२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

पत्रकार महासंघको आवरणमा कान्तिपुरमाथि राजनीतिक प्रतिशोधपूर्ण र योजनाबद्ध प्रहार : प्रतिष्ठान शाखा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल पत्रकार महासंघ कान्तिपुर प्रतिष्ठान शाखाले पत्रकार महासंघ केन्द्रको आवरणमा कान्तिपुरमाथि राजनीतिक प्रतिशोधपूर्ण र योजनाबद्ध प्रहार गर्न खोजिएको भन्दै आपत्ति जनाएको छ ।

पत्रकार महासंघको आवरणमा कान्तिपुरमाथि राजनीतिक प्रतिशोधपूर्ण र योजनाबद्ध प्रहार : प्रतिष्ठान शाखा

पत्रकारहरुका सरोकारका विषयमा कान्तिपुर पब्लिकेशन्स् व्यवस्थापनसँग वार्ता गरी गत २८ गते सहमति समेत भैसकेको र उक्त सहमति कार्यान्वयन हुने अवस्थामा रहेको बेला महासंघ केन्द्रले उक्त सहमतिलाई अवमूल्यन गरेको शाखाको ठहर छ । कान्तिपुर प्रतिष्ठान शाखाका अध्यक्ष अनिल गिरीले मंगलबार विज्ञप्ति जारी गर्दै केन्द्रको व्यवहारले महासंघको वर्तमान नेतृत्वसँग प्रतिष्ठानले आबद्धता कायम राख्ने कि नराख्ने प्रश्न उब्जाएको उल्लेख गरेका छन् ।

'प्रतिष्ठान शाखा र व्यवस्थापनबीच भएको सहमतिअनुसार पत्रकारमाथि भएका कारबाही स्थगित भएका छन् र सहमतिअनुसार आर्थिक प्याकेज लिन साथीहरु तयार भइसकेको अवस्थामा प्रतिष्ठान शाखासँग सामन्य छलफलसमेत नगरी केन्द्रले आन्दोलन घोषणा गरेकोमा हाम्रो गम्भीर आपत्ति छ' विज्ञप्तिमा छ,' यसले पत्रकार महासंघ प्रतिष्ठान शाखाको अपमान भएको मात्र छैन, आर्थिक प्याकेज लिएर जान तयार रहेका पत्रकारको अपेक्षा र योजनामाथि पनि तुषारापात भएको छ । यसले पत्रकार महासंघको आवरणमा कान्तिपुरमाथि राजनीतिक प्रतिशोधपूर्ण र योजनाबद्ध प्रहार गर्न खोजिएको हाम्रो बुझाइ छ ।'

प्रतिष्ठान शाखाको भेलाबाट तोकिएको वार्ता समितिले व्यवस्थापनसँग वार्ता गरी सहमति गरेपछि केन्द्रले लेखेको पत्रमा कान्तिपुर व्यवस्थापन र पत्रकारका प्रतिनिधिबीच भएको वार्ता भनेर टिप्पणी गरिएको स्मरण शाखाले गराएको छ।

'नेपाल पत्रकार महासंघको विधानअनुसार गठित आफ्नै शाखाको अस्तित्वलाई पत्रकार महासंघ केन्द्रले नै अवमूल्यन गरेकोमा हामी आश्चर्यचकित र दुःखी छौं साथै प्रतिष्ठानलाई वाइपास गर्ने केन्द्रको व्यवहारले महासंघको वर्तमान नेतृत्वसँग प्रतिष्ठानले आबद्धता कायम राख्ने कि नराख्ने प्रश्न उब्जाएको छ' अध्यक्ष गिरीद्वारा जारी विज्ञप्तिमा छ।

कान्तिपुरमा आवद्ध सबै पत्रकारको अधिकतम हक हितका लागि निरन्तर अघि बढिरहने पत्रकार महासंघ प्रतिष्ठान शाखाको प्रतिबद्धता छ । 'तर शाखा र व्यवस्थापनबीच भएका सहमति भाड्ने योजनामा सामेल नहुन समग्र सरोकारवाला सबैमा पत्रकार महासंघ प्रतिष्ठान शाखा हार्दिक आह्वान गर्दछ' विज्ञप्तिमा छ।

शाखाले असोज १२ गते राखेका मागका आधारमा चरणबद्ध वार्ता गरी असोज २८ मा सहमति भएको थियो । जसको आधारमा यसअघि पत्रकारलाई गरिएको कारबाही स्थगित गरी व्यवस्थापनले आर्थिक प्याकेजसहित स्वेच्छिक अवकाशको आह्वान गरिसकेको छ ।

व्यवस्थापन र प्रतिष्ठानबीच वार्ता भइरहेको विषय नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयलाई प्रतिष्ठान शाखाले पत्रमार्फत नै जानकारी गराइसकेको थियो ।त्यसका साथै पत्रकार महासंघले असोज २१ मा गरेको पत्राचारमा पनि प्रतिष्ठान शाखाले गरिरेहको वार्ताप्रति केन्द्रको ऐक्यबद्धता रहेको प्रष्ट पारेको थियो । महासंघ केन्द्रले आन्दोलन घोषणा गर्दै मंगलबार कान्तिपुर कार्यालय अगाडि एक घण्टा धर्ना दिएको थियो ।


प्रकाशित : आश्विन ३०, २०८० १६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?