२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

कांग्रेसको आत्मघाती प्रचण्ड–प्रक्षेपण

कांग्रेसलाई भन्दा गठबन्धन बदल्न माओवादीलाई बढी सहज अवस्था छ भन्ने कुरा आम कांग्रेसीले बुझ्न सकेनन् भने उनीहरू पछुताउनुको विकल्प रहँदैन ।
शुभशंकर कँडेल

‘अहिले हामी जुन गठबन्धनमा छौं, त्यो आगतको सम्झौता होइन, विगतले बोकाएको अभिभारा हो’ भन्दै प्रचण्ड सरकारप्रति विरक्तिएको प्रस्ताव आफ्नै दलको केन्द्रीय समिति बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले राख्दै गर्दा माओवादीको विधान अधिवेशनले ‘कांग्रेसँगको गठबन्धन लाभदायी नभएको’ निष्कर्ष निकालेको छ ।

कांग्रेसको आत्मघाती प्रचण्ड–प्रक्षेपण

जसरी प्रचण्डलाई गत वर्ष पुस २६ गते विश्वासको मत दिने विषयमा शेरबहादुर देउवा र केपी शर्मा ओलीको परस्परविरोधी स्वार्थको ऐक्यबद्धता थियो । यसपटक देखिएको यी दुई दलका सम्मेलन र बैठकको प्रस्ताव र निष्कर्षको तादात्म्य पनि कतै त्यस्तै त होइन ? गम्भीर प्रश्न उठेको छ ।

चार वर्षपछि हुने निर्वाचनमा यति छिटो ‘कसैसँग गठबन्धन नगर्ने’ घोषणा गर्नुपर्ने धारणा थापा र शर्माले किन सार्वजनिक गर्दै छन् र त्यसमै जीवनको उत्तरार्द्धमा एकपटक प्रधानमन्त्री बन्ने लालसाको सिकार बनेका शेखर कोइरालाले अरू बढी हावा भरिरहेका छन् ? बुझ्न नसक्ने पहेलीजस्तो प्रतीत हुन्छ । यसले त प्रधानमन्त्री प्रचण्डलाई ‘तिमीलाई जोसँग गठबन्धन गर्न मन छ, त्यसै गरेर आफ्नो सत्ता र आगामी चुनाव सुरक्षित गर’ भन्दै कांग्रेस ०७४ को थान्कोमा जाने साइत खोजिरहको देखिँदैन र ? यसै पनि एमाले सुरुदेखि नै प्राविधिक रूपमा बाहेक सत्तारूढ नै रहेको मान्न सकिन्छ । एमालेले प्रचण्डसँगका सबै भागबण्डाको राम्रै लाभग्राही बनेर आफ्नो प्रतिपक्षीय भूमिका पूर्णतः बिर्सेको छ । कांग्रेसको उखरमाउलोले एमालेलाई यतिबेला झन् जोस्याएको हुनुपर्छ ।

‘सरकार गठनका लागि गठबन्धन सरकार बनाउनैपर्ने बाध्यता भएको अवस्थामा अस्थिरता निम्तिन सक्ने अवस्थालाई ध्यान दिँदै र विगतका अनुभवबाट पाठ सिक्दै आवश्यक नीति तय गर्ने’ भन्ने प्रतिवेदन उपसभापति पूर्णबहादुर खड्काले सभापति देउवाको प्रोक्सीको रूपमा कांग्रेस बैठकमा पेस गरेका छन् । सम्भवतः कांग्रेस महासमितिले यही प्रस्ताव पारित गर्ने निश्चितजस्तै छ । तर कोशी प्रदेशको एकपछि अर्को गडबडी र शेखर–गगनको सरकारविरोधी तथा सिलसिलाले प्रचण्डलाई पनि किन अब कांग्रेस बोकिरहनुपर्‍यो र भन्ने तहमा नपुर्‍याउला भन्न सकिन्न । जसरी प्रचण्डले ‘मौजुदा तेस्रो कार्यकालमा देशलाई केही नयाँ गरेर देखाउने’ भन्ने हुटहुटीमा गठबन्धनको मुख्य सहयात्री कांग्रेस बाधक बन्दै आएको महसुस गरिरहेका छन् । भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाणभन्दा माथिको कारबाहीमा उक्लनबाट मात्र देउवाले रोकेनन्, ललिता निवास प्रकरणमा राजनीतिक नेतृत्वलाई उन्मुक्ति दिने प्रपञ्च पनि कांग्रेसबाटै रचियो । सुन प्रकरणमा प्रचण्ड महरापुत्रभन्दा माथि उक्लन नसकेको बहानामा कांग्रेसले प्रचण्डलाई अन्य सबै मामिलामा समेत दबाबमा राख्दै आएको छ ।

