कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

दक्षिणी मनसुनको बाछिटा थाप्ने प्रतिस्पर्धा

चन्द्रकिशोर

भुइँतहमा जे हुँदै छ, त्यसलाई टुप्पोवालाहरूले कसरी हेरिरहेका छन् ? अहिले ‘सोसल मिडिया’ मा जे चलिरहेको छ, त्यसलाई निफन्ने कसरी ? आज जुन आशा र निराशा उब्जिएको छ, त्यसको स्रोत के हो ? २०६२–६३ को आन्दोलनले गणतन्त्रको ढोका खोल्यो ।

दक्षिणी मनसुनको बाछिटा थाप्ने प्रतिस्पर्धा

तत्पश्चात् बीचबीचमा कहाँकहाँ गजबार लाउने, कहाँ चुकुल राख्ने, कहाँ सानो ढोका राख्ने, कहाँ झ्याल राख्ने भन्ने कुरामा अलमल वा चुक कसरी भयो ? संविधान घोषणा गर्दा जति चुनौती थिए, त्योभन्दा सघन, बहुकोणीय र जटिल चुनौती अहिले कसरी भयो ? धार्मिक गतिविधिहरूको बढ्दो प्रभावले राजनीतिलाई कता धकेल्ला ?

मूल्य वा विचारमा आधारित आन्दोलन या राजनीतिक ‘एक्सन’ को वैधताको सफलताको एउटा महत्त्वपूर्ण सर्त हुन्छ— भुइँतहको वास्तविकता जान्ने–बुझ्ने योग्यता । यसबाटै मुलुकलाई फेरि अर्को संक्रमणकालमा फसाउने जोखिमबाट रोक्न सकिन्छ । यसबाटै साँघुरो पार्न खोजिएका लोकतान्त्रिक बाटाहरूलाई जोगाउँदै फराकिलो पार्ने सामूहिक चेत विकास गर्न सकिन्छ । यसलाई म निराशाभन्दा पनि चुनौतीका रूपमा लिन्छु । अहिलेका समस्याको विकल्प नयाँ व्यवस्था, नयाँ संविधान हुन सक्दैन, बरु वर्तमान संविधानमै आवश्यकता हेरी संशोधन गर्न सकिन्छ, गर्नॅपर्छ । यस आलेखमा बढ्दो सनातन गतिविधिको राजनीतिक अर्थलाई केलाउने कोसिस गरिएको छ ।

राज्य र धर्म

राज्य र धर्मबीचको सम्बन्ध परिभाषित गर्नु कम चुनौतीपूर्ण हुँदैन । यसबारे शताब्दियौंदेखि वादविवाद चलिरहेको छ । आस्था (धार्मिक) र अवधारणा (राजनीतिक) बीच स्वतन्त्रता वा अन्तरघुलनको अवस्था के छ ? हामीकहाँ अहिले विकसित हुँदै आएको भगवा लहरले सार्वजनिक तथा व्यक्तिगत जीवनमा केकस्तो प्रभाव पार्छ ? राज्य र धर्मलाई दुई स्वतन्त्र अस्तित्व भएका विषयका रूपमा कसरी लिने ? भुइँतहमा जुन आकर्षण र सहभागिता देखिएको छ, त्यो केवल सांस्कृतिक–धार्मिक हो कि राजनीतिक अभीष्ट पनि बोकेको छ त्यसले ? जवाफका लागि नेपाल र भारतमा देखिएको भगवा लहरबीचको भिन्नता छुट्याउन जरुरी छ ।

