२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७५

प्रधानमन्त्री दाहाल सरकारी निवास बालुवाटार सरे 

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारी निवास बालुवाटारमा सरेका छन् । प्रधानमन्त्रीमा शपथ लिएको तेस्रो दिन दाहाल ज्योतिषले निकालेको साइतअनुसार पूजापाठसमेत गरेर बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गरेका हुन् । बुधबार साँझ प्रधानमन्त्री दाहाल सरकारी निवासमा गृहप्रवेश गरेको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहाल सरकारी निवास बालुवाटार सरे 

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार बिहानमात्रै बालुवाटार छोडेका थिए । डेढ वर्षअघि माओवादी केन्द्रकै समर्थनमा प्रधानमन्त्री बनेका देउवा अहिले फेरि प्रधानमन्त्री बन्नेमा आशावादी थिए । यही बीचमा उनको बुढानिलकण्ठस्थित निजी निवास मर्मत सम्भारको काम प्रारम्भ भएको थियो । तर, अचानक बालुवाटार छोड्नुपर्ने भएपछि धुम्बाराहीमा घर खोजेर डेरा सरेका हुन् ।

आइतबार प्रधानमन्त्रीमा नियुक्त दाहालले सोमबार अपराह्न राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनियताको शपथग्रहण गरेका थिए । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका दाहाल देशको ४४ औं प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । उनको यो तेस्रो कार्यकाल हो । कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन टुटाउँदै एमालेसहित ७ दलीय समीकरण बनाएर दाहाल आइतबार प्रधानमन्त्री बनेका हुन् । प्रतिनिधिसभाका २७५ मध्ये एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपाका १२, जनमतका ६, नागरिक उन्मुक्तिका ४ र स्वतन्त्र ३ गरी १६९ सांसदको समर्थनमा दाहाल प्रधानमन्त्री बनेका हुन् ।

दाहाल यसअघि २०६५ र २०७३ मा ९–९ महिना प्रधानमन्त्री बनेका थिए । यसपालि भने अढाई वर्ष प्रधानमन्त्री हुने र त्यसपछि एमालेलाई छाड्ने सहमति छ ।

प्रकाशित : पुस १३, २०७९ १८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?