बुस्टर डोजका लागि छैन खोप- समाचार - कान्तिपुर समाचार

बुस्टर डोजका लागि छैन खोप

विज्ञ भन्छन्– ‘अहिलेकै अवस्थामा १५ लाखभन्दा बढी मात्रा खोप मगाउन आवश्यक’
अतुल मिश्र

काठमाडौँ — कोभिडको बुस्टर डोज लगाउन एक महिला राजधानीका केही अस्पताल चहारेपछि अन्त्यमा वीर अस्पताल पुगिन् । त्यहाँ पनि बुस्टर डोज सकिएकाले उनले पाइनन् । अस्पतालले दुई–तीन सातामा पुनः सम्पर्क गर्न भन्दै उनलाई फर्काइदियो । 

‘हिजोअस्ति नै सरकारले नयाँ भेरिएन्ट आएकाले सबैलाई बुस्टर खोप लगाउन आग्रह गरेको थियो,’ उनले भनिन्, ‘त्यहीअनुसार अस्पतालका खोप केन्द्र पुगे पनि पाइएन । सरकारले खोप व्यवस्था गरेर मात्र लगाउन आउनु भन्ने सन्देश दिनुपर्ने हैन र ?’

छिमेकी मुलुकमा कोभिडको जोखिम बढेसँगै नेपालमा पनि सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ । अनिवार्य मास्क लगाउनुका साथै सबै स्वास्थ्य मापदण्ड लागू गर्न स्वास्थ्य मन्त्रालयले सार्वजनिक सूचना नै जारी गरेको छ । तर, छिमेकी मुलुकमा देखिएको ओमिक्रोनको नयाँ सब–भेरिएन्ट ‘बीएफ.७’ को त्रास बढे पनि बुस्टर डोज लगाउन स्वास्थ्य केन्द्र पुग्ने यत्तिकै फर्किनुपरेको छ ।

‘बुधबार सय जनाभन्दा बढीलाई खोप नभएकै कारण फिर्ता पठाउनुपर्‍यो,’ वीर अस्पतालका कोभिड खोप संयोजक महादेव पन्तले भने, ‘अहिले बुस्टर लगाउन मिल्ने खोप नेपालमै छैन ।’ जनवरीको दोस्रो सातासम्म आउन सक्ने उनको भनाइ छ । वीरमा बुधबार ६५ जनालाई भेरोसेल खोप लगाइएको थियो । यसमध्ये केहीलाई पहिलो, केहीलाई दोस्रो र केहीलाई बुस्टर लगाइएको हो । पन्तका अनुसार हाल फाइजर, कोभिसिल्ड, जोनसेन खोप लगाएकाहरूका लागि बुस्टर खोप उपलब्ध छैन । ‘पूर्ण मात्रामा भेरोसेल लिएकालाई मात्र बुस्टरका रूपमा भेरोसेल वा अन्य खोप लगाउन मिल्छ तर अन्य खोप लिएकाले बुस्टरमा भेरोसेल लगाउन मिल्दैन,’ उनले भने ।

कोभिडको सम्भावित नयाँ लहरबाट त्रसित हुनेहरू र विदेश जान लागेकाहरूले बुस्टर लगाउन आए हाल खोप नपाउने स्थिति छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा समेत पछिल्लो १२ दिनदेखि भेरोसेलबाहेक अन्य खोप नरहेको चिफ कन्सल्टेन्ट फिजिसियन डा. विमल चालिसेले बताए ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार हाल वयस्कका लागि चिनियाँ खोप भेरोसेलबाहेक अन्य खोप नेपालमा छैन । ५ देखि ११ वर्षसम्मका बालबालिकाका लागि बुस्टर डोजका रूपमा उपयोग गर्न सकिने करिब ५ लाख मात्रा फाइजर खोप भने स्टकमा छ । यस्तै, चीनको सिनोभ्याक खोप करिब ४० लाख मात्रा भए पनि हालसम्म यो खोप बुस्टरका लागि विश्व स्वास्थ्य संगठनबाट प्रस्तावित गरिएको छैन ।

१२ वर्षमाथिका लागि उपयुक्त मानिएको र नयाँ भेरिएन्टमा पनि काम लाग्ने बाइभेलेन्ट खोप १५ लाख मात्रा कोभ्याक्समार्फत ल्याउने प्रक्रिया धेरै अघि सुरु गरे पनि अनुमतिका लागि औषधि व्यवस्था विभागको निर्णय पर्खिरहेको स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले बताए ।

