२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

नवीन क्रान्तिका लागि संविधान संशोधन

संविधानलाई ‘प्यान्डोरा बक्स’ ठानेर संशोधन प्रक्रियामा जानै हुँदैन भन्ने दृष्टिकोण राख्नु वा क्रान्तिका युगीन उपलब्धिहरूलाई धराशायी तुल्याउने कुत्सित मनसाय राखेर संशोधन वा खारेजीसम्मको कुरा उठाउनु दुवै गलत विचार–प्रवृत्ति हुन् ।
खिमलाल भट्टराई

जननेता मदन भण्डारीको एउटा भनाइ छ— जीवनको रङ हरियो हुन्छ, सिद्धान्तको रङ खैरो हुन्छ । जीवन बदलिइरहने हुनाले सिद्धान्तले पनि आफूलाई अपडेट गरिरहनुपर्दछ । अपडेट गर्न नसके त्यसले जीवनलाई मार्गदर्शन गर्न सक्दैन र त्यो आफैंमा जडसूत्र बन्न पुग्दछ । कुनै पनि देशको संविधान त्यहाँको राज्य सञ्चालनका लागि मार्गदर्शक सिद्धान्तकै रूपमा रहेको हुन्छ । संविधानले त्यस मुलुकभित्र तत्कालीन अवस्थामा मानवीय जीवनको प्रतिनिधित्व र नेतृत्व गरिरहेको हुन्छ । यद्यपि मानव जीवनमा बदलाव आइरहने भएकाले बदलिएको जीवनलाई प्रतिनिधित्व गर्नका लागि संविधानले पनि आफूलाई अपडेट गर्न जरुरी हुन्छ ।

नवीन क्रान्तिका लागि संविधान संशोधन

नेपालको संविधान–२०७२ साना दुःखले आर्ज्याको होइन । यसको पृष्ठ भागमा हजारौंको बलिदान, त्याग र जीवनको समर्पण छ । हाम्रो संविधान युगमा एक पटक सम्भव हुने संविधानसभाबाट निर्माण भएको दस्तावेज हो । २०६२–६३ मा जनक्रान्ति सम्पन्न भयो, जनक्रान्तिबाट संविधानसभा सम्भव भयो र त्यही संविधानसभाबाट नेपालको संविधान–२०७२ को निर्माण भएको हो । यसका पछाडि क्रान्तिको राप र तापका साथै तत्कालीन मुलुकको राजनीतिक शक्ति सन्तुलनको छाप परेको छ ।

यस संविधानले नेपालको राजनीतिक घटनाक्रममा एउटा युगलाई अन्त्य गर्दै नवीन युगको सूत्रपात गरेको छ । राजतन्त्रको स्थानमा लोकतान्त्रिक गणतन्त्र, एकात्मक राज्यको ठाउँमा सङ्घीयता, धर्मसापेक्ष राज्यको ठाउँमा धर्मनिरपेक्षता, समावेशीता र मिश्रित निर्वाचन प्रणालीजस्ता क्रान्तिले स्थापित गरेका युगीन उपलब्धिहरूलाई यही संविधानले संस्थागत गरेको छ । यो संविधानले संस्थागत गरेका राजनीतिक उपलब्धिहरू, जनताका हक र अधिकारहरू, सामाजिक–सांस्कृतिक मूल्यमान्यताहरू, आर्थिक प्रणाली र राज्य संरचनाजस्ता सम्पूर्ण विषयलाई अगाडि राखेर मूल्याङ्कन गर्दा हाम्रो संविधान संसारका उत्कृष्ट संविधानहरूभित्र पर्दछ ।

यद्यपि संविधान लागू भएको आठ वर्ष भइसकेको छ, अबका दिनमा यसको समीक्षा गरेर कमजोरीहरूलाई संशोधनका माध्यमबाट हटाउँदै जनताका अपेक्षाहरू र देशको आवश्यकतालाई सम्बोधन गर्नुपर्ने भएको छ । र परिस्थितिले फेरि एउटा नवीन क्रान्तिको आवश्यकता बोध गराइरहेको छ ।

यसलाई राजनीतिक दलहरूले नजरअन्दाज गर्न मिल्दैन र अनावश्यक ढिलाइ पनि गर्न हुँदैन । मूलतः जनक्रान्तिको अगुवाइ गरेका र स्थापित व्यवस्थाको अपनत्व अनुभूति गर्दै आएका राजनीतिक शक्तिहरूले नै यसको नेतृत्व गर्नुपर्दछ । यसको तात्पर्य, फेरि पनि नेकपा एमाले, नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रले अरूलाई पनि समेटेर यसको नेतृत्व लिनुपर्दछ ।

