२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

सहकारी छानबिनको माग गर्दै कांग्रेसद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध

काठमाडौँ — सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । संसद्को अधिवेशन सुरु भएको दिन नै कांग्रेसले बैठकमा आफ्नो कुरा राखेर बैठकको नियमित कारबाही अघि बढाउन नदिएको हो  ।

सहकारी छानबिनको माग गर्दै कांग्रेसद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध

कांग्रेस महामन्त्री गगन थापालाई सभामुख देवराज घिमिरेले समय दिएपछि बोलेका थिए । त्यसक्रममा उनले संसदीय छानबिन समिति गठन नगर्दासम्म कुनै कारबाही अघि बढ्न नदिने घोषणा गरे । गृहमन्त्री रवि लामिछानेकाबारेमा अनेक प्रमाण रहेकोमा उनले महान्यायाधिवक्ताको कार्यालयलाई दुरुपयोग गरेको थापाले बताए ।

प्रतिनिधि सभाको बैठक सुरु भएपछि सभामुखले अधिवेशन आह्वानको पत्र पढेर सुनाएका थिए । त्यसपछि सभामुखले बैठकमा अधिवेशन सुरु भएकोमा त्यसबारे आफ्नो सन्देश सुनाएका थिए । नवनिर्वाचित सांसदहरूलाई बधाई दिएका थिए । त्यसपछि नियमित कार्यसूचीमा बैठक अघ बढाउन खोज्दा कांग्रेस सांसदहरूले उठेर विरोध गरेका थिए । उनीहरूको विरोधपछि सभामुख देवराज घिमिरेले कांग्रेसका गगन थापालाई सुरूमा ३ मिनेट बोल्न समय छुट्याएका थिए । तीन मिनेटको समय कम भन्दै कांग्रेस सांसदहरूले विरोध गरे । त्यसपछि सभामुखले समय निर्धारण मैले गर्न कि तपाईंहरूले भन्दै जवाफ दिए ।

त्यसपछि बोल्ने समय पाएका कांग्रेसका गगन थापाले सदन चलाउने जिम्मा कांग्रेसले लिन नसक्ने भन्दै छानबिन समिति नबन्दा सम्म कुनै कारबाही अघि नबढ्ने धारणा राखे । थापाले बोलेपछि सभामुखले नियमित कार्यसूचीमा अघि बढ्न खोजेका थिए । त्यसपछि कांग्रेस सांसदहरू नाराबाजी गर्दै वेल घेराउ गर्न पुगेका थिए ।

कांग्रेस सांसदहरुले वेल घेरेपछि सभामुख घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए ।

प्रकाशित : वैशाख २८, २०८१ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?