कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

एमालेको लक्ष्य मिसन ८४ : महासचिव पोखरेल 

माधव अर्याल

पाल्पा — एमाले महासचिव शंकर पोखरेलले अबको लक्ष्य मिसन ८४ भएका बताएका छन् । उनले सोहीअनुसार बहुमतको सरकार बनाएर काम गर्न चाहेको समेत बताए । 

एमालेको लक्ष्य मिसन ८४ : महासचिव पोखरेल 

एमाले पाल्पाको १० औं अधिवेशन उद्घाटन गर्दै उनले मुलुकको विकास र समृद्धिको यात्रा तय गर्ने गरी मिसन ८४ मा जुट्न कार्यकर्तालाई आग्रहसमेत गरे । ‘मिसन ८४ किन आवश्यक छ भन्ने कुरा सबैले बुझ्नुपर्ने हुन्छ,’ उनले भने, ‘विगतमा पार्टी अध्यक्ष केपी ओली प्रधानमन्त्री भएका बखत सुरुआत गरेका कामहरु अहिले निरन्तरता पाएका छैनन् । त्यसलाई पूरा गर्न पनि त्यो अभियानमा सबैको साथ रहनुपर्छ ।’

जनताको निराशालाई आशामा बदल्न एमालेले चाहेको उनले बताए । नेपाली युवालाई विदेशमा गएर होइन देशभित्रै फिर्ता गर्न चाहेको महासचिव पोखरेलले बताए । ‘अब विदेशमा गएर होइन स्वदेशमै केही हुन्छ भन्ने एमालेले देखाउने छ,’ उनले भने, ‘त्यसका लागि मिसन ८४ मा सबै जुट्नुपर्ने बेला आएको छ ।’

महासविच पोखरेलले आफ्नै कारणले आगामी निर्वाचनपछि कांग्रेस प्रतिपक्षमा बस्ने उनको दाबी छ । मिसन ८४ भनेको एमालेले सरकारको नेतृत्व गर्ने बताउँदै उनले आगामी निर्वाचनमा बहुमतसहित एमाले पहिलो पार्टी बन्ने दाबी गरे । ‘८४ मा सरकारको नेतृत्व एमालेले नै गर्नेछ,’ उनले भने, ‘त्यसबेलामा कांग्रेस प्रतिपक्षको भूमिकामा बस्छ । हामीले विगतमा सुरुआत गरेका काम पूरा गर्ने अवसर प्राप्त गर्ने छौं ।’ उनले इलाम र बझाङको उपनिर्वाचनले पनि त्यो संकेत गरिसकेको बताए ।

अधिवेशन उद्घाटन अवसरमा २०४८ सालमा भएको प्रथम जिल्ला अधिवेशनबाट पार्टीको तत्कालीन जिल्ला सचिव झपेन्द्रबहादुर जिसी र २०५० सालमा भएको दोस्रो अधिवेशनबाट सचिवको जिम्मेवारी लिएका दलबहादुर रानालाई सम्मान गरिएको छ । साथै सोही अवसरमा जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरुलाई सहयोग गर्न पुगेको प्रतिनिधिसभा सदस्य नारायणप्रसाद आचार्य, एमाले जिल्ला उपाध्यक्ष देवीलाल लामिछानेसहित १८ जनाको टोलीलाई प्रशंसा पत्रले सम्मान गरिएको छ ।

अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने छ । अध्यक्ष पदमा वर्तमान सचिव रामजी पोखरेल र पूर्वसचिव ओमबहादुर घर्ती आकांक्षी देखिएको छ । सचिवमा विमल काफ्ले र दिपक विश्वकर्मा आकांक्षी छन् । पार्टी नेतृत्व भने सहमतिमा नेतृत्व चयन गर्ने तयारीमा छन् । एमाले जिल्ला अधिवेशवनमा पाल्पाको विकास र समृद्धिमा एमालेको भूमिकाका विषयका साथै आगामी दिनमा गर्नुपर्ने कामको योजनामा बन्दसत्रमा छलफल भएको एमाले अध्यक्ष धनेन्द्रराज घिमिरेले बताए । अधिवेशनका लागि ४ सय ५० प्रतिनिधि सहभागी छन् । अधिवेशनबाट १ सय ५ जनासम्मको जिल्ला कमिटी गठन हुने विधानमा व्यवस्था छ । ३३ प्रतिशत महिला अनिवार्य र १५ प्रतिशत युवा अनिवार्य हुने व्यवस्था छ ।

प्रकाशित : जेष्ठ ११, २०८१ २०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?