२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६३

सय दिन पूरा भएपछि गियर थप्छु : पर्यटनमन्त्री किराती

रुपा गहतराज

नेपालगन्ज — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सरकारले हवाई यातायातको सुरक्षाको सवालमा कुनै पनि सम्झौता नगर्ने बताएका छन् ।

सय दिन पूरा भएपछि गियर थप्छु : पर्यटनमन्त्री किराती

प्रेस सेन्टर नेपाल बाँकेले बुधबार नेपालगन्ज विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री किरातीले हवाई यातायातको सुरक्षा सवाल मानवीय सवालसँग जोडिएकाले सरकार यसप्रति गम्भीर रहेको बताए ।

मन्त्री किरातीले वायु सेवा निगम, नागरिक उड्डयन प्राधिकरण र पर्यटन विकासको क्षेत्रमा सुधार गर्न सम्बन्धित विभाग प्रमुखलाई सय दिनको समय दिएको बताए । ‘हामीसँग हनिमुन मनाउने समय छैन । सय दिनभन्दा बढी पर्खँदैनौं,' मन्त्री किरातीले भने, ‘सय दिनको परिणाम कस्तो आउँछ मैले गियर थप्नु पर्छ ।’

उनले हवाई सुरक्षाका लागि आवश्यक प्राविधिक जाँचदेखि उपकरणको जाँच र फेरबदलसम्मका सम्पूर्ण विषयमा कडाइ गर्न सम्बन्धित सबैलाई निर्देशन दिइसकेको बताए ।

हवाई यातायाको सुरक्षा नै पर्यटनको मेरुदण्ड भएकाले हवाई यातायातको सुरक्षा विस्तारका लागि सरकारले देशका सबै विमानस्थलको विकास र स्तरोन्तीलाई प्राथमिकतामा राखेको मन्त्री किरातीको भनाइ छ। उनले सोही क्रममा नेपालगन्ज विमानस्थलमा तीन अर्ब बढीको लगानीमा अत्याधुनिक टर्मिनल भवन निर्माणको अनुगमन गरेका थिए ।

यस अवसरमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको उपस्थिति थियो ।

प्रकाशित : फाल्गुन १७, २०७९ १८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?