कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

देउवा–गगन द्वन्द्वको गतिविज्ञान

गगनमाथि लागेका ‘घमन्डी, स्वार्थी र महत्त्वाकांक्षी’ आरोप केही स्वस्फूर्त र केही सुनियोजित ‘स्मियर क्याम्पेन’ जस्ता पनि छन् । तर, देउवालाई यस्तो आरोप कहिल्यै लाग्दैन, किनकि उनी बोल्दै बोल्दैनन् । सार्वजनिक रूपमा बोल्नबाट जोगिनु उनको खुबी हो ।
जैनेन्द्र जीवन

कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच आगामी दिनमा हुन सक्ने संसदीय दलको प्रतिस्पर्धा गगनका लागि कठिन चुनौती हुने जारी केन्द्रीय समिति बैठकले पनि देखायो । बैठकमा बहुमतमा रहेका देउवा खेमाका अधिकांश सदस्यले पार्टी सुधार गर्ने एजेन्डामा बहस गर्नमा भन्दा गगनप्रति तीतो पोख्नमा ऊर्जा खर्च गरे । उनीहरूका एउटै व्यहोराका समन्वित आक्रोश एवं आलोचना सुनियोजित र रणनीतिक थियो भन्ने सहजै बुझिन्थ्यो ।

देउवा–गगन द्वन्द्वको गतिविज्ञान

सात महिनापूर्व पनि आफू प्रधानमन्त्रीको उम्मेदवार भनेर संसदीय दलको नेतामा देउवासँग प्रतिस्पर्धा गरिसकेका गगन सफल/असफल जे भए पनि यो प्रतिस्पर्धाबाट अब फर्कन नसकिने विन्दुमा पुगिसकेका छन्, यो पाला सके आफैं, नसके अर्को कसैलाई भए पनि प्रधानमन्त्री बनाउने उद्घोष गरेर । जसलाई उनको घमन्ड, स्वार्थ र महत्त्वाकांक्षा भनेर परास्त गर्ने रणनीति देउवा पक्षले अपनाउन थालेको देखिँदै छ ।

देउवा पाँचचोटि प्रधानमन्त्री बनेका, वृद्ध भइसकेका र पार्टीको तल्लो पंक्ति तथा आम जनतामा अलोकप्रिय रहेकाले फेरि प्रधानमन्त्री बनाउनु देश र दलको हितमा नहुने तर्क गगनको छ । आम जनतामा त्यति लोकप्रिय छैनन्, तर पार्टी संरचना र संसदीय दल दुवैमा गगन वा अन्य प्रतिस्पर्धी नेताको भन्दा देउवाको पकड धेरै मजबुत छ । रोचक कुरा त कांग्रेसको मुख्य प्रतिस्पर्धी दल एमाले देउवाप्रतिभन्दा गगनप्रति धेरै आक्रामक देखिन्छ । प्रतिस्पर्धी दलका नेता देउवाजस्तो सहकार्य गर्न सजिलो र घिउ मान्छे हुनु आफ्ना लागि फाइदा हुने उनीहरूको बुझाइ र रणनीति होला ।

जहाँसम्म गगनले प्रधानमन्त्री बन्ने स्वार्थ र महत्त्वाकांक्षा राखेको आरोप छ, त्यो त शेरबहादुरमै अझ बढी छ । फेरि प्रधानमन्त्री हुने स्वार्थ र महत्त्वाकांक्षा राख्नु नराम्रो पनि त होइन । भएपछि निःस्वार्थ काम नगर्नुचाहिँ नराम्रो कुरा हो । देउवाले प्रधानमन्त्री भएर निःस्वार्थ काम गरेनन् । त्यसैले उनको अरू स्वार्थ र महत्त्वाकांक्षा अब देशले वहन गर्न सक्दैन । भोलि प्रधानमन्त्री भएर देश, जनता र दलका लागि गगनले राम्रो गर्छन् भने उनको त्यो स्वार्थ र महत्त्वाकांक्षै भए पनि सकारात्मक छ ।

