घटेन नवजात शिशु मृत्युदर- समाचार - कान्तिपुर समाचार

घटेन नवजात शिशु मृत्युदर

एक हजार जीवित शिशुको जन्म हुँदा २१ जनाको मृत्यु
अझै पनि गाउँघरमा धामीझाँक्रीकै भर पर्दा सुत्केरी र नवजात शिशुले ज्यान गुमाउँदै
विद्या राई

काठमाडौँ — सुत्केरी व्यथाले च्यापेर घरमै बच्चा जन्माउन नसकेपछि हुम्लाकी सलिना सार्कीलाई जिल्ला अस्पताल पुर्‍याइयो । शल्यक्रियापछि जीवितै जन्मिएको शिशुको बेलुकीपख मृत्यु भयो । शल्यक्रिया गरेको दुई दिनसम्म आमाको स्वास्थ्यमा सुधार आइसकेको थियो, साँझ अचानक समस्या देखियो ।

उनको उद्धार र विशेषज्ञ उपचारका लागि राष्ट्रपति हवाई उद्धारको हेलिकोप्टर बोलाइयो तर राति भसकेकाले तत्काल हेलिकोप्टर पुगेन । शल्यक्रियाको तीन दिनमा सुत्केरीको मृत्यु भयो ।

प्रसूति गृहकी इन्चार्ज वरिष्ठ अनमी सरिता बोहराका अनुसार सलिनाको घरदेखि हिँडेर २५ मिनेटमा जिल्ला अस्पताल पुगिन्छ । त्यहाँ गर्भजाँचकै बेला स्वास्थ्य जटिलता देखेर अन्यत्रै बच्चा जन्माउन सुझाइएको थियो । सलिनालाई रक्तचाप बढ्ने, घट्ने र आँखा धमिलिने हुन्थ्यो ।

‘गर्भको पानी फोक्सोमै गएर आमाको स्वास्थ्य खराब बनाइसकेको थियो, पहिल्यै रेफर लेखिसकेका थियौं, मानेनन्,’ अनमी बोहराले भनिन्, ‘यता देउता हेराउने चलन छ, हामीले सम्झाउँदा बच्चा बिते नि आमा भए पुग्छ, अपरेसन नगर्ने भनिरहे, नर्मल डेलिभरी पर्खिरहे, सुरुमै सल्लाह मानेको भए यस्तो हुन्थेन ।’

हालै प्रकाशित ‘आवधिक नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण’ ले पनि एक वर्षअघिको यो घटनाजस्तै नवजात शिशु मृत्युदर पछिल्लो ६ वर्षमा सुधार हुन नसकेको तथ्य उजागर गरेको छ । सन् २०१६ को सर्भेक्षणले प्रत्येक एक हजार जीवित शिशुको जन्म हुँदा २१ जनाको मृत्यु हुने गरेको देखाएको थियो । हालै प्रकाशित सर्भेमा अझै पनि प्रति एक हजार जीवित शिशुको जन्म हुँदा २१ जनाकै मृत्यु भइरहेको उल्लेख छ । जन्मपश्चात पहिलो २८ दिनभित्र हुने मृत्युलाई नवजात शिशु मृत्यु भनिन्छ ।

दिगो विकासअनुरूप आगामी ८ वर्षभित्र (सन् २०३० सम्म) नेपालले नवजात शिश मृत्युदरलाई प्रतिहजार जीवित जन्ममध्ये १२ जनामा झार्नॅपर्ने हुन्छ । यही लक्ष्य पूरा गर्न सरकारले ‘नेपाल सुरक्षित मातृत्व र नवजात स्वास्थ्य २०३०’ रोडम्याप नै लागू गरेको छ । तर पछिल्लो ६ वर्षमा सुधार नदेखिएको तथ्यले दिगो लक्ष्य प्राप्तिमा चुनौती थपिएको छ । करोडौं सरकारी कोष खर्चेर निःशुल्क हवाई उद्धारको अभियान चलिरहे पनि मातृ मृत्युदर टरेको छैन । ०७५/०७६ देखि गत वैशाखसम्म ३६० आमाको निःशुल्क उद्धार हुँदा यही अवधिमा अरू ७८९ गर्भवती तथा सुत्केरीको मृत्यु भएको सरकारी अभिलेख छ ।