भारतमा झाँगिएको भगवा लहरको बाछिटाले नेपालको सामाजिक–राजनीतिक जीवनमा केकस्ता प्रतिक्रियाहरू जन्माउँदै छ ? त्यसबारे गहन विमर्श हुन सकिरहेको छैन । हाम्रा विमर्शहरू आफ्नै सन्दर्भहरूमा केन्द्रित हुनुपर्ने हो । एकोहोरो बुझाइ र प्रतिक्रियाले नेपालको संविधानका चारवटा खम्बा गणतन्त्र, लोकतन्त्र, संघीयता र समानुपातिक समावेशितालाई आघात पुर्‍याउन सक्छ । धार्मिक स्वतन्त्रता र धर्मको राजनीतिबीच मोटो भेद छैन । यसलाई सही ढंगले व्यवस्थापन गर्न नसक्दा ‘क्लिन बोल्ड’ हुन सकिन्छ । धार्मिक उभारलाई कुन दिशा दिने ? कुन रूपमा हेर्ने ?

नेपालमा शाहवंशीय राजाहरूले विगतमा हिन्दु धर्मलाई राजनीतिक हतियारका रूपमा प्रस्तुत गर्न खोजे । अहिले अन्तिम राजा ज्ञानेन्द्र शाह आफ्नो इतिहासलाई भगवाकरण गर्ने कोसिसमा छन् । हिजो धर्मको बर्को राजाहरूले ओढे जसको केन्द्रमा बहुलतावाद होइन, अधिनायकत्व थियो । आफ्नै जनतालाई किनारीकृत गर्न कहिले ‘उग्र अधिनायक’ त कहिले ‘उदार तानाशाह’ को काँचुली फेरिरहे राजाहरूले । तर आम मानिसमा संस्कार र सभ्यताका रूपमा स्थापित हिन्दु धर्म शताब्दियौंदेखि रहिरह्यो र अझै छ । हिन्दु धर्मको प्राचीनता वा सनातनताले ‘वसुधैव कुटुम्बकम्’ वा ‘सर्वे भवन्तु सुखिनः’ को मान्यतालाई लोकजीवनमा गति र मति दिँदै आयो । यो एक जीवनशैलीका रूपमा विकसित हुँदै आयो ।

जनकपुरमा ‘किशोरीजी’ हुर्किइन् र अयोध्याका रामसँग विवाह भएको कथा जनमनमा व्याप्त छँदै छ । ‘सियाराम मय सब जग जानी, करहु प्रणाम जोरी जुग पानी’ भन्ने भाव छ, प्रकृतिदेखि व्यक्तिसम्ममा तिनको उपस्थिति छ । लोकमानसमा राम पुस्तौंदेखि बसिरहेका छन् । लोकमा रामको विराटता र व्यापकता यस्तो छ कि जीवनको प्रत्येक मोडमा राम गाँसिएका छन् । सत्ताका राम र लोकका राममा तात्त्विक भिन्नता छ । एउटा लोकोक्ति छ, ‘रामजी के चिरई रामजी के खेत, खा ले चिरईया, भर भर पेट’ । अभिप्राय हो, मान्छेहरूले आर्जेको भोजन वा संसाधनमाथि सबै जीवको हक छ । यो सबै रामकै हो, रामकै चराचुरुंगी हुन्, रामकै खेत पनि हो । यसैले चराचुरुंगीले पहिला भरपेट खाएपछि मात्र अरूको पालो आउने गर्छ । यो मान्यता उन्नत, लोकतान्त्रिक एवं प्रगतिशील छ । ‘राजा सबैको साझा’ कुनै कालखण्डमा खुब घन्काइयो तर शक्तिशाली र निर्धोबीच एउटै कानुनको असमान प्रयोग त्यस बखतको वास्तविकता थियो ।