संविधान संशोधनको आवश्यकता किन पर्‍यो भन्ने प्रश्नमा हामी कसैले पनि अतिवादी दृष्टिकोण राख्नु हुँदैन । संविधान संशोधनको आवश्यकता छ र नगरी नहुने अवस्था भएको छ तर संविधानलाई ‘प्यान्डोरा बक्स’ ठानेर संशोधन प्रक्रियामा जानै हुँदैन भन्ने दृष्टिकोण राख्नु वा क्रान्तिका युगीन उपलब्धिहरूलाई धराशायी तुल्याउने कुत्सित मनसाय राखेर संशोधन वा खारेजीसम्मको कुरा उठाउनु दुवै गलत विचार–प्रवृत्ति हुन् । यस्ता विचार–प्रवृत्तिहरूबाट जोगिँदै संविधान कार्यान्वयनका अनुभवहरूको जगमा यसप्रतिको व्यवहारलाई निरूपण गर्नुपर्दछ ।

संविधानको कार्यान्वयन हुँदै जाँदा यी आठ वर्षमा मुलुकको राजनीतिले धेरै अनुभव लिइसकेको छ । तीतो यथार्थ के छ भने, केही यस्ता मूलभूत प्रश्नहरू जन्मिएका छन् जसको संवैधानिक उत्तर नखोजी मुलुकको राजनीतिले सही निकास पाउनै सक्दैन । यस लेखमा यिनै प्रश्नमाथि घोत्लिने कोसिस गरिएको छ ।

प्रधानमन्त्रीको स्वविवेकीय अधिकारको सीमा के हो ? संसद् विघटन गर्ने राजनीतिक हैसियत प्रधानमन्त्रीमा रहन्छ वा रहँदैन ? संविधानले स्पष्ट पार्न जरुरी छ । संविधानमा अहिलेजस्तो व्यवस्था छ, यसले स्पष्टताको माग गरेको छ । हुन त हिजो संसद् विघटन हुँदै गर्दा सर्वोच्च अदालतको व्याख्या र फैसला आइसकेकाले अब पर्दैन कि भन्ने पनि लाग्न सक्दछ, तर यतिले पुग्ने देखिँदैन । मूल कुरा भनेको राजनीतिक दलहरूका बुझाइमा एकरूपता ल्याउनु अनि संविधानका धारा, उपधाराका शब्दहरूमा रहेका चरहरूलाई टाल्नु हो ।

यससँग जोडिएको अर्को प्रश्न पनि छ— संसद्भित्रको चरम द्वन्द्वले न संसद् चल्न सकिरहेको हुन्छ न त सरकार नै । यस्तो असाध्य परिस्थितिमा प्रधानमन्त्रीलाई संसद् विघटन गरेर नयाँ जनमतमा जाने राजनीतिक अधिकार हुने कि नहुने ?

यी विषयहरूमा राजनीतिक दलहरू र तिनका नेतृत्वले आपसी संवाद र संशोधनका माध्यमबाट एउटै धारणा बनाएर स्पष्टता ल्याउन आवश्यक छ, ताकि भोलिका दिनमा संसद् गतिहीन नबनोस् र राजनीतिक अस्थिरताबाट मुलुकलाई जोगाउन सकियोस् ।

शासकीय स्वरूपबारे पनि व्यापक बहस–पैरवी हुनुपर्ने भएको छ । चालु किसिमको संसदीय अभ्यासले हाम्रो मुलुक कहिल्यै उँभो लाग्ने देखिँदैन । विद्यमान पद्धतिबाट संसद्मा सामान्यतया बहुमत कसैको नआउने र अनेकन् जोडजाम गरेर सरकार बनाउनुपर्ने अवस्था आउँछ । आलोपालोको तरिका अपनाएर, गठबन्धन बनाएर सरकार बनाउनुपर्ने र बनाइसकेपछि पनि प्रधानमन्त्री दलहरूले दिएको विश्वासको मत फिर्ता पो गर्छन् कि भनेर डराउनुपर्ने, गठबन्धनमा भएका दलहरू र तिनका नेताहरूको चाकरी गरेर सरकार जोगाउनतिरै ध्यान केन्द्रित गर्नुपर्ने, दिन थामेर बस्नुपर्ने अवस्था बनिरहेको छ ।

सरकारले अरू विकास र समृद्धिका साथै जनताको सेवा प्रवाहको योजना निर्माण र कार्यान्वयन लगायतमा ध्यान पुर्‍याउनुपर्नेमा संसद्को जोडघटाउ गरेर बस्नुपर्ने भएपछि मुलुक कसरी अगाडि बढ्छ ? कसरी देश र जनताको आवश्यकता समेटिन्छ र हामीले स्थापना गरेको व्यवस्था जनतामाझ लोकप्रिय बन्दछ ?