नवजात शिशु मृत्युदरमा सुधार नआए पनि पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर र बालमृत्युदरमा केही सुधार देखिन्छ । ६ वर्षअघिको सर्भेक्षणमा पाँचौं जन्मोत्सव मनाउन नपाउने बालबालिका प्रत्येक एक हजारमध्ये ३९ जना थिए, हालको सर्भेक्षणमा यो दर ३३ जनामा झरेको छ ।

नवजात शिशु मृत्युदर धनी वर्गका परिवारको तुलनामा न्यून आर्थिक अवस्था भएकाहरूमा लगभग दोब्बर र कलिला आमामा यो दर उच्च रहेको युनिसेफको अध्ययनले देखाएको छ । चेतनाको कमी, जन्मँदाको समयमा औसतभन्दा सानो वा ठूलो तौल, सुत्केरी गराइने स्थान, रक्तअल्पताजस्ता कारण नवजात शिशुको मृत्यु हुने गरेको ‘नेपाल स्वास्थ्य क्षेत्र सहयोग कार्यक्रम’को अध्ययनले देखाएको छ ।

नवजात शिशुको मृत्युदर सुदूरपश्चिम र कर्णाली प्रदेश सबैभन्दा उच्च २५ जना (प्रतिएक हजार जीवित जन्ममा) छ भने गण्डकी प्रदेशमा ८ जना छ । स्वास्थ्य संस्थामा सुत्केरी गराएर जन्माइएका प्रति एक हजार जीवित जन्म नवजात शिशुमध्ये ११ जनाको मृत्यु हुने गरेको देखिन्छ भने घरैमा सुत्केरी गराएर जन्माइएका प्रति एक हजारमध्ये २२ नवजात शिशुको मृत्यु हुने गरेको छ । प्राथमिक तहको शिक्षा पाएका आमाहरू भएको अवस्थामा यो दर २२ (प्रति हजार जीवित जन्म) रहेको देखिन्छ । उच्च शिक्षाप्राप्त महिलाबीच यो दर मात्र ३ (प्रति हजार जीवित जन्म) रहेको पाइन्छ ।

अझै पनि गाउँघरमा धामीझाँक्रीकै भर परेर सुत्केरी र नवजात शिशुले ज्यान गुमाइरहेका छन् । गत साउन दोस्रो साता बझाङमा यस्तै भयो । थलारा गाउँपालिका–१ मोतीपुरकी २० वर्षीया सिर्जना सुनारलाई सुत्केरी व्यथा सुरु भएको दुई दिनपछि शरीर बांगिने समस्या भयो । आँखा, अनुहार र हातगोडा बायाँतिर फर्किने र एकोहोरो श्वास चल्ने भएपछि उनलाई धामीकहाँ लगियो । झारफुकले बिसेक नभएपछि देउरा प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याइयो । उपचार सम्भव नभएपछि डडेल्धुरा अस्पताल रेफर गरियो । उपचारमा संलग्न चिकित्सकका अनुसार व्यथाले च्यापेको चार दिनसम्ममा उच्च रक्तचापका कारण हुने इक्लामसिया, फोक्सोमा र्‍याल जमेको र रगतमा अत्यधिक संक्रमण भइसकेको थियो । पाठेघरको मुख पूरै खुले पनि पानीको फोको फुटेको थिएन । बच्चा दुई–तीन दिनअघि पेटमै मरिसकेको थियो । चिकित्सकले भ्याकुम गरेर बच्चा निकाले तर आमाको मृत्यु भयो । यसअघि दुईपटक गर्भ खेर गएपछि अब डाक्टरकहाँ नजानु भनेर धामीले सल्लाह दिएका कारण समयमै अस्पताल नपुर्‍याउँदा आमा र बच्चा दुवैको मृत्यु भयो ।