उक्त खोप नयाँ भेरिएन्ट ‘बीए.५’ मा समेत प्रभावकारी देखिएको छ । ‘वयस्कलाई दिइने खोप प्रदेश, जिल्लातिर गइसकेकाले हाल उपलब्ध छैन,’ उनले भने, ‘हामीसँग चीनमा उत्पादित सिनोभ्याक खोप भए पनि डब्लूएचओले बुस्टर खोपका लागि प्रयोग गर्ने अनुमति दिइसकेको छैन ।’ अहिलेको अवस्थामा १५ लाखभन्दा बढी मात्रा खोप मगाउनु जरुरी रहेको उनले बताए ।

धुलिखेल अस्पतालको जिनोमिक ल्याब प्रमुख डा. राजीव श्रेष्ठ भने प्राथमिक खोप जुनसुकै लगाए पनि उच्च प्रभावकारी देखिएका जुनसुकै खोप बुस्टरका रूपमा लगाउन सकिने बताउँछन् । ‘यसअघि पूर्ण मात्रा जुनसुकै खोप लिए पनि बुस्टरका रूपमा फाइजर, मोडर्ना, एस्ट्राजेनेका आदि लिन सकिन्छ,’ उनले भने । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार बुधबार एन्टिजेन र पीसीआर गरी ३ सय ८४ नमुना परीक्षण गर्दा कुनैमा संक्रमण देखिएन । मन्त्रालयले बुधबारको तथ्यांक सार्वजनिक गरेको छैन ।

मंगलबार १ हजार ४ सय ३२ नमुना परीक्षण गर्दा ८ जनामा संक्रमण देखिएको थियो । हाल सक्रिय संक्रमित १६ जना छन् । हालसम्म कुल जनसंख्याको ७६.५ प्रतिशत अर्थात् २ करोड २३ लाख २४ हजार ९ सय ३३ जनाले पूर्ण र ७९.५ प्रतिशत अर्थात् २ करोड ३२ लाख ८ हजार ४ सय ८३ जनाले एक मात्रा खोप लिएका छन् । बुस्टर डोज लगाउनेको संख्या ७९ लाख ७२ हजार ७ सय ९१ छ ।

प्रकाशित : पुस १४, २०७९ ०६:५०
प्रतिक्रिया
पठाउनुहोस्

९ महिनादेखि साढे २९ सय सवारी भन्सारमै

बैंकले ऋण सुविधा नदिएको र सोरुमका पनि बिक्री नभएकाले भन्सारबाट नयाँ गाडी जाँचपास गराउन नसकेको व्यवसायीको भनाइ
बैंकले फाइनान्स सुविधा दिनसाथ समस्या समाधान हुन्छ, सरकारलाई राजस्व पनि राम्रै उठ्छ : ध्रुव थापा, अध्यक्ष, नाडा
विमल खतिवडा

काठमाडौँ — बैंकहरूले ऋण प्रवाह गर्न छाडेका कारण ९ महिनायता साढे २९ सय सवारीसधान विभिन्न भन्सार नाकामा अड्किएर बसेका छन् । व्यवसायीले सोरुममा भएका सवारी बिक्री भएपछि मात्र भन्सारमा रोकिएका सवारी छुटाउने गरेका छन् । जसले गर्दा भन्सारमा धेरै संख्यामा सवारी रोकिएका हुन् ।

नेपालमा धेरै सवारी भित्रिने भन्सार नाकामा वीरगन्ज र भैरहवा पर्छन् । जसअनुसार भैरहवा नाकामा मात्रै पिकअप गाडी, जिप, स्कुल बस, कार र भ्यानसहित १ हजार ७७ थान साधन थन्किएका भैरहवा भन्सार कार्यालय प्रमुख मनिराम पौडेलले बताए । ‘नयाँ सवारीसाधन भन्सारमा भित्रिरहन्छन् । अहिले पनि धेरै गाडी आएर बसेका छन्, जसमध्ये पिकअप गाडी धेरै संख्यामा छन्,’ उनले भने, ‘गाडी ल्याउने व्यवसायीसँग बुझ्दा बैंकले ऋण सुविधा नदिएकाले भन्सारमै थन्क्याएर राख्नुपरेको बताउने गरेका छन् ।’

