कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

संसद्‍मा उठ्यो महासचिव पाण्डेयको दोहोरो नागरिकता र दोहोरै राहदानी प्रकरण

काठमाडौँ — संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले उमेर घटाएर दोस्रो नागरिकता लिएको र सोही नागरिकता दुरुपयोग गरी राहदानी लिएको विषय संसद् बैठकमा उठेको छ । सत्तारुढ दलका दुई सांसदले महासचिव पाण्डेयको राहदानी र नागरिकताको विषय संसद् बैठकमा उठाएका हुन् । 

संसद्‍मा उठ्यो महासचिव पाण्डेयको दोहोरो नागरिकता र दोहोरै राहदानी प्रकरण

माओवादी केन्द्रका सांसद माधवप्रसाद सापकोटाले संघीय संसद्का महासचिव पाण्डेयका 'तीनवटा नागरिकता र दुईवटा पासपोर्ट' रहेको विषय संसद्‍मा उठ्नुपर्ने बताए । उनले प्रतिपक्षी दलहरूले सुशासनका कुरा उठाउँदा संसद्कै महासचिवको नागरिकता र पासपोर्टको विषय पनि उठ्नुपर्ने बताए । 'संसद्का महासचिवका तीनवटा नागरिकता र दुईवटा पासपोर्ट पनि तपाईंहरूले उठाएका कुरामा थप्नुहोस् ! संसद्‍मा हाम्रो महासचिवको तीनवटा नागरिकता छ, दुईवटा पासपोर्ट छ तपाईंहरूले त्यो थप्नुहुन्न ?,' उनले भने ।

सापकोटाले यस्तो भनिरहेका बेला संसद्का महासचिव पाण्डेय भने सभामुख देवराज घिमिरेको दाहिनेपट्टिको आफ्नो आशनमै थिए । महासचिवको नागरिकता र राहदानीको विषयमा छानबिन हुनुपर्ने माग पनि सदनमा उठेको छ ।

कांग्रेस सांसद राजेन्द्र बजगाईंले महासचिव पाण्डेयको प्रसंगप्रति लक्षित गर्दै नागरिकता छानबिनको विषय के भइरहेको छ भन्ने प्रश्न गरेका छन् । संसद्कै राज्यव्यवस्था तथा सुशासन समितिमा छानबिनका क्रममा रहेको पाण्डेयको राहदानी र नागरिकताको विषयतर्फ उल्लेख गर्दै सांसद बजगाईंले भने, 'नागरिकतामा त्यो पारी भित्तमा रहने नागरिकताका समस्या भएका केही छन् भने, यो संसद् भवनभित्र कोही हुनुहुन्छ भने सबै कारबाहीको दायराभित्र आउनुपर्ने हुन्छ, तर के भइरहेको छ ?' सांसद बजगाईंले सहकारीलगायतका विषयमा पनि पदमा रहेकै भरमा कसैलाई पनि कानुनी दायराभन्दा बाहिर राख्न नहुने बताए । सत्तापक्ष, प्रतिपक्षमा रहेका जो संलग्न भए पनि अनुसन्धान हुनुपर्ने उनको माग थियो ।

प्रमुख प्रतिपक्ष एमाले र प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतले भने संसदको महासचिव पाण्डेयको नागरिकता र राहदानीको विषयमा केही बोलेका छैनन् । त्यसको साटो कांग्रेसका १, एमालेका ५, रास्वपाका २, जसपाका २, एकीकृत समाजवादीका १ र स्वतन्त्र १ गरी १२ सांसदले महासचिव पाण्डेयलगायत संसद्मा राजनीतिक नियिुक्ति खाएर आउनेहरूलाई १५ वर्ष सेवा गरेमा पेन्सन पाउने गरी संसदीय अभ्यासविपरीत ‘संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाका सर्त र सुविधासम्बन्धी ऐन, २०७५’ मा संशोधन राखेका छन् । यो विषयतर्फ संकेत गर्दै सांसद सापकोटाले १५ वर्षमै पेन्सन दिने गरी मनलाग्दी प्रस्ताव ल्याएको भन्दै आलोचना गरेका थिए । उनले सरकारी सेवा प्रवेशको १०-१५ वर्षमै पेन्सनको व्यवस्था गर्दाको अवस्था के हुन्छ भनेर प्रश्न गरेका हुन् ।

