२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

सामाजिक सञ्जालको मिथ्या सूचनाले  लोकतान्त्रिक अभ्यासमा आघात : उपप्रधानमन्त्री खड्का

कान्तिपुर संवाददाता

काठमाडौँ — उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले इन्टरनेट प्लेटफर्मको एक प्रमुख माध्यम सामाजिक सञ्जालबाट हुने गलत, भ्रमपूर्ण र झूठो सूचनाको प्रवाह तथा घृणात्मक संवादले लोकतन्त्रको स्वस्थकर अभ्यासमा आघात पुर्‍याउने गरेको बताएका छन् ।

सामाजिक सञ्जालको मिथ्या सूचनाले  लोकतान्त्रिक अभ्यासमा आघात : उपप्रधानमन्त्री खड्का

नेपाल पत्रकार महासंघद्वारा सोमबार काठमाडौंमा आयोजित `नेपालमा इन्टरनेट र मिथ्या सूचना : लोकतन्त्र र प्रेस स्वतन्त्रतामा चुनौती´ विषयक राष्ट्रिय सेमिनारको उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले यस्तो बताएका हुन् ।

'हाम्रो देशमा सूचना–प्रविधिको तीब्र विकास र अवसरसँगै त्यसको ‘साइड इफेक्ट’ को रुपमा केही चुनौती पनि देखिएका छन्, यस्ताखाले सूचना र संवादले लोकतन्त्रको प्राणवायू मानिने प्रेस जगतलाई समेत प्रत्यक्ष असर गरिरहेको हुन्छ,´ उनले भने, `पत्रकारिताका मूल्य, मान्यता र सिद्धान्तभन्दा बाहिर गएर भइरहेका सूचना प्रवाहले उपभोक्तालाई समेत सही सूचना पाउन बन्चित गरेको यथार्थ नकार्न मिल्दैन ।´

नेपाल सरकारले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै इन्टरनेट प्लेटफर्मलाई व्यवस्थित, मर्यादित र जीवन उपयोगी बनाउन निरन्तर प्रयास गरिरहेको उनले बताए ।

उपप्रधानमन्त्री खड्काले संविधानले निर्दिष्ट गरेको नागरिकका अधिकारहरु सही रुपमा सदुपयोग होस् भन्नेमा सरकार सदैव सचेत र सजग रहेको बताए । यसका लागि नेपाल पत्रकार महासंघलगायत सरोकारवाला संस्थासँग समन्वय र परामर्श गरेर आवश्यकता अनुसार नीति र कानुन निर्माण तथा परिमार्जन गर्ने उनको भनाइ थियोे ।

`खुलापन नेपाली समाजको आधारभूत चरित्र नै हो । हाम्रा संवैधानिक र कानुनी प्रबन्धहरु त्यो खुलापनलाई प्रवर्धन गर्नेतर्फ नै लक्षित छन्,´ उनले भने, `आज नेपाल दक्षिण एसियामै एउटा खुला समाज भएको देशको रुपमा स्थापित हुँदै गइरहेको छ । यसलाई अझै अगाडि बढाउनु पर्ने आवश्यकता छ, जसमा प्रेस स्वतन्त्रता र ईन्टरनेटमा सर्वसाधारणको बढ्दो पहुँचले अझै योगदान दिने मैले विश्वास लिएको छु ।´ समाजको यो खुलापनलाई विस्तारै संस्थागत गर्दै यसलाई अनन्तः कालसम्म जोगाइ राख्नुपर्ने उनले बताए

उपप्रधानमन्त्री खड्काले इन्टरनेट प्रशाधनको विकाससँगै विश्वभर ‘नागरिक पत्रकारिता’ को नयाँ अवधारणा जन्मिएको बताउँदै पत्रकार महासंघजस्ता संस्थाहरुले ईन्टरनेट प्लेटर्फबाट सिर्जित पत्रकारिताको नयाँ आयामलाई कसरी पत्रकारिताका मूल्य, मान्यता र सिद्धान्तको अवधारणाभित्र समेट्ने भन्नेतर्फ चिन्तनशील हुनुपर्ने बताए । `अहिले आमनागरिकले ईन्टरनेटमार्फत सञ्चार माध्यममा सक्रिय सहभागिता र योगदान दिन थालेका छन्, यसले नागरिकको सशक्तिकरणको प्रक्रियालाई टेवा पुर्‍याइरहेको हुन्छ,`उनले भने, `सूचनामा हरेक व्यक्तिको पहुँच पुग्नु र आफूले पाएको सूचना लाखौं व्यक्तिलाई सम्प्रेषण गर्न सक्ने गरी क्षमता बढ्दा त्यसले लोकतन्त्रलाई बलियो बनाउँछ । यो पक्षलाई नैतिक, उत्तरदायी र जिम्मेवार बनाउँदै लैजानु पर्ने अहिलेको आवश्यकता हो ।´

प्रकाशित : आश्विन २९, २०८० १४:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?