यता, वीरगन्ज भन्सार कार्यालय प्रमुख नवराज ढुंगानाका अनुसार गाडीका च्यासिससहित १८ सय सवारीसाधनको भन्सार जाँचपास हुन बाँकी छ । जसमध्ये सयौं सवारी गत आर्थिक वर्षमै भन्सार ल्याइएका छन् । भन्सार कार्यालयको परिसर भरिएर व्यवस्थापन नै गर्न सकस पर्न गालेपछि भन्सार विभागले सम्बन्धित व्यवसायी र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाललाई समेत पत्राचार गरेको छ । ‘भन्सार परिसरमा नयाँ–नयाँ गाडी देखिन्छन् तर जाँचपासका लागि कसैले कागजात पेस गर्दैनन्,’ भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले भने, ‘किन जाँचपास नगरेको भन्दा न व्यवसायीले चासो दिएका छन् न नाडाले नै केही भनेको छ ।’

जाँचपासमा सहजीकरण र व्यवस्थापनका लागि छलफलमा बोलाए पनि नाडाले समय नदिएको उनले दाबी गरे । ‘तपाईंहरूको समस्या के हुन्, हामीले के सहजीकरण गर्न सक्छौं आउनुस् भन्दै पुस पहिलो साता चिठी पठाएका थियौं,’ उनले भने, ‘भन्सारमा ल्याएर लामो समयसम्म सवारीसाधन राखिदिँदा कार्यालयका अन्य कामसमेत प्रभावित हुने अवस्था छ ।’

भैरहवा र वीरगन्जबाहेक चीनबाट ल्याइएका सिन्धुपाल्चोकको तातोपानी भन्सारमा २० वटा र रसुवा भन्सारमा ७० वटा सवारी जाँचपास हुन बाँकी छन् । ती सवारी कार्यालय परिसरमा पार्किङ गरेर राखिएको पनि महिनौं भइसकेको रसुवा भन्सार प्रमुख नारायणप्रसाद भण्डारीले बताए । ‘म प्रमुख भएर आएको ३ महिना भयो । त्यसयता एउटा पनि नयाँ गाडी आएको छैन । यसअघि नै आएका ७० वटा गाडी अझै यहींको पार्किङमा छन्,’ उनले भने, ‘जसमा पिकअप भ्यान, विद्युतीय सवारीलगायत छन् ।’

नाडा अध्यक्ष ध्रुव थापा व्यावसायिक प्रयोजन (कमर्सियल) का लागि ल्याइएका सवारीसाधन मात्रै भन्सारमा रोकिएको बताउँछन् । पिकअप, बढी सिट क्षमताका जिप, बस, बसका च्यासिस, ट्रकलगायतको जाँचपास हुन नसकेको उनले स्विकारे । ‘बैंक तथा वित्तीय संस्थाबाट फाइनान्सिङ भएन । पहिला अर्डर भएका गाडीहरू आइरहे पनि छुटाउन पैसा नहुँदा भन्सारमै रोकिएका हुन्,’ उनले भने, ‘छुटाउन गाडीको मूल्यभन्दा दोब्बर रकम भन्सारमा बुझाउनुपर्छ, त्यसका लागि व्यवसायीसँग पैसा भएन ।’

सुरुमा कम्पनीमा गाडी अर्डर गरिन्छ । त्यसपछि प्रतीत पत्र (एलसी) खोलिन्छ र उता कम्पनीले गाडी पठाउँछ । त्यसपछि भन्सारमा आएका गाडी जाँचपास गर्ने र सोरुममा भएका पनि बिक्री गर्ने गरिन्छ । ‘यसरी चक्रअनुसार गाडीको आयात र बिक्री गरिन्छ,’ उनले भने, ‘तर पहिला अर्डर गरेका, एलसी खोलेका सबै गाडी भन्सारमा थन्किएका छन् । सोरुममा भएका गाडी बिक्री भइसकेका छैनन्, जसले गर्दा भन्सारमा गाडीको संख्या धेरै भएको हो ।’

व्यवसायीले भन्सारमा गाडी पार्किङ गरेको शुल्क बुझाउनुपर्छ । पार्किङ शुल्कबापत दैनिक ५ रुपैयाँसम्म तिर्नुपर्ने उनले जनाए । बैंकले फाइनान्स सुविधा दिनासाथ यो समस्या समाधान हुने उनको दाबी छ । ‘समस्या समाधान हुनासाथ भन्सार जाँचपास गरेर गाडी धमाधम सोरुममा ल्याइनेछ,’ उनले भने, ‘सरकारलाई राजस्व पनि राम्रै उठ्नेछ ।’ उनका अनुसार नेपालमा खपत हुनेमध्ये सामान्यतया वीरगन्जबाट ६० प्रतिशत, भैरहवाबाट ३० प्रतिशत र अन्य नाकाबाट १० प्रतिशत गाडी भित्रिने गरेका छन् ।

प्रकाशित : पुस १३, २०७९ २२:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
थप केही समाचारबाट
×