दुवैका गुण–अवगुण

आफ्नै कमजोरी र शृंखलाबद्ध महाभूल (जस्तो कि ०५१ सालको मध्यावधि चुनाव, पार्टी फुट, प्रतिस्पर्धी एमालेको तुलनामा कमजोर रहेको संगठनको सुधारतर्फ निष्क्रियता, ०६२–६३ यता माओवादी र उसको एजेन्डालाई फाइदा पुर्‍याउने खालको राजनीतिक भड्काउ इत्यादि) का कारण ०१५ सालमा दुईतिहाइ र ०४८ र ०५६ को आम चुनावमा बहुमत ल्याएको कांग्रेस आज एक्लै आफैं बहुमत ल्याउन नसक्ने स्थितिमा छ । यो अवरोहका निम्ति देउवा पनि कम जिम्मेवार छैनन् । देशको राजनीति लामै समयदेखि अस्थिरता, कुशासन र भ्रष्टाचारले ग्रस्त हुँदा जनतामा निराशा र लोकतन्त्रप्रति नै वितृष्णा बढ्दै गएको छ, जसमा देउवा पनि कम दोषी छैनन् । यस्तोमा देश र दल दुवैलाई चाहिने नेता, पात्र भनेको फेरि उही देउवा होइन, गगन वा उनीजस्ता युवा हुन् ।

गगन तेज, गतिशील, ऊर्जावान् र करिश्मायुक्त छन्, जो देउवा छैनन् । उनीसँग देउवासँग समेत भएको ‘स्ट्रङ कमन सेन्स’ र प्रशासकीय तथा राजनीतिक सुझबुझ त छँदैछ, देउवासँग नभएको वा कमै भएको भिजन, कल्पनाशीलता, बौद्धिकता र ध्येय (पर्पस) पनि छ । गगन ‘ग्रेट कम्युनिकेटर’ हुन्, जोसँग देउवामा शून्य रहेको विभिन्न समूह र युवासँग संवाद गर्न सक्ने वाक्पटुता र संवाहक क्षमता छ । देउवामा नभएको परिवर्तनको लालसा र इच्छाशक्तिका साथै दललाई वैचारिक मार्गदर्शन गराउन सक्ने क्षमता गगनमा छ । टिम गगनमा राजनीतिज्ञ र विज्ञबाहेक परिवारका कोही सदस्य र आफन्त देखिँदैनन्, जुन रोगले उनका आलोचक देउवादेखि कम्युनिस्ट नेतासम्म थुप्रै ग्रस्त छन् । गगन आम जनतामा, खास गरी युवामा सभापति देउवाभन्दा धेरै नै लोकप्रिय रहेको कुरा त देउवापक्षीय कतिपय नेता पनि स्विकार्छन् ।

गगनमाथि लागेका घमन्ड, स्वार्थ र महत्त्वाकांक्षाका आरोप केही स्वस्फूर्त पनि छन्, केही सुनियोजित ‘स्मियर क्याम्पेन’ जस्ता पनि छन् । घमन्डको आरोप सम्बन्धमा चाहिँ उनी बढी नै सतर्क हुनुपर्ने देखिन्छ किनकि नेताको कृपापात्र बनेर नेताले नै बनाइदिएको उत्तराधिकारी हुँदा गर्व गर्ने सामन्ती सोच समाज र दल दुवैतिर प्रबल छ । त्यसले आफ्ना नेतालाई चुनौती दिएकोलाई बगावत र उत्ताउलोपना ठान्छ । हो, उनको अभिव्यक्तिमा पनि केही ठाडोपना, कर्कश र दम्भ भन्न पनि मिल्ने छनक बेलाबेलामा नदेखिने होइन, उनको लोभलाग्दो ‘पीआर’ का बावजुद । जसलाई उनले सुधार्नैपर्छ । देउवालाई यस्तो आरोप कहिल्यै लाग्दैन, किनकि उनी बोल्दै बोल्दैनन् । सार्वजनिक रूपमा बोल्नबाट जोगिने उनको खुबी नै हो ।

के गगन सर्वगुण सम्पन्न हुन् ? बिलकुल होइनन्, हो केही ‘ओभररेटेड’ हुन सक्छन् । किनकि उनी पनि अरूजस्तै थुप्रै कमजोरी रहेका नेता हुन् । जो आफ्नो क्षमता र भाग्य दुवैले साथ दिएको हुँदा छोटो समयमै यहाँसम्म आइपुगे । देश र राजनीतिका लागि घातक तवरबाट बढ्दै गएको पपुलिज्म, धेरै राजनीतिज्ञको जस्तै उनको पनि कमजोरी हो । बोल्दादेखि काम गर्दाका थुप्रै उपक्रममा उनको हडबडी, आतुरता, अधैर्य र यदाकदा छुच्चोपन पनि देखिन्छ । तर उनीमाथि हुने गरेको प्रहार र सुनियोजित बदनामीको प्रयासको मूल कारणचाहिँ उनको सक्षमता नै हो । आखिर सक्षमकै हो राजनीतिमा डाहा र आलोचना हुने, स्वस्फूर्त होस् कि प्रायोजित । २०१५ सालताका पनि बीपीकै बढी आलोचना हुन्थ्यो, केआई सिंहको हुन्थेन ।