छाउपडी प्रथा कायमै रहेको सुदूरपश्चिम र कर्णालीका पहाडी जिल्लामा पोसिलो खानपान, न्यायो लुगा र ओछ्यान नपाउँदा सुत्केरी/नवजात शिशुको स्वास्थ्य बिग्रिने गरेको पाइन्छ । जनस्वास्थ्यविद् डा. रिता थापा पछिल्ला वर्ष स्वास्थ्य क्षेत्रको भौतिक पक्ष र जनशक्ति दरमा उल्लेख्य वृद्धि भए पनि सेवा प्रवाहमा चुस्त नहुँदा यस्तो हुने गरेको बताउँछिन् । ‘आमा र नवजात शिशु सुरक्षामा लगानी भइरहेकै छ, कार्यक्रम लागू भएका छन् तर स्वयंसेविका, स्वास्थ्यकर्मीहरूले जसरी दायित्वबोध गरेर जनचेतना बढाउनुपर्ने हो, पर्याप्त छैन,’ उनले भनिन्, हेलिकप्टरले उद्धार गर्ने खर्चले त दूरदराजमा सुविधासम्पन्न डेलिभरी सेवा र जनशक्ति पुर्‍याउनुपर्‍यो नि !’ स्वास्थ्य सेवामा व्यापारीकरण भएको उनले गुनासो गरिन् ।

प्रकाशित : पुस १५, २०७९ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्

मुगुका बाढीपहिरोपीडित पुनःस्थापनाको पर्खाइमा

दसैंताका आएको बाढीपहिरोबाट ४ सय ८ परिवारका ५ हजार २ सय ८२ जना विस्थापित, न थातबासको प्रबन्ध न त खाद्य संकट टार्ने योजना
विद्या राई

मुगु — चाडकै बेला पानी परिरहँदा लुम गाउँकी वाचुकला कामीलाई यसपालिको दसैं झिँजो लागिरहेको थियो । नवमीको बेलुका अचानक मुसलधारे पानी पर्न थाल्यो । भोलिपल्ट दशमीका दिन भेला भएर दसैं मनाउने योजना बनाएर सुतेका वाचुकलाको परिवारलाई बेलुकी १० बजेतिर उठीबास लाग्यो । ‘जमिन फाटेर आयो । सुतेका ठाउँमा पानी छिर्‍यो, हामी अतालिँदै भाग्यौं, हेर्दाहेर्दै घर, बस्ती बगायो । दसैं दशा भैगो,’ उनले सुनाइन् ।

राति पहिरो गएकाले ज्यान जोगाउन भाग्ने हतारमा उनीहरूले घरभित्रका सरसामान झिक्न पाएनन् । मजदुरी गरेर दसैंमा मिठोमसिनो खानलाई जुटाएको अन्नपात सबै बग्यो । जीउमा भएको एकसरो लुगा मात्रै बाँकी रह्यो । घर नै नरहेपछि दसैं चाडजस्तो नै भएन । घर बगेदेखि उनको आठ जनाको परिवार अर्काको घरमा ओत लागेका छन् । ‘खानलाई अन्नपात, बस्न आफ्नो बास छैन,’ उनले भनिन्, ‘आफू त आधा पेट खाएर बस्न सकिन्थ्यो, चार केटाकेटी छन्, उनीलाई खुवाउनै गाह्रो भैगो,’ वाचुकलाले भनिन् ।