यस्तो संसदीय परिपाटीमा अपवादबाहेक कहिल्यै कुनै दलको पनि एकल बहुमत आउन सक्दैन । आइहाले पनि हाम्रोजस्तो चेतना र भूराजनीति भएको मुलुकमा टिक्न मुस्किल पर्दछ । अनेकन् खेल्ने तत्त्वहरूको सिकार मुलुकको राजनीति भइराखेको तीतो सत्य हामीले भोगिराखेकै छौं । त्यसैले कसरी ढुक्क पाँच वर्ष आफ्नो अवधिभर सरकार चल्न सक्दछ र संसद्् पनि आफ्नो कार्यमा निर्विघ्न अगाडि बढ्न सक्दछ भन्ने प्रश्नमा बहस गर्न जरुरी भएको छ ।

यस अवस्थामा मुलुकको राजनीतिले नयाँ ढङ्गको यात्रा तय गर्नैपर्ने देखियो । सम्मानित राष्ट्रपति र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको नयाँ शासकीय स्वरूपले मुलुकलाई अगाडि लैजान सक्छ कि ? बहसको थालनी गरौं । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भइसकेपछि मन्त्री हुन वा बनाउनका लागि सांसद हुनुपर्ने बाध्यात्मक व्यवस्था पनि हट्न सक्दछ । यसबाट दलहरूभित्र सांसद बन्नका निम्ति हुने अवाञ्छित प्रतिस्पर्धा र जोडमा पनि कमी आउन सक्दछ र विकृत चुनावी अभ्यासमा पनि सुधार आउन सक्दछ । सरकार स्पष्ट योजना र आत्मविश्वाससाथ पाँच वर्ष चल्न सक्दछ । यो हाम्रो मुलुकका लागि निकै ठूलो र युगीन महत्त्वको उपलब्धि हुनेछ । बिनाआग्रह राजनीतिक दलहरूले यो विषयमा सकारात्मक बहसको थालनी गरौं ।

यसका अलावा यस अवधिको राजनीतिक अभ्यासले निर्वाचन प्रणालीमा आवश्यक परिवर्तनको खाँचो देखाएको छ । मिश्रित निर्वाचन प्रणाली, ठूलो सङ्ख्याको संसद् र सरकार उपयुक्त देखिएन, मुलुकका लागि । मूलतः समानुपातिक सांसद, प्रदेश सरकार र संसद्को सङ्ख्या र सेवासुविधाको औचित्य स्थापित हुन सकेको छैन । त्यसैले सङ्घीय संसद्् दुई सदनात्मक भएको हुनाले प्रतिनिधिसभाबाट समानुपातिक सांसदको व्यवस्था हटाउन र राष्ट्रिय सभाको सङ्ख्या केही मात्रामा बढाएर भए पनि संसद्लाई नयाँ ढाँचामा व्यवस्थित गर्न जरुरी देखिन्छ । प्रदेशमा सरकारको सङ्ख्या सीमित गर्नुपर्छ । यसलाई अहिलेसम्मको अभ्यासले सातसदस्यीयमा सीमित गर्दै संविधानमै किटानी व्यवस्था गर्नु वाञ्छनीय देखिएको छ ।

प्रदेश सरकार र संसद्लाई मूलतः विकास–निर्माणमा केन्द्रित कसरी गर्न सकिन्छ ? र कम खर्चिलो कसरी बनाउन सकिन्छ ? सेवासुविधामा मितव्ययीको सिद्धान्त कसरी लागू गर्ने ? यस्ता विषयमा राजनीतिक दलहरू आपसी संवादका माध्यमबाट निष्कर्षमा पुग्न जरुरी छ । हाम्रोजस्तो गरिब मुलुकमा राज्यका तर्फबाट तलब र सेवासुविधा खाने धेरै पद सृजना गर्नु बुद्धिमानी हुन सक्दैन ।

जिल्ला समन्वय समितिको खारेजी आजको आवश्यकता बनेको छ । राज्यको यो संरचनालाई जेजस्ता जिम्मेवारीहरू निरूपण गरिएका छन्, तिनलाई प्रदेश र पालिकाहरूमा स्थानान्तरण गर्न सकिन्छ । तिनलाई राजनीतिक दलहरूका कार्यकर्ता व्यवस्थापनको थलो बनाइराख्न उचित हुन्न ।

निर्वाचन पद्धतिलाई पनि समयानुकूल परिवर्तन गर्न जरुरी छ । पैसाको खोलो बग्ने, धाँधली हुने, मतदाता किनबेच हुनेजस्ता नकारात्मक प्रवृत्तिबाट निर्वाचन प्रक्रियालाई मुक्त गर्न नयाँ बहसको आवश्यकता छ । यसका निम्ति संविधान र कानुनमा केकति फेरबदल गर्नुपर्दछ, राजनीतिक दलहरू तयार हुनुपर्ने परिस्थिति बनेकोे छ ।

अब ढिलाइ नगरी यी विषयहरूमा गम्भीर बहसको थालनी गरौं । संविधान र कानुनको संशोधनका माध्यमबाट मुलुकलाई सही निकास दिऔं ।

भट्टराई एमाले पोलिटब्युरो सदस्य हुन् ।

प्रकाशित : आश्विन २६, २०८० ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?