के हो महासचिव पाण्डेयको नागरिकता र राहदानी प्रकरणः

पाण्डेयले २०६६ सालमा आफ्नो उमेर ६ वर्ष घटाएर नागरिकता लिएको सार्वजनिक भएको छ । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले उक्त विषयमा छानबिन गरिरहेको छ । पाण्डेयले ६ वर्ष उमेर घटाएर दोस्रो नागरिकता लिएका थिए भने सोही नागरिकता दुरुपयोग गरेर दुई थरी राहदानी बनाएका थिए ।

पाल्पा जिल्ला प्रशासन कार्यालयका अनुसार पाण्डेयले २०४६ असार २८ मा पहिलो पटक नागरिकता (नम्बर ३५) लिएका थिए र त्यसमा उनको जन्ममिति २०२६ असोज १५ कायम छ ।

नागरिकता हराएको भन्दै पाण्डेयले २०६६ भदौ ८ मा दोस्रो नागरिकता लिएका थिए, यसपटक भने उमेर ६ वर्ष घटाएर २०३२ पुस २६ कायम गरेका थिए । २०६७ मा महान्याायधीवक्ता कार्यालयमा सहन्यायाधिवक्तामा सेवा प्रवेश गर्दा पहिलो नागरिकता देखाएका उनले त्यसको एक वर्षअघि लिएको दोस्रो नागरिकता भने १० वर्षसम्म आफूसँगै राखेका थिए । उनले २०७६ भदौ २३ मा भने भूलवश विवरण फरक परेको भन्दै दोस्रो नागरिकता रद्द गराएका थिए । सुरुमा लिएको नागरिकताको प्रतिलिपिका रूपमा उनले ३९–०१–७६–०५५१५ नम्बरको नागरिकता पाएका थिए ।

त्यसबीचको १० वर्ष उनले दुवै नागरिकता प्रयोग गरेर भिन्नाभिन्नै राहदानी लिएका थिए । २०६६ मा उमेर घटाएर नागरिकता लिएको तीन वर्षपछि उनले सोही नागरिकताका आधारमा राहदानी बनाएका थिए । २०६९ साउन २ (१७ जुलाई २०१२) मा उनले पाल्पा जिल्ला प्रशासन कार्यालयबाट ०६०१८३७० नम्बरको ‘साधारण राहदानी’ लिएको अभिलेख परराष्ट्र मन्त्रालयले संसद्को राज्य व्यवस्था समितिलाई दिएको छ ।

जिल्ला प्रशासन कार्यालय पाल्पाबाट ‘साधारण’ राहदानी लिएको पाँच महिना पूरा नहुँदै उनले २०६९ मंसिर २० (५ डिसेम्बर २०१२) मा राहदानी विभाग काठमाडौंबाट ००५९४४९ नम्बरको ‘विशेष’ राहदानी लिएको पनि भेटिएको छ । तर, यो राहदानीमा भने उनले पुरानै नागरिकताको विवरण बुझाएका छन् । यसरी उनको साधारण राहदानीमा जन्ममिति २०३२ पुस २६ र विशेष राहदानीमा जन्ममिति २०२६ असोज १५ छ ।

६ वर्ष उमेर घटाएको, पुरानो नागरिकता भेटिएपछि पनि दोस्रो नागरिकता १० वर्षसम्म आफूसँग राखेको मात्र होइन, दुवै नागरिकताबाट दुई थरी राहदानी बनाएको विषयमा संसद्को राज्यव्यवस्था समितिले गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयबाट कागजात झिकाएको छ । समितिले छानबिनका लागि कागजात झिकाइरहँदा पाण्डेय सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको सिफारिसमा राष्ट्रपतिबाट संघीय संसद्को महासचिव नियुक्त भएका थिए ।

प्रकाशित : फाल्गुन ११, २०८० १४:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×