छायानाथ रारा–१३ का वडाध्यक्ष वीरबहादुर खड्काका अनुसार मुगु सदरमुकाम गमगढीदेखि पारिपट्टिको यो गाउँमा १ सय ५७ परिवारमध्ये त्यसबेलाको पहिरोमा परेर २२ दलित र २ क्षेत्री परिवारको घर बगेको थियो । ६४ घरधुरीमा बस्नै नमिल्ने गरी क्षति पुग्यो । लुममा जस्तै विपत्ति आइपर्ने अनुमान गर्दै सरकारले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०७९ बनाउँदा यो वर्ष ४ लाख २१ हजार घरधुरीका २० लाख जनसंख्या मनसुनजन्य विपद्बाट प्रभावित हुने आकलन गरेको थियो ।

विपद्मा प्रभावकारी प्रतिकार्य र उद्धार तथा राहतसँग सम्बन्धित स्रोत साधन, यन्त्र उपकरणहरू देशैभरि तयारी अवस्थामा राख्न प्रधानमन्त्री प्राकृतिक प्रकोप उद्धार कोष, राष्ट्रिय विपद् व्यवस्थापन कोष, प्रदेश विपद् व्यवस्थापन कोष, ७७ वटै जिल्लामा जिल्ला विपद् व्यवस्थापन कोषमा ६ अर्ब ८० करोड ३६ लाख २० हजार रुपैयाँ व्यवस्था गरेको थियो ।

सिन्धुपाल्चोक, ललितपुर, भक्तपुर, अछाम, बैतडीलगायत २२ जिल्ला पहिरोको उच्च जोखिममा, मुगु, हुम्ला, कालीकोटलगायत ३२ जिल्ला पहिरोको जोखिममा, झापा, मोरङ, सुनसरी, कैलाली, कञ्चनपुरलगायतका २३ जिल्ला बाढीको उच्च जोखिममा रहेको आधारमा पूर्वतयारी गरिएको थियो । घरबस्ती बगेको, क्षति भएको लुमको विवरण प्रहरी र नगरपालिकाले लिए । तर तत्काल राहतसमेत नपाएको पहिरोपीडित शिवलाल कामीको गुनासो छ । ‘नगरपालिकामा गयौं पाल दिन सकेको छैन, अरूलाई दिइसक्यौं भने । हामी अहिले सुकुम्बासी भएका छौं,’ उनले भने । बाढीपहिरोबाट विस्थापित भएका लुमका बासिन्दा छरछिमेकीका घर, गोठमा आड लागेका छन् । केही परिवार चर्किएकै घरमा फर्केका छन् । धेरैका घर बगेको ठाउँ खण्डहर छ । विस्थापित भएको दुई महिनादेखि उनीहरू पुनःस्थापनाको पर्खाइमा छन् । स्थानीय जनप्रतिनिधि र प्रशासनले आफूहरूलाई नहेरेको दुखेसो विस्थापितहरूको छ । कोही नयाँ मान्छे गाउँ आए भने दुःखको फेहरिस्त सुनाउँछन् । पुनर्निर्माणका लागि कसैको घर नछुटोस् भनेर फोटो, भिडियो खिचेर लैजान अनुरोध गर्छन् ।

