कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

भाषा-संस्कृति जोगाउन रियालिटी शो

एक/एक करोड रुपैयाँ पुरस्कार राशिको ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ रियालिटी शोको ग्लोबल अडिसनमार्फत अमेरिका, क्यानडा, युरोप, अस्ट्रेलिया, थाइल्यान्ड, मलेसिया र भारतसहित नेपालबाट छानिएका २४० प्रतिस्पर्धी हाल काठमाडौं आइपुगेका छन्
पर्वत पोर्तेल

झापा — काठमाडौंमा यतिबेला विश्वभरिका २ सय ४० जना प्रतिस्पर्धी एकैथलोमा भेला भइसकेका छन् । एक/एक करोड रुपैयाँ पुरस्कार राशिको ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ रियालिटी शोको ग्लोबल अडिसन हालै सकिएको छ ।

भाषा-संस्कृति जोगाउन रियालिटी शो

अडिसनबाट छानिएका अमेरिका, क्यानडा, युरोप, अस्ट्रेलिया, थाइल्यान्ड, मलेसिया, भारतसहित नेपालका प्रतिस्पर्धी काठमाडौंमा छन् । उनीहरूको प्रस्तुति केही दिनमा नेपाल टीभीबाट प्रसारण हुँदै छ ।

‘मेरो भ्वाइस युनिभर्स’ मा सुरेश अधिकारी, अन्जु पन्त, शिव परियार, पुष्पण प्रधान र सुजाता बर्मा निर्णायक छन् । ‘मेरो डान्स युनिभर्स’ मा मिथिला शर्मा, दिलीप रायमाझी, प्रियंका कार्की, केकी अधिकारी, शंकर बीसी र नरमान राई निर्णायक रहनेछन् ।

यी दुई महँगा रियालिटी शोका मुख्य योजनाकार हुन्, डिल्ली अधिकारी । रियालिटी शोको मुख्य आयोजक संस्था इन्टरनेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अमेरिका (इन्ट्रा फाउन्डेसन) का हर्ताकर्ता हुन्, उनी ।

उनी अमेरिकामा बस्ने भुटानी–नेपाली (शरणार्थी) का अभिभावक पनि हुन् । सन् २०१९ अमेरिकाबाट आरम्भ भयो, यो रियालिटी शो । इन्स्ट्रा फाउन्डेसन जन्मिनुअघि सन् २०१६ देखि नै अधिकारीलगायतका भुटानी–नेपाली ‘मेरो भ्वाइस कप यूएसए’ र ‘मेरो डान्स कप यूएसए’ रियालिटी शो आयोजना गर्दै आएका थिए । ‘जब सन् २०१९ मा संस्था जन्मियो, त्यसपछि संस्थामार्फत नै कार्यक्रम गरौं भन्ने भयो,’ कान्तिपुरसँगको कुराकानीमा अधिकारीले सुनाए, ‘सामाजिक, परोपकारी काम गर्दा मुनाफारहित संस्थाबाट गर्दा राम्रो हुन्छ भन्ने हामीले ठान्यौं ।’

नेपालमा नेपाली भाषा बोलिनु सामान्य हो । विदेशमा नेपाली भाषा बोलिँदैन । विदेशमा जहाँ पनि नेपाली भाषा बोल्न सम्भव पनि हुन्न । अमेरिकामा पनि धेरै नेपाली बसोबास गर्छन् । नेपाली बस्ने स्थानमा बाहेक अन्यत्र यो भाषा बोल्नु असम्भव नै हुन्छ । त्यही भएर अमेरिकामा बस्ने भुटानी–नेपालीलाई लाग्यो, नेपाली भाषा र संस्कृतिको जगेर्ना कसरी गर्ने ? भाषासँगै भेष, चाडवाड, कला, संस्कृतिलाई कसरी बचाइराख्ने ?

‘नेपाली भाषा, कला र संस्कृतिको जगेर्ना गर्नका लागि हामीले यति ठूलो रियालिटी शो आयोजना गर्ने जमर्को गरेका हौं,’ अधिकारीले थपे, ‘नेपाली भाषा र संस्कृति हाम्रो पहिचान हो । पहिचान जोगाउने अभियानमा हामी जुटेका हौं ।’ अधिकारीका अनुसार अमेरिकाका भुटानी–नेपालीका बालबालिकाले नेपाली भाषाका विभिन्न नृत्य, संगीत, कला संस्कृति सिक्दै आएका छन् । शास्त्रीय संगीतका विभिन्न कक्षामा पनि सहभागी बन्दै आएका छन् ।

निःशुल्क कक्षाको मेलोमेसो इन्ट्रा फाउन्डेसनले नै गर्ने गरेको छ । ‘अमेरिकामा नेपालीले गीत, संगीत र नृत्य कला सिकेको एक रुपैयाँ पनि तिर्नु पर्दैन,’ अधिकारीले गर्वका साथ थपे, ‘हाम्रा नानीले आफ्नो भाषा–भेष, कला–संस्कृति नभुलुन् भनेर हामीले लगानी गरेका हौं ।’ कुनै बेला नेपाली भाषा, संस्कृति, परम्पराको मायाकै कारण भुटानी नेपालीले जन्मभूमि भुटान छाड्नुपरेको थियो । भुटानको जोङ्खा भाषा बोल्देको भए, बक्खु लगाइदिएको भए उनीहरूले भुटानबाट लखेटिनुपर्ने थिएन । तर, उनीहरू बरु देश छाड्न तयार भए । तर,