उस्तैउस्तै टल्किने तर भिन्न

भारतमा धर्मका आधारमा राजनीतिक ध्रुवीकरण र मुलुकको विभाजनको घाउ छ । त्यहाँ हिन्दुत्वको राजनीतिक संघर्ष तिनको स्वतन्त्रताप्राप्तिको इतिहासभन्दा पनि पुरानो छ । र, यतिखेर त्यो मूलाधार बनिसकेको छ । त्यहाँ यसको पक्ष र विपक्षमा दशकौंदेखिको घनीभूत बहस र विवाद छ । यसले एउटा उचाइ लिएर कैयौं विरोधाभास एवं विसंगतिहरू विस्तारित गर्न थालेको आक्षेप झेलेको छ । भारतमा हिन्दुत्व बलियो राजनीतिक सिद्धान्तको रूप ग्रहण गरी संगठन र सत्तामा प्रभावशाली रूपमा स्थापित भएको छ । त्यसले आज सत्ता शिखरमा पुगेर जुन वर्चस्व प्राप्त गरेको छ, त्यो एकाएक भएको होइन । सुदीर्घ रणनीति, प्रतिबद्ध कार्यकर्ता र वैचारिक एकाग्रताको परिणाम हो त्यो । स्वतन्त्रता संघर्षको पर्याय रहेको भारतीय कांग्रेस, बदलावको संकल्प लिएका समाजवादी विचारधाराहरूलाई धक्का दिँदै अगाडि आएको हो त्यो । त्यसले अन्य राजनीतिक शक्तिलाई कडा प्रतिस्पर्धा दिन सम्भव भयो कसरी ? यो नेपालका लागि पाठ हुन सक्छ ।

तर नेपालमा यो भर्खर टुसाउन लागेको छ । यहाँ लोकतान्त्रिक सिद्धान्तको राजनीति मत्थर भएपछिको मौसमी सुक्खामा यो टुसाउन खोज्दै छ । २०६२–६३ को आन्दोलनका बेला मूल्यको राजनीतिले उभार लिएको थियो, त्यतिखेर पनि हिन्दुत्वको राजनीतिक बीउ छर्ने कोसिस भयो तर बाली सप्रिन सकेन । यतिखेर हिन्दुत्वको अवधारणाको स्वामित्व लिन अहिलेसम्मकै चिनिएका मूलधारे दलहरूबीच नै रस्साकसी चलेको छ । यसलाई ‘ऐलानी’ राजनीतिक स्पेस ठानेर प्रत्येक राजनीतिक महत्त्वाकांक्षा भएका शक्तिहरू सलबलाएका छन् । पुराना–नयाँ, लोकतान्त्रिक–वामपन्थी–दक्षिणपन्थी सबै तम्सिएका छन् ।

लोकतान्त्रिक नेपालमा कहिल्यै राजनीतिको आधार धर्म बनेन, तर अहिले लोकतान्त्रिक शक्तिहरू अविश्वसनीय बन्दै हिन्दुत्वको बर्को ओढ्न लोभिएका छन् । फेरि हिन्दुत्व राजनीति र हिन्दु सनातन गतिविधि फरकफरक हुन् । सनातन गतिविधिको सार्वजनिक प्रदर्शन बढेको छ । धर्म व्यक्तिको निजी विषय हो, तर अहिले व्यक्ति र परिवार हुँदै सामूहिकताका साथ ऐक्यबद्ध हुन थालेको छ । नेपालका दलहरूले धार्मिक गतिविधिमा संलग्न हुन, स्वामित्व लिन र सरोकार देखाउन थालेका छन् । तर उनीहरूसँग छिमेकीको जस्तो मार्गचित्र छैन । यहाँ एक प्रकारको अवसरवाद झल्किन्छ ।

दक्षिणमा हिन्दुत्वको राजनीतिले ‘अरू’ को हो भनेर किटानी गरिसकेको छ । अल्पसंख्यकहरू दबाबमा छन् । यता ‘धर्मनिरपेक्षपन्थी’ लाई शत्रु बनाउने कोसिस भइरहेको छ । बढ्दो हिन्दु गतिविधिलाई आ–आफ्नो राजनीतिक झोलामा हाल्ने दाउपेच पनि कम चाखलाग्दो छैन । कोही २०६२–६३ को परिवर्तनलाई डढाउन खोज्दै छन् र राजा फर्काउन चाहन्छन् । राजसंस्था कि राजतन्त्र वा राजा आएपछि राज्यको स्वरूप कस्तो हुन्छ भन्ने सवालमा हल्ला गर्नेहरूको मुट्ठी बन्द छ ।