रिपोर्टिङका क्रममा वाचुकलासँग बोल्दै गर्दा अरू प्रभावितहरू झुरुप्पै भेला भए । दुवै हातले बैसाखी टेक्दै ३८ वर्षीय धनसिंह कामी दुःख बिसाउन आइपुगे । उनको सानैदेखि घुँडा–खुट्टा दुख्ने गर्दथ्यो । १० वर्षयता बैसाखीबिना हिँड्न नसक्ने भए । परिवारमा आयआर्जन गर्ने जिम्मेवारी उनकी श्रीमतीमाथि छ । गत असोज तेस्रो साताको पहिरोले छिमेकीको घर बगायो, उनको आंशिक रूपमा भत्कायो । घर धराप भएपछि बस्न नमिल्ने अवस्था छ । ‘भत्केको ठाउँबाट माटो फुस्फुस् झर्छ । वरपर बच्चाबच्ची खेलिरहेका हुन्छन्, कतिबेला भत्केर किच्ला भन्ने डर हुन्छ । आफू नसक्ने छु, घरमा लोग्नेमान्छे दरिलो नभएपछि भत्काइदिने मान्छे पनि नपाइने रहेछ,’ उनले भने । घर भत्केदेखि उनको परिवार छिमेकीकहाँ शरण लिँदै आएको छ । ज्याला, मजदुरी गरेर जीविकोपार्जन गर्दैर् आएका यी परिवारको आफ्नै घरबास नभएर बिचल्ली छ । ‘अर्काको घर, गोठमा बसेका छौं । निस्केर जा भने पनि कहाँ जानु यस्तो चिसोमा ! सहेर बस्नुपरेको छ,’ ५० वर्षीया सौमती विकले भनिन् । चिसोले गर्दा गर्भवती, सुत्केरी, नवजात शिशुहरू बिरामी परिरहने जोखिम बढेको स्वास्थ्य स्वयंसेविका आमकला खड्काले बताइन् । लुममा मात्रै ९ जना गर्भवती र चार जना सुत्केरी छन् । बाढीले खेती, अन्नपात बगाएपछि पोषिलो खानेकुरा पर्याप्त खुवाउन नसकिरहेको सौमतीले बताइन् । ‘हामी गरिब जनताले कुटोबाउसो गरीकन सपार्छौं, सप्रिँदैन । यसैगरी आउँछ, बाढीपहिरोले लिन्छ, मान्ठाले मिहिनेत गरेको बगाइलिन्छ । अनि सुत्केडीलाई कसरी मिठो पोषिलो पुग्छ ?,’ उनले भनिन् । धेरैको दैनिकी बिजोग त छँदै छ, थातबास दरिलो नभएर बालबालिकाको पढाइ पनि प्रभावित छ । ‘पहिरोले भाडाबर्तन ओढ्ने, ओछ्याउने, बच्चाका कापीकिताबसमेत लग्यो । के गर्ने अब यी बालबच्चा पढाउने पनि यिनका लुगारोटी गर्न पनि गाह्रो भैसक्यो,’ पहिरोपछि विस्थापित देउसरा विकले भनिन् ।

लुममा मात्रै होइन, गत असोजको वर्षासँगै आएको बाढीपहिरोले मुगु जिल्लाभर घर, सडक, विद्युत्, खानेपानी, पुललगायत भौतिक संरचना, पशुचौपाया र कृषि बालीमा क्षति पुर्‍याएको थियो । छायानाथ रारा नगरपालिका–११ को तल्लो सालिम गाउँमा ८ जनाले ज्यान गुमाए । मुगु जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी खड्कबहादुर रोकायाका अनुसार जिल्लाभर ४ सय ८ परिवारका ५ हजार २ सय ८२ जनसंख्या विस्थापित छन् । २ सय ३६ घर पूर्ण क्षति भए भने ३ सय ९९ घर उच्च जोखिममा छन् । १ सय ८८ घरमा आंशिक क्षति पुगेको छ । मौसम सुधार भएयता घर र वरपर सुक्खा पहिरो गइरहेको क्षति विवरण संकलन गर्न स्थानीय तहमा संघले पत्राचार गरेको छ ।