बाहिरी रुपमा हेर्दा यी दुई दलबीच विशेषगरी प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाका बीचमा सरकार सञ्चालन सन्दर्भमा तात्त्विक अन्तर भेटिँदैन । तर प्रचण्डको हुटहुटीमा ‘बढी नचल्न’ देउवाको दबाबको दैनिकी समस्यामूलक भएको हुन सक्छ । सरकारले सुशासनको पक्षमा कदम चाल्ने भन्नेबित्तिकै कांग्रेसीवृत्तमा भूकम्प जान थालिहाल्छ । बहालवाला एक मन्त्री राष्ट्रिय झन्डा हल्लाउँदै अख्तियार पुगेर बयान दिएर फर्केका छन् । देउवाको अह्रनखटनमा अर्थमन्त्रीले कुनै कमी राखेर कांग्रेसभित्र अर्को मिनेन्द्र रिजाल हुने आत्मघाती रहर पक्कै पनि गर्दैनन् । यतिसम्म कि पछिल्लो पटक अर्थमन्त्रीले सातामा पाँच पटक पत्रकार सम्मेलन गरेर बताउन के खोजेका हुन् भन्नेसमेत स्पष्ट गर्न नसकेबाटै उनको दयनीय अवस्था प्रकट भएको छ । अब यस्ता झमेला व्यहोर्नुपर्ने त वर्तमान फर्जाइल संसद्बाट बन्ने गठबन्धनको स्वाभाविक परिणति नै हो ।

फेरि प्रचण्डका लागि पनि ओलीको हैकमभन्दा त देउवाको लघु अभिव्यक्तिमा प्रकट हुने दबाब निकै सहज लागेको हुनुपर्छ । देउवालाई दाहिना बनाइराख्दा जति सजिलो छ, भोलि ओलीसहितका राजेन्द्र–रविको जोडीलाई कजाउन पक्कै सजिलो हुनेछैन भन्ने प्रचण्डले नबुझ्ने कुरै भएन । देउवालाई दाहिना बनाइरहेसम्म बाह्य शक्ति केन्द्र जसरी शान्त भइरहन्छन्, ओलीलाई जति उल्क्याए पनि अन्तर्राष्ट्रिय अखडालाई थामथुम पार्न निकै मुस्किल पर्ने खतरा प्रचण्डजस्तो नेताले अनुमान गर्दैनन् भन्न सकिँदैन ।

कांग्रेसले सत्ता र मुख्यतः प्रधानमन्त्रीको कुर्सीभन्दा तलको कुनै कुरा पनि देख्न छाडेको अहिले मात्र होइन । उसको सत्ता राजनीतिक इतिहासको स्मरणले कांग्रेसी प्रवृत्तिलाई स्पष्ट गर्छ । नेपालको संसदीय विभिन्न कालखण्डमा कांग्रेसबाट व्यक्तिका हिसाबले सात जना प्रधानमन्त्री बने र उनीहरू १८ पटक दोहोरिए । ती सबै २२ वर्ष ११ महिनाभन्दा बढी कुर्सीमा बस्न पाएका थिए । प्रधानमन्त्री भएका सात जनामा चार जना त कोइराला परिवारका मात्रै थिए । तिनले मात्र १३ वर्ष १० महिना प्रधानमन्त्री चलाए ।