देउवाले गुमाएको मौका

वास्तवमा देउवाले जानेको भए वा अझै जान्ने भए, यत्तिको सक्षम युवा नेतालाई आफ्नो उत्तराधिकारी घोषित गरेर भए पनि आफूप्रति निष्ठावान् बनाइराख्नुपर्थ्यो । त्यसो गर्न नमिले पनि पछि गएर पार्टी सभापति, प्रधानमन्त्री बन्ने नेता यही हो भन्नेजस्ता सार्वजनिक अभिव्यक्ति दिएरै फुर्क्याउनुपर्थ्यो र आफ्नो पकडमा राख्नुपर्थ्यो । बीपीले सुवर्णशमशेर, गणेशमान, कृष्णप्रसाद भट्टराई, सूर्यप्रसाद, तुलसी गिरीसम्मका एकसे एक सक्षम नेतालाई आफ्नो मन्त्रिमण्डलमा ‘सबोर्डिनेट’ भूमिकामा राखेका थिए । देउवा मौका पाएर पनि बीपीका अनुयायी हुन सकेनन् । देउवाले जे बल र शक्ति आर्जन गरे त्यो पार्टी र राज्यसत्ताको नेतृत्वमा बसेरै वा बसेको फाइदा लिएरै आर्जन गरेका हुन् ।

पञ्चायतविरुद्ध संघर्ष र त्याग गरेको वा पार्टीमा गिरिजा कोइरालाको एकलौटीविरुद्ध साहसिक चुनौती दिएको ब्याज त उनले उहिल्यै असुलिसके । अहिले उनी मूल्यहीन राजनीति, सत्तालिप्सा, अकर्मण्यता, गुटबन्दी, परिवारबाद र आफन्तवादको पर्याय नेता बनेका छन् । तैपनि पार्टीमा अरूभन्दा मजबुत रहेको र संसद्मा कुनै दलको पनि बहुमत नआएको तरल अवस्थाको लाभ उनलाई मिलिरहेको छ । यस्तोमा उनी छउन्जेल सधैं आफैं प्रधानमन्त्री हुने लोभ, त्यसपछि बढ्ने अलोकप्रियताले पार्टीलाई अरू घाटा लाग्ने स्थितिको अन्त्य गर्न पनि पार्टीका कोही न कोही अघि सर्नैपर्ने थियो । त्यो काम गगनले गरे ।

हो, शेखर कोइराला पनि देउवाको विकल्पमा एउटा राम्रो नेता हुन सक्छन् । पारिवारिक विरासतबाट आएकामध्येमा उनी अब्बल छन् । तर आजको बिग्रेको राजनीतिबाट देश र दल दुवैलाई पार लाउने सम्भावना र क्षमता भएको नेता भनेको गगनजस्ता युवा नै हुन् । विश्वप्रकाश, प्रदीप पौडेल, गुरु घिमिरेजस्ता युवाले पनि यतिखेर आफूहरूमध्येबाट गगनलाई नै अघि सारिसकेका छन् ।

तर, गगनले धैर्य गुमाएर पार्टी फुटाउनु भने हुँदैन । देउवाले पार्टी फुटाएको परिणाम सबैको स्मृतिमा ताजै छ । त्यसैले पार्टीभित्रै बसेर लड्नपर्छ । लड्न छाड्न हुन्न । उमेर छ, आजै नआए भोलि अवसर आउँछ । महाधिवेशनमा सर्वाधिक मत ल्याएर जित्ने उनी र उनका वैचारिक सहयोगी विश्वप्रकाशहरूकै जिम्मामा दल र देशसमेतको बागडोर आज नआए पनि भोलि आउँछ । तर धेरै ढिला भएचाहिँ भन्न सकिन्न । अबका चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता नयाँ दल र अनुहारले कांग्रेसको मत र जनाधार अरू खोस्दै लान सक्छन्, जसको प्रारम्भिक संकेत गत आम चुनावले देखाइसक्यो । देउवा र गगन लगायतका सबै कांग्रेसीले बुझून् !

प्रकाशित : श्रावण ८, २०८० ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?