‘पहाडी, भिरालो भएकाले एक–दुई घर छोप्थ्यो (बगाउँथ्यो) यसपालि हप्ता दिन बढी वर्षात भयो । ठूलो क्षति पुग्यो,’ सहायक प्रजिअ रोकायाले भने, ‘धेरथोर नचर्केका, नभत्केका कुनै घर, संरचना, सरकारी कार्यालय छैनन् । जिल्ला प्रशासन कार्यालयमै पनि पर्खालमा क्षति पुगेको छ, विद्यालय, स्वास्थ्य कार्यालयहरू सबैमा क्षति पुगेको छ ।’ गत असोज २७ मा मुगुको जिल्ला विपद् व्यवस्थापन समितिले गरेको निर्णयअनुसार बाढीपहिरोका कारण छायानाथ रारा नगरपालिकामा १४, खत्याड गाउँपालिकामा ३०, सोरु गाउँपालिकामा १० र मुगुम कार्मारोङ गाउँपालिकाको ३ स्थानमा क्षति पुगेका बस्ती बसोबासका लागि जोखिमपूर्ण छन् । भिरालो भूबनोटमा बाढीपहिरोले तहसनहस पारेको हुँदा जुनसुकै बेला आउने विपद्मा थप जनधनको क्षति हुने जोखिम छ । जमिनहरू धाजा फाटेको, कतिपय ठाउँमा सुक्खा पहिरो गइरहेको हुँदा पुनःस्थापनाका लागि सुरक्षित जमिन खोज्नुपर्ने भएको छ । बाली भित्र्याउने बेला बाढीपहिरो गएकाले यो वर्ष खाद्यान्न अभाव चर्किने अवस्था रहेको रोकायाले बताए ।

छायानाथ रारा नगरपालिकावासी लाभग्राही भएको बालै खोलाको लघुजलविद्युत्मा क्षति पुग्दा बन्द थियो । मर्मत गरेर दुई महिनापछि बल्ल बत्ती बाल्न थालिएको छ । विद्युत् गृह अझै पूर्ण क्षमतामा चल्न थालिसकेको छैन । बाढीपहिरोका बेला जिल्ला विपद् व्यवस्थापन कोषबाट केही पाल, कम्बलहरू बाँडेको भए पनि सडक अवरुद्ध भएकाले सबै प्रभावितसम्म पुग्न नसकेको, निर्वाचन आचारसंहिताले पनि अवरोध थपेको जिल्ला प्रशासनले जनाएको छ । यसपालिको वर्षातले मुगुका विभिन्न स्थानमा उल्लेख्य क्षति भएपछि जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयसँग सहयोग माग गरेको थियो ।

असोज र कात्तिकको राष्ट्रिय विपद् बुलेटिनअनुसार कर्णाली प्रदेशका जुम्ला, हुम्ला, मुगु र कालीकोटका विपद् प्रभावित स्थानीय तहको भौगोलिक क्षेत्रहरू, प्रदेश १ को सुनसरी, उदयपुर र मधेस प्रदेशको सप्तरीका केही वडाहरूलाई सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ बमोजिम सरकारको यो निर्णय २०८० वैशाख मसान्तसम्म लागू हुन्छ । गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख प्रदीपकुमार कोइरालाका अनुसार संकटग्रस्त घोषणा भएपछि प्रभावित क्षेत्रमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्राविधिक टोली अनुगमनमा जान्छ । टोलीले दिने प्राविधिक प्रतिवेदनका आधारमा पुनर्निर्माणको योजना बनाइन्छ । कार्यान्वयनको काम पनि टोलीले अघि बढाउँछ । यी प्रक्रिया पूरा गर्न भने समय लाग्छ । ‘हामीले संकटग्रस्त भनेका ठाउँहरूमा टोली पठाएर हेरेर रिपोर्ट पनि आइसकेको छ । रिपोर्टअनुसार कार्ययोजना बनेर कार्यान्वयनको प्रक्रियामा छ,’ उनले भने । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मापदण्डअनुसार पूर्ण क्षति भएकालाई घर बनाउन ५ लाख, जग्गा नभएकालाई जग्गा किन्न ३ लाख र आंशिक क्षति भएकालाई मर्मत गर्न ५० हजारका दरले प्रतिपरिवार आर्थिक सहयोग पाउँछन् । मुगु पनि प्राधिकरणका प्राविधिक टोलीले अध्ययन गरिसकेका छन् । तर, सुक्खा पहिरो प्रभावित र अघिल्लो लगत संकलनमा छुटेकाहरूको यकिन गर्न बाँकी नै भएकाले आगामी बिहीबार स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालाहरूका लागि पुनः छलफल गर्ने कार्यक्रम तोकिएको छ ।

