२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

चारवटै सुरक्षा संयन्त्रसहितको विशेष सुरक्षा योजना

युवा संघ र प्रसाईं नेतृत्वको प्रदर्शनमा मुठभेड हुन नदिन सेनासहितको ‘अपरेसन कमान्ड’ 
मातृका दाहाल

काठमाडौँ — प्रमुख प्रतिपक्षी एमालेनिकट युवा संघ नेपाल र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ का छुट्टाछुट्टै प्रदर्शनलाई मध्यनजर गरेर सरकारले राजधानीमा विशेष सुरक्षा कार्ययोजना लागू गरेको छ ।

चारवटै सुरक्षा संयन्त्रसहितको विशेष सुरक्षा योजना

प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको जनशक्ति फिल्डमै खटाइएको छ भने सेनासहितको संयुक्त सुरक्षा संयन्त्रलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा अपरेसन कमान्डका रूपमा खडा गरिएको छ ।

खासगरी प्रसाईं नेतृत्वको अभियानले व्यवस्था नै परिवर्तन गर्ने मागसहित आन्दोलन घोषणा गरेपछि सरकारले व्यवस्थाविरोधी पक्षबाट अप्रिय घटना हुन सक्ने जोखिमको आकलन गरेर सुरक्षा संयन्त्रलाई हाई अलर्टमा राखेको हो ।

दुवै पक्षले उपत्यका बाहिरबाट मानिस ओसारेका छन् । एकअर्का लक्षित उत्तेजक अभिव्यक्तिसहित एकै दिन दुई पक्षले राजधानीका विभिन्न स्थानबाट र्‍याली निकाल्ने तयारी गरेका छन् । त्यस क्रममा जम्काभेट र घुसपैठ हुन नदिन पनि सुरक्षा जनशक्तिलाई बाक्लो तैनाथ गराइएको छ ।

भ्रष्टाचार र अनियमितता नियन्त्रण, सामाजिक सद्भाव कायमलगायत माग अघि सारेर युवा संघले तीनकुने र प्रसाईं संयोजक रहेको अभियानले बल्खुमा बिहीबार सभाको आयोजना गरेका छन् । दुवै पक्षले शान्तिपूर्ण रूपमा सभा आयोजना गर्ने बताइरहेका छन् । तर, एमाले नेता महेश बस्नेत र अभियानका संयोजक प्रसाईंले एकअर्का विरुद्ध उत्तेजक र भड्काउ अभिव्यक्ति दिने क्रम नरोकिएपछि उपत्यकामा चारवटै सुरक्षा निकायका संयन्त्रसहितको विशेष सुरक्षा योजना लागू गरिएको छ । गृह मन्त्रालयका सचिवको संयोजकत्वमा मन्त्रालयमा समन्वय संयन्त्र नै खडा गरिएको छ । वस्तुस्थिति आकलन गरेर सुरक्षा जनशक्ति कुन रूपमा परिचालन गर्ने भन्ने विषय उक्त संयन्त्रमार्फत हुने बताइएको छ ।

उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापा र डीआईजी लालमणि आचार्यको संयोजकत्वमा ‘ज्वाइन्ट अपरेसन कमान्ड सेल’ खडा गरिएको छ । दुवै कार्यक्रममा सुरक्षा जनशक्ति परिचालन सेलमार्फत गराइएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासनले पनि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा छुट्टाछुट्टै संयन्त्रमार्फत रणनीति लागू गरेका छन् । करिब १० हजार प्रहरी तैनाथ हुनेछन् । प्रहरी प्रधान कार्यालयले कार्यक्रमकै लागि भनेर विशेष कार्यदल, १ नम्बर गण नक्साल, विपद् व्यवस्थापन गण र प्रहरी प्रधान कार्यालयभित्रको थप जनशक्तिलाई तयारी हालतमा राखेको छ । सशस्त्र प्रहरीले उपत्यकाका तीनवटै गण र सिनामंगलस्थित विपद् व्यवस्थापन गण मातहत सबै जनशक्ति युवा संघ र प्रसाईं नेतृत्वको कार्यक्रममा परिचालन गरेको छ ।

कार्यक्रमका लागि प्रसाईं नेतृत्वको अभियानले केही दिनअघिबाटै विभिन्न जिल्लाबाट सार्वजनिक यातायातमा मानिस काठमाडौं भित्र्याएको र बुधबार रातिसम्म यो क्रम जारी रहेको एक सुरक्षा अधिकारीले बताए । युवा संघले पनि आफ्ना जिल्लास्थित संयन्त्रमार्फत कार्यकर्ताहरूलाई काठमाडौं ल्याएको छ । दुवै पक्षले कार्यक्रमलाई शक्तिप्रदर्शनका रूपमा लिएका छन् र बिहीबारको सभाअघि विभिन्न स्थानबाट र्‍यालीसहित कार्यक्रम स्थल जाने तय गरेका छन् । त्यस क्रममा मुठभेड र जम्काभेट हुन नदिन सुरक्षा सावधानीका सबै उपाय अपनाइएको उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापाले बताए ।

‘दुवै पक्षले एकै दिन उपत्यकामा कार्यक्रम राखेकाले एकअर्काको कार्यक्रममा आउने मानिसको व्यवस्थापन गर्न विशेष सुरक्षा कार्ययोजना नै ल्याउनुपरेको हो,’ उनले भने, ‘शान्तिपूर्ण रूपमा कार्यक्रम होस् भन्ने हाम्रो अपेक्षा छ । कानुनको दायराभित्र रहेर कार्यक्रम भएमा त्यहीअनुसार सुरक्षा प्रबन्ध मिलाएका छौं, कसैले हूलहुज्जत, घुसपैठ र कानुन विपरीतका हर्कत देखाउँछन् भने सुरक्षा निकायले जे गर्दा उपयुक्त हुन्छ, त्यही गर्छ ।’