१० पटक त यही परिवारबाट मात्रै प्रधानमन्त्री दोहोरिएको इतिहास छ । यसमा पनि मातृका, बीपी र गिरिजाले नौ पटक प्रधानमन्त्री दोहोर्‍याउँदा १२ वर्ष चार महिना त तीन भाइले मात्र शासन गरे । कृष्णप्रसाद भट्टराई दुई पटक प्रधानमन्त्री हुँदा एक वर्ष ११ महिना कुर्सीमा बस्न पाए । सुवर्णशमशेर राणा २०१५ सालमा अन्तरिम कालमा एक वर्ष मात्र प्रधानमन्त्री बनेका थिए । देउवा भने २०५२ यता पाँचपटक प्रधानमन्त्रीमा दोहोरिएका छन् । जम्मा प्रधानमन्त्री कालको २२ वर्ष ११ महिनामध्ये देउवाको भागमा जम्मा ६ वर्ष २ महिना पर्न आउँछ । देउवाको भोक अझै मरेको छैन । तर, यतिबेला कांग्रेसभित्रबाट प्रचण्डविरुद्ध तितो पोखिएको देउवालाई छैंटौं पटक प्रधानमन्त्री हुन नदिने दुष्प्रयास मात्र हो भन्ने कुरा त सहजै बुझ्न सकिन्छ । शेखर–गगनले ठूलै शक्ति लगाए पनि देउवाको संसदीय अंक गणितमा घुनपुत्लो लगाइहाल्ने सम्भावना छैन ।

गठबन्धन सरकारमाथिको संकट यतिबेला केवल देउवा र दाहालको खुसामदमा सीमित नरहने परिदृश्य कांग्रेसको पछिल्लो केन्द्रीय समिति बैठकले स्पष्ट गरेको छ । ‘गठबन्धन गर्ने या नगर्ने अथवा भएको गठबन्धनलाई निरन्तरता दिने या गठबन्धन छोड्ने जस्ता विषय व्यक्तिगत स्तरमा बन्ने मनोगत धारणाको भड्कावमा हुनुहुन्न’ भन्दै देउवाप्रति थापाभन्दा नरम देखिंदै अएका अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि चुनौती दिएका छन् । तर उनले प्रतिवेदनमा चुनावी र सरकारको गठबन्धन दुवै कांग्रेसका लागि फाइदाजनक रहेको तथ्य प्रस्तुत गरेका छन् । माओवादीभित्र पछिल्लो समय ओलीको आशाबमोजिम गठबन्धन फेरबदलमा माओवादीभित्रबाट स्ट्राइकर बन्न सक्ने बर्षमान पुनले गठबन्धनको समीक्षा हुनुपर्ने अभिव्यक्ति सार्वजनिक रुपले प्रकट गरेपछि कांग्रेसीहरू आत्तिनु स्वाभाविक हो ।

जे भए पनि सरकार प्रमुखले मन्त्रीहरूको फरेबदल गरेर कार्यक्षमता बढाउन चाहनेजस्तो सामान्य संसदीय परम्परालाई कांग्रेसीहरूले सघाउनुको कुनै विकल्प छैन । ‘लोकरिझ्याइँ, अधिनायकवाद तथा पुनरुत्थानको प्रलाप बढेर गएको’ ठम्याउने कांग्रेस उपसभापति खड्का गठबन्धन सरकारलाई प्रभावकारी बनाउन तथा सरकारले गरेका राम्रा कामको स्वामित्व कांग्रेसीले पनि लिनुपर्ने बताउन किन कोसिस गरिरहेका छैनन् ? कांग्रेसलाई भन्दा गठबन्धन बदल्न माओवादीलाई बढी सहज अवस्था छ भन्ने कुरा आम कांग्रेसीले बुझ्न सकेनन् भने उनीहरू पछुताउनुको विकल्प रहँदैन । ‘पृथ्वीले प्रत्येक व्यक्तिको आवश्यकता पूरा गर्न पर्याप्त दिएको छ, तर प्रत्येक व्यक्तिको लोभ पूरा गर्न होइन’ भन्ने गान्धीको भनाइ भारतमै अलपत्र परेको समयमा नेपालमा यति भारी प्रस्थापना कुन पो राजनीतिज्ञले स्मरण गर्लान् र ?

देशका मुख्य दुई वामपन्थी दलबीचको दूरी बढ्दै गएकामा कांग्रेसीलाई भन्दा एमाले र माओवादीलाई नै अधिक चिन्ता छ भन्ने त स्वतःसिद्ध छ । जसरी कांग्रेसीलाई प्रचण्डमार्गी भएको आरोप छ, त्योभन्दा कैयौं गुना बढी कांग्रेसी संगतले वामपन्थी चरित्र हराउँदै गयो कि भन्ने छटपटी माओवादीमा छ । यही कुरालाई संकेत गर्दै प्रचण्डले विधान सम्मेलनमा भने पनि ‘हामी थाहै नपाईकन बुर्जुवाहरूले जता जता भन्यो, त्यतै त्यतै गइयो ।’ यहींनेर एमालेले पनि सकेको मलजल त गर्ने नै भयो । यसमा उत्तरी छिमेकीले पनि ‘कम्युनिस्टहरू मिल्नुपर्छ’ भन्दै प्रचण्डलाई व्यंग्य दिल्लीलाई तर्साइरहेकै छ ।

