर्मको नाममा एकअर्काप्रति हेय वा श्रेष्ठताको भाव राख्दा समाज अनिश्चिततातर्फ धकेलिन्छ र समाधानका उपाय अझ जटिल बन्दै जान्छन् । समग्रमा धर्मान्धताको बढ्दो मात्रालाई कमी ल्याउने राजनीतिक दृढता नभएसम्म भविष्यप्रति आशा गर्ने आधार देखिँदैन । ‘अभ्युत्थानमधर्मस्य’– जो युगधर्मले माग राख्छ, त्यो जबजब अधर्मको विकास र धर्मको अवमूल्यन हुन्छ, तबतब नवसंकथन, नवसंकल्पको अवतरण आफ्नै बुझाइ, ठम्याइ र गराइमा प्रस्फुटित हुनुपर्छ । नेपाली समाज र संस्कृतिका लागि सबैभन्दा ठूलो खतरा त्यो आन्तरिक सोचसँग छ, जो परम्पराअनुसार बहुल समाजको मान्यताविपरीत छ । कुनै पनि असहिष्णु हर्कतले सामाजिक जीवनको स्वीकृत पारस्परिकतालाई भत्काउन बेर लगाउँदैन । कट्टरता जहाँ हुन्छ, त्यहाँ समाजलाई पुनरुत्थानवादको आधारमा पुनर्परिभाषित गर्ने चेष्टा र सामाजिक विखण्डनलाई स्थिर गर्ने प्रयत्न हुन्छ । धर्मका नाममा धर्म नबुझेकाहरूले संरक्षण र सम्वर्द्धन गर्न उन्माद र घृणाको प्रसार गर्छन् । बहुसंख्यक सोच र तर्कसंगत सोचमा मौलिक भिन्नता के छ ?

सामाजिक जीवनमा यतिखेर यस्तो कठिन क्षण आइपुगेको छ, स्वयं व्यक्तिले उन्मादी भीडमा रूपान्तरित भएको भेउ नै पाउँदैन । यसले हाम्रा सामूहिक ज्ञान, सामूहिक आत्मविश्वासको परीक्षा लिइरहेको छ । हामी एउटा समस्याको बारेमा सोचिराखेका हुन्छौं, सामुन्ने अर्को नयाँ समस्या खडा हुन पुग्छ । जहाँ धार्मिक द्वन्द्व हुन्छ, त्यहाँ हिन्दु र मुस्लिम भनेर जोडिन पुग्छ, यो चिन्ताको विषय हो । कुनै पनि धर्मले हिंसाको जस्तो पनि स्वरूपलाई अस्वीकार गर्न सिकाउँछ । आफ्नो मुलुकको इतिहास र सांस्कृतिक जटिलताबारे बुझेर सामञ्जस्यका सूत्रहरू खोज्न अभिप्रेरित गर्छ । इस्लामको शाब्दिक अर्थ हो शान्ति । यस धर्ममा सामाजिक समानता, दया, उदारता र विश्व बन्धुत्वमाथि अधिक प्रकाश पारिएको छ ।

पछिल्ला दिन मधेसका विभिन्न स्थानमा तनावका घटना देखिएका छन् । नेपाली समाजको ठूलो हिस्साले यस्तो बेला विवेकको सामूहिक प्रदर्शन गरी दंगा हुनबाट जोगाएका छन् । तर आगो सल्काउनेहरूले हार मानेको देखिँदैन । हामी संविधानप्रदत्त धार्मिक स्वतन्त्रताको आआफ्नो परम्पराअनुसार अवलम्बन गर्दै सामूहिक रूपमा कसरी बाँच्ने ? कुनै कोणबाट टुसाउँदै गरेको कट्टरताको प्रतिरोध कसरी गर्ने भनेर विचार गर्नुपर्ने अवस्था छ । यी प्रश्नका उत्तर सहज छैनन् ।

नेपाल विविधता बोकेको समाज हो । यहाँ एउटै धर्म मान्नेबीच पनि कैयौं परम्परा र रीतिरिवाजमा भिन्नता छ । तर हाम्रा सम्बन्धमा अविश्वास र भय खडा गर्नेहरू हौसिने स्थिति बन्नु हुँदैन । कानून भंग गर्ने जो कोहीलाई दण्डित गरिनुपर्छ । कानुनले आफ्नो काम आफैं गर्छ, त्यो भरोसा सबैले गर्न सक्नुपर्छ । महन्त–पुजारी वा मौलाना–मौलवीद्वारा गरिने सामुदायिक सामञ्जस्य स्थापित गर्नमा आफ्नै सीमा र सम्भावना देखिसकिएको छ । उनीहरू आआफ्नै कार्यथलोका चौहद्दीभित्र रहून् । स्थानीय प्रहरी प्रशासनमार्फत कर्फ्यु लगाएर तत्कालमा स्थितिलाई नियन्त्रणमा ल्याउन सकिएला । मूल पक्ष हो नागरिक खबरदारी, नागरिक स्वयंद्वारा सामूहिक विवेकको प्रदर्शन ।

‘सर्वधर्म समभाव’ ले सबै धर्मप्रति समान आदर गर्न सिकाउँछ । न बहुसंख्यकमा असुरक्षित भाव रहोस् न त अल्पसंख्यकमा भयको व्याप्ति । धर्मका बारेमा विमर्श नगरिँदा त्यो समूहले यसलाई कब्जामा लिन पुग्छन्, जसले धर्मको उत्स बुझेकै छैनन् । धर्म जहिले पनि व्यक्ति वा समाजका लागि मंगलदाता हुनुपर्छ ।

प्रकाशित : फाल्गुन १०, २०८० ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×