मुगुका अधिकांश परिवारमा आफ्नै खेतीबारीको उब्जनीले मुस्किलले तीनदेखि ६ महिना मात्रै खान पुग्छ । गत असोजको बाढीपहिरोले खेतीबाली, अन्नपात र बस्ने बासै बगाएपछि भोकमरीको जोखिम बढेको छ । गरिबीको स्तर बढ्दा विद्यार्थीहरूको नियमित पठनपाठनमा समस्या भएको छ । स्थानीयको न्यून आय हुने भएका कारण अधिकांशको जीवनस्तर कमजोर छ । जनगणना–२०६८ अनुसार मुगुका घरहरूमध्ये ९७.३० प्रतिशत ढुंगामाटोले बनेका छन् । जुन एकदमै कमजोर हुने हुँदा विपद्को उच्च जोखिम हुन्छ । मुगुको जिल्ला पार्श्वचित्रमा उल्लेख भएअनुसार जिल्लामा क्षेत्रफल ३ लाख १० हजार ३ सय १० हेक्टर छ । जसमध्ये १९ हजार ३ सय ४० हेक्टर कृषियोग्य जमिनमध्ये १८ हजार ४ सय २१ हेक्टरमा खेती हुँदै आएको छ । गहुँ, जौ, मकै, कोदो, कागुनो, चिनु, आलु, सिमी यहाँका मुख्य कृषि बाली हुन् । तर बर्सेनि आउने बाढीपहिरोले कटान–डुबानमा पार्दा खेतीयोग्य जमिनको आकार पनि खुम्चिँदै गएको छ ।

सरकारको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनामा उल्लेख भएअनुसार नेपालमा हुने वार्षिक वर्षामा करिब ८० प्रतिशत मनसुनी रूपमा जेठदेखि असोजसम्म चार महिनाको अवधिभर हुने गर्छ । यसरी छोटो अवधिमा निरन्तर र ठूलो मात्रामा वर्षा हुँदा त्यसले विपद्का रूपमा लिने गर्छ । मनसुनजन्य प्रकोपबाट सिर्जित विपद्का घटनाहरूका कारण मुलुकमा बर्सेनि ठूलो मात्रामा धनजनको क्षति हुने गरेको छ । सरकारी अभिलेखअनुसार २०६८ देखि ०७८ सालसम्म मनसुनजन्य विपद्बाट ७८ हजार ८ सय ११ परिवार प्रभावित भएका छन् । १६ हजार ३९ घर पूर्ण र ४५ हजार ३ सय ९३ घर आंशिक क्षति भएको तथ्यांक छ । उक्त अवधिमा १ हजार ४९ वस्तुगोठ र २ हजार ४ सय ६ पशु चौपायामा क्षति पुगेको छ ।

यो वर्ष जेठ २२ देखि असोज ३० सम्म मनसुन अवधि १ सय ३४ दिन रह्यो । तर, पूर्वानुमान गरिएको भन्दा केही कमजोर रहेको भए पनि मनसुन बाहिरिने बेला कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेश बढी प्रभावित भएका थिए । पोहोरभन्दा यो वर्ष मनसुनजन्य विपद् (बाढी, पहिरो र भारी वर्षा) र मानवीय क्षति कम भए पनि सबैभन्दा बढी मानवीय क्षति पहिरोका कारण भएको थियो । मुगुमा भएको क्षति हालसम्मकै ठूलो रहेकाले दीर्घकालीन पुनःस्थापनामा जोड दिइने मुगुका सहायक प्रजिअ रोकायाले बताए ।

प्रकाशित : पुस ४, २०७९ ११:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×