२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

पार्टी नेतृत्व तत्काल परिवर्तन हुँदैन : एमाले उपाध्यक्ष पौडेल

घनश्याम गौतम

बुटवल — नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेभित्र नेता, नीति, विधि र विचारमा कुनै समस्या नरहेको दाबी गरेका छन् । उनले पार्टी नेतृत्वको विषयलाई जोडेर गलत मनसायले प्रचार गरिएको भन्दै पार्टीको नेतृत्व केपी ओलीभन्दा अरुबाट तत्काल हुन नसक्ने बताएका छन् ।

पार्टी नेतृत्व तत्काल परिवर्तन हुँदैन : एमाले उपाध्यक्ष पौडेल

अहिले विभिन्न कोणबाट नेतृत्वको विषय उठाएर एमालेलाई कमजोर पार्ने प्रयास भइरहेको भन्दै त्यसलाई सिंगो एमालेले पानीको फोकाजस्तै बनाइदिने उनले बताए ।

‘एमाले नेता, नीति, विधि र विचारमा एकताबद्ध छ, कुनै अस्पष्टता छैन,’ उनले भने, ‘अध्यक्ष केपी ओलीकै नेतृत्वमा पार्टीले मिसन-८४ संचालन गरिरहेकाले कोही कसैले कुण्ठित आशा नराखे हुन्छ, नेतृत्वको विषयमा विवाद आज पनि छैन र भोलि पनि हुने छैन ।’ कसैले त्यस्तो कुण्ठित मनसाय राखेर विवाद ल्याउने प्रयास गर्छ भने पनि त्यसलाई आफूहरुले सावधानीपूर्वक अघि बढ्ने उनले स्पष्ट पारे ।

एमाले लुम्बिनी प्रदेशको शनिबार बुटवलमा सुरु भएको सम्मेलन उद्घाटन सत्रमा बोल्दै एमाले जिवन्त पार्टी भएको र जिवन्त पार्टीमा गुट र पार्टीसँगै अघि बढ्न नसक्ने उनले बताए । ‘गुट बनाउनेले पार्टी समाप्त पार्छन्, पार्टी बनाउनले गुट समाप्त पार्छन्,’ उनले भने, ‘अब तपाईंहरु कुन बाटो रोज्नुहुन्छ, त्यो यही अधिवेशनबाट स्पष्ट सन्देश दिनुहोस् ।’ हामी नेताहरु पार्टी निर्माणको कठिन यात्रामा अघि बढिरहेकाले अनेक षड्यन्त्रबाट आउने रंगीन समाचारहरुबाट कोही पनि कार्यकर्ता र शुभचिन्तकहरु तंरगित नहुन उनले आग्रह गरे ।

एमाले पार्टीभित्र बसेर भित्रैबाट गुटउपगुट चलाउने र चर्चा गरेर बस्ने छुट कसैलाई नरहेको पनि उनले बताए । उनले गुटबन्दी कायरता भएको र विष्णु पौडेलको ४५ वर्षे राजनीतिक यात्रामा कहिल्यै पनि गुटका सहारा नलिएको दाबी गरे । ‘गुटबन्दीको सहारा लिने भनेका कायरहरु हुन्,’ उनले भने, ‘पार्टीभित्र भविष्य नदेख्ने र संगठनको काम गर्न नसक्नेहरुले मात्र गुटको सहारा लिन्छन् ।’

उनले आफ्नो क्षमता बिर्सेर पार्टी नेताको सहारा लिएर अघि बढ्न खोज्नेलाई दासको संज्ञा दिए । ‘दासहरुले आफै केही गर्न नसक्ने भएपछि नेताको नाम बिक्रीगर्ने गर्छन्,’ उनले थपे, ‘त्यसैले लुम्बिनी प्रदेशमा कोही पनि दास बन्ने प्रयास नगर्नुस्, सच्चा र कुशल संगठन र कार्यकर्ता बनेर नेतृत्व छनोट गर्नुस् ।’ उनले अधिवेशनमा सहभागी प्रतिनिधि र कार्यकर्तालाई दास नबन्न पनि आग्रह गरे ।

प्रकाशित : भाद्र १६, २०८० १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?