प्रसाईं नेतृत्वको अभियानले काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न ८ स्थानबाट र्‍याली निकालेर बल्खु पुग्ने कार्यक्रम सार्वजनिक गरेको छ । सानो ठिमी, गोंगबु, स्वयंभु, कलंकी, जावलाखेल, सातदोबाटो, कीर्तिपुर र चाबहिल चोकबाट एकसाथ र्‍याली निकालेर बल्खु पुग्ने कार्यक्रम तय छ । युवा संघलाई पनि विभिन्न स्थानबाट तीनकुने जाने गरी सुरक्षा व्यवस्थापन मिलाइएको प्रहरीले जनाएको छ । एआईजी थापाले एकअर्काका र्‍याली भेट हुन नदिने गरी रुट तय गरिएको र हरेक र्‍यालीमा सुरक्षा चुनौतीअनुसार जनशक्तिको व्यवस्थापन गरिएको बताए । दुवै समूहले माइतीघर–बानेश्वरमा कार्यक्रम राख्ने बताएका थिए । तर, मुठभेडको जोखिम औंल्याएर सरकारले यो क्षेत्रलाई नै निषेधित घोषणा गरेको थियो ।

एकै दिन दुई पक्षका कार्यक्रम आयोजना हुने भएपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अत्यावश्यक कामबेगर बिहीबार सवारीसाधन लिएर बाहिर ननिस्कन सार्वजनिक सूचना नै जारी गरेको छ भने १०० र १०३ नम्बरमा सम्पर्क गर्नसमेत अपिल जारी गरेको छ । गृह मन्त्रालयका एक अधिकारीले व्यवस्था नै उल्ट्याउनेसहितका माग राखेर सडक आन्दोलन घोषणा गरेकाले अलि बढी संवेदनशील भएर सुरक्षा व्यवस्थापन गर्नुपरेको स्पष्टीकरण दिए । ‘कानुनको दायराभित्र रहेर माग राख्न पाइन्छ तर दुई पक्षको इगो अनि व्यवस्थाविरुद्ध नै अभियान चलाउने घोषणाले हामीलाई कार्यक्रम शान्तिपूर्ण बनाउन गम्भीर तुल्याएको हो,’ ती अधिकारीले भने, ‘यो अवस्थामा नियमित शान्ति सुरक्षाका लागि तैनाथ जनशक्ति र रणनीतिबाट मात्रै सहज देखिएन, त्यही भएर चारवटै सुरक्षा निकायको संयुक्त कमान्ड खडा गरेर सुरक्षा व्यवस्थापन मिलाइएको हो ।’

काठमाडौं प्रहरी प्रमुख एसएसपी भूपेन्द्रबहादुर खत्रीले दुवै कार्यक्रम व्यवस्थापन र नागरिकको आवागमन सहन पार्न सुरक्षाकर्मीले समन्वय गर्ने बताए । ‘यातायात आवागमन हुने प्रमुख दुई ठाउँमा कार्यक्रम आयोजना हुन लागेकाले सवारीसाधन अवागमनमा केही असहज हुन सक्छ, त्यही भएर पूर्वसूचना नै जारी गरिएको छ,’ उनले भने, ‘त्यसबाहेक आम नागरिकले आफ्ना नियमित कामका लागि ढुक्क भएर हिँडडुल गर्न पाउनुहुन्छ, सुरक्षा प्रत्याभूति हामी दिन्छौं । त्यहीअनुसार सुरक्षाकर्मीलाई तैनाथ गरिएको छ ।’ काठमाडौं प्रहरीले बिहीबारको कार्यक्रममा नियमितबाहेक करिब १ सय स्थानमा पकेट–पकेटमा सुरक्षा टोलीलाई तैनाथ गराएको जनाएको छ ।

प्रसाईं नेतृत्वको अभियानले संघीय लोकतान्त्रिक गणतन्त्रिक व्यवस्था उल्ट्याउनुपर्ने, धर्म निरपेक्षता खारेजदेखि किसानले बैंक/वित्तीय संस्थाबाट लिएको २० लाख रुपैयाँसम्मका ऋण मिनाहासहितका माग राखेर आन्दोलन घोषणा गरेको छ ।

मंसिर ७ बाट आन्दोलन सुरु गरेर यसलाई निरन्तर रूपमा अघि बढाउने उसको घोषणा छ । युवा संघले महँगी, भ्रष्टाचार नियन्त्रण, सामाजिक सद्भाव कायमलगायतका विषय अघि सारेको छ । तर, केही साताअघि युवा संघका कार्यकर्ताले काठमाडौंमै प्रसार्इंलाई मोसो दल्नुका साथै अभद्र व्यवहार गरेपछि उनी युवा संघप्रति आक्रोशित भएका थिए । त्यसपछि सामाजिक सञ्जालमार्फत बस्नेतसँग जोडिएको एउटा विवादास्पद भिडियो क्लिप बाहिरियो । यी दुई प्रकरणपछि दुवै पक्ष एकअर्काविरुद्ध उत्तेजक बन्दै आएका छन् ।

प्रकाशित : मंसिर ७, २०८० ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?