राजीनामा बोकेर हिँडेका छौं : मन्त्री श्रेष्ठ

सरकारमा सहभागिताको विषयमा रास्वपाले आन्तरिक समीक्षा गर्नुपर्नेमा जोड

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले कुनै पनि विषयमा सम्झौता गर्नुपर्ने अवस्था आए सरकारबाट बाहिरिने बताएका छन् । युवा तथा खेलकुदमन्त्रीसमेत रहेका श्रेष्ठले सरकारमा रहेका रास्वपाका मन्त्रीहरूले राजीनामा पत्र बोकेर हिँडिरहेको र त्यसमा मिति मात्रै लेख्न बाँकी रहेको बताएका हुन् । 

राजीनामा बोकेर हिँडेका छौं : मन्त्री श्रेष्ठ

रास्वपा स्थापना दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले सरकार पुरातन शैलीमा कर्मकाण्डी हिसाबले चलेको अनुभव भइरहेको बताए । सत्तारूढ दलहरूबीच नीति तथा कार्यक्रम र बजेटलगायत विषयमा छलफल एवं सत्ता गठबन्धन बनेको एक सय दिन पुग्दासमेत समीक्षा नभएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।

‘हामीले सरकारको नेतृत्व गरिरहेका छौं तर सत्ता अहिले पनि पुरातन शैलीमा कर्मकाण्डी हिसाबले उपलब्धि नहुने गरेर चलिरहेको छ । हामी दुई धारे तरबारको बीचमा चलिरहेका छौं,’ मन्त्री श्रेष्ठले भने, ‘केही चिजमा हामीलाई अनावश्यक, अनधिकृत हिसाबले सम्झौता गर्नुपर्‍यो भनेदेखि त्यो दिन रास्वपा सरकारबाट बाहिर आउन अहिले नै तयार छ । हाम्रो राजीनामा पत्रमा मिति मात्रै लेख्न तयार छ, हामी तयार गरेरै बोकेर हिँड्या छौं ।’

सरकारमा सहभागिताको विषयमा रास्वपाले पनि आन्तरिक समीक्षा गर्नुपर्ने मन्त्री श्रेष्ठले बताए । सरकारमा सहभागी भएको एक सय दिन पुगेको र यसबीचमा सरकारका योजना तथा बजेटका विषयमा सार्वजनिक रूपबाट सही टिप्पणी नआएको विषयमा सचेत भएर समीक्षा गर्नुपर्ने उनको भनाइ छ । पार्टीभित्र सरकारमा सहभागिताबारे समीक्षा हुनुपर्ने माग उनले राखेका हुन् ।

‘वर्तमान राजनीतिक परिस्थितिमा एकपल्ट हामी जिम्मेवार नेताहरू सबैजना बसेर, अस्ति सल्लाह पनि भएको छ, सरकारलाई दिएको समर्थनको समीक्षा गर्नुपर्ने बेला पनि छ,’ उनले भने, ‘साथसाथै सत्ता साझेदार दलहरूले पनि एकचोटि समीक्षा गर्ने र पुनरावलोकन गर्ने कुरा चल्न थाल्या छन् ।’ वर्तमान अवस्थामा अरू राजनीतिक दलभन्दा पनि रास्वपामाथि आशा गरिएको उनको भनाइ थियो । रास्वपाले सरकारबाट राम्रो कामका सम्भावना खोज्नुपर्ने उनले बताए ।

मन्त्री श्रेष्ठले उक्त अभिव्यक्ति दिनुका पछाडि बजेट विनियोजनमा मन्त्री र सांसदहरूका असन्तुष्टि रहेको पनि बताए । ‘बजेटका बारेमा सार्वजनिक टिप्पणी राम्रो छैन । बजेटमा अरू मन्त्री र सांसदको चित्त बुझेको छैन । आन्तरिक ऋण त्यति ठूलो उठाउने भन्ने कुरा भएको छ,’ उनले भने । संयुक्त सरकारमा रहेको अवस्थामा दलहरूबीच बजेटलगायत विषयमा र आगामी योजनाबारे छलफलको सार्वजनिक रूपमा आफूले आह्वान गरेको उनले बताए । नेपालको शासकीय बेथितिको विषयमा बोल्ने बेला आएको उनको भनाइ छ । ‘शासकीय बेथिति सामाजिक बेथितिभन्दा पनि डरलाग्दो कुरा हो भन्ने कुरा हाम्रा साथीहरू सबैले अनुभव गरिरहेका छौं,’ उनले भने ।

पार्टी सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भने रास्वपा सरकारमा गएपछि नराम्रो नगरेको बताए । रास्वपासँग नागरिकहरूको ठूलो आशा रहेको बताउँदै उनले सरकारमा सहभागी भएको एक सय दिनमा कुनै नराम्रो काम नगरेको दाबी गरे । देश विकास गर्न र नागरिकको स्तर सुधार्ने कार्यभार रास्वपामाथि रहेको उनको भनाइ थियो । ‘नराम्रो केही पनि नगर्नु नै आफैंमा राम्रो गर्ने अवस्था सिर्जना भएको बेलामा म गर्वका साथमा भन्न सक्छु, तपाईंको मत लिएर गएको रास्वपाले सय दिनमा नराम्रो काम एउटा पनि गरेन,’ उनले भने, ‘विधिको स्थापना गर्ने काम गरेको छ ।’

पार्टी उपसभापति स्वर्णिम वाग्लेले संगठन बनाउनुपर्ने आवश्यकता महसुस भएको बताए । पुराना राजनीतिक दलहरूले जस्तो संगठनभन्दा फरक किसिमले रास्वपा जानुपर्ने उनको भनाइ थियो । उनले आगामी दिनमा रास्वपा अभियानका रूपमा अघि बढ्ने बताए । पार्टी सभापति लामिछानेले भने पुराना राजनीतिक दलहरूसँग रास्वपा नमिलेको तर्क गरे । उनले पार्टी पदाधिकारी चिन्तित भएर अघि बढिरहेको बताए ।

गत फागुन २३ मा प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससँगको सत्ता गठबन्धन तोडेर एमाले र रास्वपालाई सरकारमा भित्र्याएका थिए । रास्वपाबाट उपप्रधान एवं गृहमन्त्री लामिछाने, युवा तथा खेलकुदमन्त्री श्रेष्ठ, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्याल र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ छन् ।

प्रकाशित : असार २, २०८१ ०६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

८ देशका लागि सिफारिस भएका राजदूतको नाम कस्तो लाग्यो ?

x