सनातनपन्थीहरूमा सार्वजनिक मुखरता र आत्मविश्वास जसरी प्रकट हुन थालेको छ, त्यसलाई आफ्नो ऊर्जा ठानेर राजावादीहरू हौसिएका छन् । तर स्थिति उनीहरूले सोचे जस्तो पक्कै छैन । हो, नेपालको वर्चस्ववादी तप्का यो उभारमा संघीयता र समानुपातिक समावेशितालाई फाल्न पाए हुन्थ्यो भन्ने सोच्छ । कसैले संघीयता र समावेशितालाई डढाउन पाए गणतन्त्र पनि स्वाहा हुने थियो भनी सपना देखिरहेका छन् । कोही केवल धर्मनिरपेक्षता र संघीयताको बलि चाहन्छन् । यसरी नेपालमा भगवा उभारको भीडमा भिन्न–भिन्न मान्यता भएकाहरू रहेको बुझ्न सकिन्छ । सबै आआफ्नै लय र तालमा प्रयोग भइरहेका छन् ।

भारतमा हिन्दुत्व वैचारिकी निर्माणका लागि साहित्य लेखन, फिल्म निर्माण, थिंकट्यांकहरूको स्थापना, स्कुल सञ्चालन, विचारधाराका लागि संगठनात्मक ढाँचा निर्माण दशकौंदेखि हुँदै आएको छ । यता नेपालमा त्यो विचारधारा उधारोमा लिइएझैं लाग्छ । त्यसमाथि यहाँ त्यस्ता विचारधारा भएकाहरूको दृष्टि नै पुगेको छैन । यहाँ यसको आवश्यकता, सान्दर्भिकता र मौलिकता के छ ? त्यसमा गम्भीर विमर्श देखिँदैन । भारतमा राष्ट्रिय स्तरमा हिन्दुत्व राजनीतिलाई अनुसरण गर्ने एक मात्र भारतीय जनता पार्टी छ र त्यसले अन्य पार्टीलाई भित्तामा पुर्‍याएको छ । तर यहां सबै पार्टी लोटा लिएर गंगाजलका लागि तँछाडमछाड गरिरहेका छन् । उता यो विचारकै रूपमा आयो र यतिखेर झाँगियो । भारतको विभाजनकै बेलादेखि भित्रभित्रै सल्किँदै आएको विचार यतिखेर दनदनी बलिरहेको छ, जसका सामु बाँकी राजनीतिक शक्तिहरू निष्फल साबित भइरहेका छन् । भारतमा भगवा लहर छल्न कुनै राजनीतिक दलले उदार हिन्दुत्वको गोरेटो समात्न त कुनैले जातीय अतिवादलाई प्रश्रय दिन खोजिरहेका छन् ।