आफ्नो पहिचान छाड्न तयार भएनन् । ‘त्यही कारण हामी लखेटिनुपर्‍यो,’ अधिकारीले तीन दशकअघिको तीतो घटना सम्झिए, ‘देश छाडेर २०, २५ वर्ष शरणार्थीका रूपमा बितायौं ।’ अधिकारीले नेपाली भाषाका लागि भुटानीले धेरै संघर्ष गरेको सुनाए । त्यो सबै भाषा, संस्कृति र पहिचानका लागि गरिएको उनले भने । ‘हामी अहिले अमेरिकामा सम्पन्न छौं । भरिपूर्ण छौं । नेपाली भाषा र संस्कृति बिर्संदैनौं,’ अधिकारी थप्छन्, ‘जहाँ गए पनि हामी त्यही नेपाली हौं । हामी हाम्रो अस्तित्व कहिल्यै बिर्संदैनौं ।’

फिल्म, कलाले समाज रूपान्तरण गर्न सघाउँछ । टेलिभिजनको पर्दामा देखाइने रियालिटी शोबाट अमेरिकालगायत संसारभरका नेपालीलाई आफ्नो अस्तित्व जोगाउन सघाउने अधिकारीको दाबी छ । युरोप, अमेरिका, खाडी मुलुक, अस्ट्रेलिया, पूर्वी एसियाका थाइल्यान्ड, म्यानमार, फिजी, मलेसिया, भारतसहितका सबै महादेशमा बसोबास गर्ने नेपालीलाई एकताबद्ध गर्ने उद्देश्य संस्थाको छ । शोको माध्यमबाट नेपाली संस्कृति, मौलिकता, जातीय पहिचान र नेपालीपन र पुख्यौली थलो नेपाललाई भुल्नु नदिने, बिर्सिन नदिने योजना हो ।

अस्तित्व सकियो भने सबथोक नै लोप भएर जान्छ भन्ने सन्देश प्रवाह गर्नु रियालिटी शोको उद्देश्य हो । सन् २०२० मा जब कोरानाले संसार आक्रान्त थियो, त्यो बेला दुःखमा परेकालाई सहयोग गरे । अमेरिकामै पनि घरभाडा तिर्न नसक्ने कतिपय नेपालीलाई भाडा तिर्दिए । मृत्यु भएकाको दाहसंस्कार गरिदिए । झापा र मोरङका भुटानी शिविरका शरणार्थीलाई खाद्यान्न वितरण गरे । ‘काठमाडौंमै पनि विपत्तिमा परेका हजार बढीलाई ४५ दिनसम्म निरन्तर खाना वितरण गर्‍यौं,’ अधिकारीले भने, ‘संसारका सबै देशले यो परोपकार सिकून् भनेर हामीले गरेका थियौं । भोकै रोइरहेको देख्दा मन रुन्थ्यो ।’

इन्ट्रा फाउन्डेसनले शिविरका वृद्धवृद्धालाई पौष्टिक खानाहरू वितरण गरिरहेको छ । कोरोनाअघिदेखि नै मासिक ५ हजार भत्ता दिइरहेको छ । गुणस्तरीय शिक्षाको अभाव पूर्ति गर्न शिविरका ७, ८ सय विद्यार्थी पढाउन ३० शिक्षक नियुक्त गरेको छ । उनीहरूलाई अमेरिकाबाटै तलब पठाउँछन् । भुटानको गोङखोलाको भीर गाउँमा जन्मिएका अधिकारीले भुटानमा एक कक्षा पढ्दापढ्दै लखेटिनुपर्‍यो । त्यसपछि झापाको टिमाइ शिविरमा २ कक्षाबाट पढ्न सुरु गरे ।

एसएलसी पनि त्यहींबाट सके । त्यसपछि कालिम्पोङको कुमुदिनी होम्सबाट प्लस टु सके । अनि सिलिगुडी सिटी कलेजबाट लेखा विषयमा स्नातक गरे । मणिपाल युनिभर्सिटीबाट फाइनान्समा एमपीए सकेपछि टिमाइ शिविर फर्किए । शिविरको सेक्रेटरी बने, तीन वर्षर्सम्म सेवा गरे । कुनै आर्थिक लाभबिनै निःस्वार्थ सेवा गरे । समाजका पक्षमा काम गरे । सामाजिक विभेदहरूविरुद्ध लडे । ‘विद्यार्थी जीवनकालदेखि नै सामाजिक थिए । थिचोमिचो, शोषण दमन सहन सक्दैनथे,’ उनले विगतको आफ्नो आनीबानी कोट्याए, ‘पीडित पक्षमा सधैं लागिपरे । मान्छेले मान्छेलाई विभेद गर्ने अधिकार कसैसँग छैन भन्ने लाग्थ्यो ।’

शिविरमा २० वर्ष बिताएपछि सन् २०१० को अन्त्यतिर अमेरिका पुनर्वास भए । त्यहींबाट उनले नयाँ जीवन प्राप्ति गरे । शरणार्थीबाट नयाँ जीवन जन्म भयो । सुरुमा एक्लै थिए । इन्ट्रा–नेसनल होम केयर दर्ता गर्दा । सन् २०१३ बाट संस्था सुरु भयो । एक वर्ष जति बाहिर काम गरे । त्यसपछि यो संस्था अमेरिकाका विभिन्न सहर र राज्यमा फैलाउँदै २५, ३० स्थानमा विस्तार भयो । अहिले १० हजार जनालाई उनले प्रत्यक्ष रोजगारी दिएका छन् । ‘समाजको सहयोग, विश्वास हो,’ अन्त्यमा उनी थप्छन्, ‘समाजप्रतिको दायित्व नै हाम्रो प्रतिफल हो ।’

प्रकाशित : चैत्र २८, २०७९ ११:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको घटनालाई कसरी बुझ्नु भएको छ ?

x
×