कांग्रेससँग गठबन्धन फेर्न केही विकल्प अवश्य छन् । बाहिर हल्ला गरेजस्तो ओलीले समर्थन गर्छन् भने देउवा सजिलै प्रधानमन्त्री बनेर प्रचण्डलाई देखाइदिए हुन्छ । अझै बढी प्रचण्डलाई देखाइदिन मन भए देउवा–शेखर–गगनले ओलीलाई प्रधानमन्त्री बनाउनु सबैभन्दा उत्तम हुनेछ । त्यसबाहेक पनि कांग्रेसी ट्रोइकाले समन्वय गर्न सक्छ भने एमाले र माओवादीबाहेकका सबै मसिना दललाई एक ठाउँमा ल्याएर गैरवाम गठबन्धनबाट कांग्रेसले प्रधानमन्त्री पाउन सक्छ । त्यसका लागि रवि वा राजेन्द्रलाई प्रधानमन्त्री किस्तीमा दिए पनि हुन्छ ।

यसो गर्न सकेमा एकैपटक प्रचण्ड र ओली दुवैलाई दनक दिन सक्ने अंकगणित संसद्मा कायम छ । कांग्रेसको वर्ग चरित्रअनुसार त गर्नुपर्ने नै त्यही हो । यस्तो गठबन्धन नै गगनहरूको समाजवादी यात्राका लागि प्रचण्डमार्गको विकल्पमा कांग्रेसी मार्ग हुन सक्छ । त्यसले विशृंखलित वामपन्थीलाई आफ्नो वास्तविक धरातल देख्न पनि सहयोग नै पुग्छ । जसरी कांग्रेसका लागि विकल्पहरू देखिन्छन्, त्यो भन्दा कैयौं गुना बढी सजिलो विकल्प फेरि पनि प्रचण्डकै लागि छ ।

दोस्रो जनआन्दोलनपछि कोइरालाविरोधी र देउवालाई समेत नरुचाउनेले गगनलाई कांग्रेस मुक्तिको नायकजसरी बेलुनमा हावा फुक्ने काम गरेका हुन् । समाजवादी चिन्तक प्रदिप गिरि र नरहरि आचार्यले पनि कोइराला र देउवाको भारी बोक्नुभन्दा गगनलाई अघि सारेर बुढाहरूमाथि मनोवैज्ञानिक दबाब सिर्जना गर्ने सुतीखेती गर्दा गगनले भुइँ छाडेको यतिबेला प्रदर्शित वैचारिक टाटपल्टाइले प्रस्टै गरेको छ । यद्यपि कांग्रेस र माओवादी आपसमा सजिलै मिल्ने तत्त्व भने होइनन् नै ।

बीपी कोइराला पटक–पटकको सशस्त्र क्रान्ति असफल भएपछि ०३३ मा राष्ट्रिय मेलमिलाप भन्दै स्वदेश फर्कनेबित्तिकै दरबारियाहरूले सराप्थे । त्यसभन्दा कैयौं गुना बढी आफ्नो सशस्त्र युद्धलाई शान्तिपूर्ण रूपमा अवतरण गराएर प्रचण्डले बहुदलीय प्रतिस्पर्धात्मक शासन व्यवस्थाको नेतृत्वमा पुगेको कुराको बद्ख्वाइँ सुरुदेखि नै कांग्रेसभित्रैबाट हुँदै आएको छ । त्यो मनोदशामा गिरिजाप्रसाद कोइरालाको प्रचण्ड सहमतिलाई समेत अस्वीकार गर्ने प्रवृत्ति अहिलेको देउवा कांग्रेसभित्र झनै प्रखर छ । यद्यपि कांग्रेसले पहिलो पार्टी बन्न उनै प्रचण्डसँग नमिली सुखै थिएन भन्ने कुरा पछिल्ला निर्वाचनले प्रस्टै गरेको छ । विडम्बना त यतिबेला प्रचण्डको विरोधी मोर्चाको नेतृत्व गणतन्त्रवादी आन्दोलनका कांग्रेसी आइकन मानिएका गगन थापाले गरिरहेका छन् ।