तर नेपालमा यो सिद्धान्तको राजनीति कोमामा गएको ठानेर पालकीमा बोकेर ल्याइँदै छ । यसलाई दक्षिणपन्थीहरूले पनि आफू पुनर्जीवित हुने उपयुक्त अवसर ठानेका छन् । आमजनमा धार्मिक गतिविधिहरूको सार्वजनिक प्रदर्शन बढेको छ । सार्वजनिक प्रदर्शनमा थिचिएका मनोभावहरू मानौं पहिलो पटक प्रकट भइरहेका छन् । तर पश्चगामीहरूले के बुझेका छैनन् भने, यो नितान्त तरल अवस्था हो । ज्ञानेन्द्र शाहलाई हेर्न देखा पर्ने भीड राप्रपाको एकलौटी मतदाता होइन । यो भीड फर्किएर फेरि विभिन्न दलका खोपीमा जाने गरेको छ । उता प्रमुख एउटै दल छ जसले यो अवधारणालाई आफ्नो प्राणवायु मानेको छ, यता सबै दल आ–आफ्ना लोटामा दक्षिणी मनसुनको बाछिटा थाप्ने प्रतिस्पर्धामा छन् । राप्रपाका अनुहारहरू वा स्वयं पूर्वराजा ज्ञानेन्द्रले आफू एक्लै अंशियार रहेको दाबी गर्न सकेका छैनन् । वर्तमान व्यवस्थाका लागि हिन्दुत्वको राजनीतिले घात गर्दैन भन्ने मत राख्नेहरूको सरल तर्क छ, ‘यहाँ सबैले त्यसलाई वरण गरेका छन् ।’ तर प्रस्ट रूपमा छुट्याउन जरुरी छ— अहिलेको उदार लोकतान्त्रिक परिवेशमा हिन्दु गतिविधिको सार्वजनिक प्रदर्शन गर्ने आत्मविश्वास बढेको हो कि हिन्दुत्व राजनीतिको सार्वजनिक स्वीकृति बढ्दै गएको हो ?

एकताका ‘जय मधेश’ को नारा सुनिने मधेशको सुदूर देहातमा पनि बिस्तारैबिस्तारै ‘जय सियाराम’ गुन्जिन थालेको छ । ‘मेरी झोपडी के भाग, आज खुल जाएंगे, राम आएंगे’ जस्ता गीतहरू बज्न थालेका छन्, ‘क्रोधित हनुमान’ अंकित भगवा ध्वज घर, सडक वा सवारीमा फरफराउने फेसनजस्तै आएको छ । हिन्दुत्वको दक्षिणी आँधीले सामाजिक–सांस्कृतिक क्षेत्रमा मात्र होइन, बजारलाई पनि आप्लावित गरिरहेको छ । उताका सामाजिक सञ्जालमा प्रचलनमा राखिएका प्रतीकहरू वा सार्वजनिक भाष्यका लागि निर्माण गरिएका प्रतीक–तस्बिरहरू यहाँ पनि सघन रूपमा प्रचलित हुँदै छन् । तर ती संकथनहरूबारे यहाँ व्याख्या–विश्लेषण त्यति साह्रो छैन ।

भीडमाथि सपना

भारतमा इतिहासको पुनर्खोज, पुनर्लेखनजस्ता गतिविधिहरू चलेका छन् । त्यहाँ क्षेत्रीय (भारतकै विभिन्न भूगोलबीच) मिथ, प्रतीक, गाथाका माध्यमबाट तालमेल गर्न खोजिएको देखिन्छ । गणतान्त्रिक नेपालमा आदिवासी जनजातिलाई न्यायपूर्ण निकास दिन अहिलेका शक्तिहरूमाथि ठूलो दबाब छ । यस्तोमा हिन्दुत्वको राजनीतिले कस्तो रबैया अपनाउला, त्यो हेर्नै बाँकी छ ।

कतिपय हिन्दुत्ववादीको बुझाइमा, मधेश आन्दोलनले पहाड र मधेशका बासिन्दाबीच दूरी बढायो तर हिन्दुत्व अवधारणाले जोड्ने काम गरिरहेको छ । यस्तो दृष्टिकोणमा असहमत हुनेहरूको बुझाइमा, हिन्दुत्वको राजनीतिले जनजातिहरू टाढिँदै गएका छन् । यहाँ भीड छ जसले केवल छिमेकीको देखासिकी गर्छ । त्यहाँ एउटा व्यूह रचनाले भीड निर्माण गरिएको छ, यता आफैं निर्माण हुँदै आएको भीडमाथि राजनीतिक रोटी सेक्ने सपना बुनिएको छ ।

प्रकाशित : माघ २५, २०८० ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?