कांग्रेसी जीवनकालको एउटा रोचक प्रसंग छ । उतिबेला बीपीलाई लल्कार्नेहरूले भन्ने शब्दावली र यतिबेला प्रचण्डलाई प्रहार गर्नेका वाक्यमै गज्जबको तालमेल देखिएको छ । ‘जुन व्यक्तिले नेपालले राष्ट्रसंघको सदस्यता पाउनमा विघ्नबाधा हाल्यो, जसले नेपालको अन्तर्राष्ट्रिय व्यक्तित्व उपर कलुषपूर्ण वक्तव्यबाजी गर्‍यो, जसले नेपाललाई आफ्नो राज्यमा मिलाउन एउटा विदेशी राष्ट्रलाई निम्ता दियो, जो विदेशीहरूको संरक्षणमा बस्न पाउँदा गौरवान्वित हुन्थ्यो र जसले विदेशी परिपत्र लिएर युरोप यात्रामा गएको थियो, उही अब राष्ट्रियताको नारा दिइरहेको छ ।’ (नयाँ सन्देश साप्ताहिक, २२ पुस २०३३) ।

‘बीपी नै राष्ट्रविरोधी तत्वका नेता हुन् भन्नेमा कुनै शंका छैन । ती तत्त्वहरूलाई यिनैले बन्दुक र बम दिएर नेपाल र नेपाली जनतालाई समाप्त पार्न पठाएका थिए, र उनै आज स्वदेश फर्केका छन् ।’ (साप्ताहिक प्रतिध्वनि, २२ पुस २०३३) । उतिबेला दरबारिया मण्डलेहरूले उनीहरूका पत्रिकामार्फत भन्थे, यतिबेला गगनका अनुयायीदेखि रवीन्द्र मिश्रहरूले दैनिक यस्तै शब्द र भाषामा प्रचण्डलाई सरापेर दिन गुजारिरहेका छन् ।

प्रदिप गिरिले बीपी कोइरालको चित्रण गर्दा भनेजस्तै ‘आफ्ना राजनीतिक आकांक्षालाई समेत सैद्धान्तिक जामा पहिराउने दक्षता राख्ने’ प्रचण्डले यही काम शान्ति प्रक्रियाका १८ वर्षमा पटकपटक दोहोर्‍याउँदा पनि म्याक्सवेबरका शब्दको ‘करिस्म्याटिक‘ व्यक्तित्व बचाएकै छन् । यसरी जस्तोसुकै अनुकूल–प्रतिकूल अवस्थालाई पनि आफ्नो बशमा राख्ने प्रचण्डसँग असान्दर्भिक र असमयमा कांग्रेसीवृत्तबाट गरिएको छेडखानी उनीहरूकै लागि आत्मघाती हुने निश्चित छ । नेतृत्वशास्त्रका अध्येताहरूले महान् नेताको सिद्धान्तउपर छलफल गरेका छन् । एकातिर नेता भनेको केही हुँदै होइन भन्ने सिद्धान्त छ । अर्कोतिर नेता नै सबथोक हो भन्ने आग्रह छ ।

खासमा नेता बन्ने र नेता बनाउने भनेको तत्कालीन परिस्थिति र परिवेशले हो । बेलाबखतमा महान् नेता आफ्नो महानता र शक्तिमत्ताको जयजयकारमा आफ्नो सीमा र सँघार बिर्सिन्छन् । मैले चाहँदा जे पनि गर्न सक्छु भन्ने अहंको सिकार हुन्छ । परिवार, जातभात, वर्ग र समाजलाई बिर्सिएर व्यक्ति होइन, पार्टीले पनि जे चाह्यो त्यो गर्न सक्दैन न त कुनै शक्तिशाली राज्यले नै गर्न सक्छ (गिरि प्रदिप : २०७८) ।’ दिवंगत चिन्तक गिरिले अहिलेका मुख्य तीन दलका प्रमुख नेताहरूकै लागि तोकेर संश्लेषण गरेजस्तो उपरोक्त संकथनलाई मनन गर्नु उपयोगी हुनेछ ।

प्रकाशित : फाल्गुन ८, २०८० ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हदबन्दीमाथिको जग्गा सट्टापट्टा मात्र होइन, बिक्री नै गर्न पाइने विधेयक संघीय संसद्‌मा पुगेको छ । यस्तो विधेयकलाई अब के गर्नुपर्छ ?